नेपाली बालकलाई कसले ओसार्दै छन् भारतीय गुम्बामा ?

१६ बालकसहित उनीहरुलाई लैजाने ७ जना पक्राउ, स्थानीय तहका जनप्रतिनिधि पनि संलग्न
२०७२ को भूकम्पलगत्तै प्रहरीले विभिन्न स्थानबाट भारतका गुम्बामा पढ्न लैजाने भन्दै काठमाडौंमा जम्मा पारिएका बालबालिकालाई उद्धार गरेको थियो 

काठमाडौँ — महानगरीय प्रहरी वृत्त थानकोटले मंगलबार बिहान ना१ख ७५६६ नम्बरको सार्वजनिक बसमा सवार १३ वर्षमुनिका १६ जना बालक र उनीहरूलाई लिएर हिँडेका अन्य ७ जनालाई नियन्त्रणमा लियो । ललितपुरको वाग्मती गाउँपालिका–२ का वडा सदस्यसमेत रहेका पेमा सिङताङले प्रस्टीकरण दिए– बालकहरूलाई आफूले कर्नाटकको तिब्बतीयन कोलनी मुडगोगस्थित ड्रिपुक लोसलिङ मोनेस्ट्रीमा पढ्नका लागि लैजान लागेको । 

नेपाली बालकलाई कसले ओसार्दै छन् भारतीय गुम्बामा ?

कर्नाटकका बौद्ध गुम्बामा पढाउन भन्दै नेपालका पहाडी जिल्लाका विपन्न परिवारका बालकहरूलाई लैजान लागिएको यो पहिलो शंकास्पद घटना भने थिएन । प्रहरीले वडा सदस्य पेमा र बालकहरूसहित अन्य ६ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पेमाले नेपाल बौद्ध ञिङ्मा पल्युल संघको सिफारिसपत्र देखाए पनि ती बालबालिका लैजानका लागि आवश्यक पर्ने स्थानीय बाल अधिकार परिषद् वा राष्ट्रिय बाल अधिकार परिषद्को सिफारिस देखाउन सकेनन् ।

प्रहरीले नियन्त्रणमा लिएका बालकहरूमध्ये ७ जना १० वर्षका छन् भने २ जना ९ र अन्य १२ र १३ वर्ष उमेरका छन् । प्रहरीका अनुसार ती बालकहरू ललितपुरको गोदावरी र वाग्मती, सिन्धुलीको कमलामाई र रसुवा जिल्लाका हुन् । ती बालकहरूलाई कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत छिराएर गुम्बामा पुर्‍याउने तयारी पेमाले गरेका थिए । प्रहरीले बालकहरूलाई लैजानका निम्ति अभिभावकको सहमति लिइएको हो कि होइन, प्रलोभनमा पारिएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

यो घटनालाई प्रहरीले शंकाको घेरामा राख्नुको कारण थियो– कात्तिक २९ मा पक्राउ परेका सन्तवीर लामासँग जोडिएको घटना । लामाले कर्नाटककै स्यार गडेन मोनेस्ट्रीमा पढाउने भन्दै १० देखि १४ वर्ष उमेर समूहका ५ जनाभन्दा बढी बालकलाई जम्मा पारेर आरुबारीस्थित झुगो कदम्पा गुम्बा भनिने ज्योबो कदम्पा गुम्बामा राखेका थिए । गुम्बामा राखिएका बालकहरूको बयानपछि प्रहरीले लामालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

वडा सदस्य पेमा सिङताङ र सन्तवीर लामा दुवै पक्राउका घटनामा जोडिएको एउटा समानता भनेको उस्तै उमेर समूह र उस्तै विपन्न परिवारका बालकहरू हुनु मात्रै होइन । दुवैले बालकहरूलाई लैजान लागिएको गन्तव्य पनि कर्नाटक नै हुनु हो । स्थानीय प्रशासनको जानकारीबेगर काठमाडौंका सीमा जोडिएका पहाडी जिल्लाका दुर्गम क्षेत्रबाट बालकहरूलाई भारतका विभिन्न गुम्बामा पढाइदिने लोभमा लैजाने कामलाई प्रहरीले शंकास्पद मानव बेचबिखन ठान्दै अनुसन्धान अगाडि बढाइरहेको छ । त्यसो त भारतका हिमाञ्चल र कर्नाटकलगायतका गुम्बामा नेपालबाट बालकहरू ओसार्ने काम यसअघिका दिनमा पनि विभिन्न स्वरूपमा भइरहेको देखिन्छ ।

मंसिर ४ मा झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले काठमाडौं र सिन्धुलीका ३/३ र सर्लाहीका २ गरी ८ बालकलाई सीमापार जान रोकेको थियो । लामाको भेषमा रहेका ९ देखि १५ वर्ष उमेर समूहका उनीहरूलाई भारतको सिलिगुडीस्थित गुम्बामा पढाउने भन्दै पारि लैजान लागिएको र उनीहरू जोखिममा रहेको देखिएपछि प्रहरीले घर फर्काइदिएको थियो । त्यसो त गत भदौ २९ मा प्रहरीले मुस्ताङको थासाङ गाउँपालिका–५ कुन्जीसहितका १४ दलित बालकलाई भारत लैजान लागेका बेला प्रहरीले रोकेर घर फर्काइदिएको थियो । यी सबै घटनाको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले बालकहरू सीमापारि लैजाने घटनामा उस्तैखाले प्रवृत्ति देखिएको बताए । उनले भने, ‘बालकहरू विपन्न परिवारका देखिन्छन् भने उनीहरूका अभिभावकले आफ्ना सन्तान कहाँ, कसरी पढ्ने हुन्, उनीहरूको शिक्षा कसरी अगाडि बढ्ने हो भन्नेजस्ता पर्याप्त जानकारी देखिँदैन ।’ नाकामा रोकिएका बालकहरू जोखिममा पर्न सक्ने पर्याप्त सम्भावना देखिएकाले सम्बन्धित जिल्ला प्रहरीले घटनाबारे थप अनुसन्धान हुने गरी फिर्ता पठाएको उनले बताए ।

भारतका विभिन्न गुम्बामा बालबालिका पठाउने काममा स्थानीय तहका जनप्रतिनिधिहरू जोडिनु पनि गम्भीर विषय देखिन्छ । थानकोटबाट नियन्त्रणमा लिइएका बालकहरू लैजाने काममा वडा सदस्य नै सक्रिय देखिनु र मुस्ताङको थासाङ गाउँपालिकाबाट भारत लैजान लागिएका बालकहरूलाई त्यहाँको वडा नम्बर ५ का वडाध्यक्षले नै सिफारिसपत्र बनाइदिएको देखिन्छ । यसका अलावा बालबालिकालाई नियमविपरीत ओसारपसार गर्ने काममा काठमाडौंका गुम्बाहरू पनि प्रत्यक्ष/परोक्ष मुछिएका छन् ।

थानकोटबाट पक्राउ परेका वाग्मती–२ का वडा सदस्य पेमाले प्रहरीसँग आफू बौद्धको एक गुम्बामा बस्दै आएको बताएका छन् । यस्तै प्रकृतिको फरक घटनामा पक्राउ परेका सन्तवीर लामा आरुबारीस्थित झुगो कदम्पा गुम्बा भनिने ज्योबो कदम्पा गुम्बाको उच्च गुरु भएको बयान सोही गुम्बामा तिब्बतीयन भाषा पढाउने थुप्तेन मोलम तामाङले प्रहरीलाई दिएका छन् ।

भारतका गुम्बामा कति नेपाली विद्यार्थी छन् भन्ने कुनै सरकारी तथ्यांक छैन । जबकि यसअघिका वर्षहरूमा पनि भारतका गुम्बामा पढाउन भन्दै लगिएका बालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको वा शंकास्पद ठानेर रोकेका कैयन् घटनाहरू बाहिर आएका छन् । जस्तो कि, २०७६ जेठ पहिलो साता दिल्ली प्रहरीले त्यहाँको निजामुद्दिन रेल्वे स्टेसनबाट कर्नाटक लैजाँदै गरिएका १८ बालकलाई रोकेको थियो । उनीहरू जोखिममा पर्न सक्ने भन्दै प्रहरीले दिल्लीस्थित नेपाली दूतावास र भारतमा मानव बेचबिखनमा परेकाको उद्धारमा सक्रिय संस्था आफन्त नेपाललाई जानकारी गराएको थियो । ती बालकबारेमा आफन्त नेपालले त्यतिबेलै राष्ट्रिय मानव अधिकार आयोगलाई पनि जानकारी गराएको थियो ।

त्यतिबेला उद्धार गरिएका १६ मध्ये १३ जना सिन्धुली र ४ जना काभ्रेका थिए । अन्य घटनामा जस्तै त्यतिबेला रोकिएका बालकहरू पनि १५ वर्ष मुनिका थिए । बालक लैजान लागेको भनिएका कर्नाटकको ड्रिपुङ गोम्याङ मोन्यास्ट्री कलेजले पत्राचार गरेपछि ती बालकहरूलाई दिल्ली प्रहरीले अगाडि बढ्न दिएको थियो । अनौठो त यो छ कि, त्यतिबेला दिल्लीमा शंकास्पद रूपमा रोकिएका बालक र पछिल्लोपटक सन्तवीरले लैजान खोजेका धेरैजसो बालकहरू सिन्धुलीको एउटै गाउँपालिकाका देखिन्छन् ।

भारतका गुम्बामा धेरै वर्ष अघिदेखि नेपाली बालकहरूलाई लैजान थालिएको र त्यसबारे सरकारी अधिकारीहरू बेखबर रहेको कुरा सन्तवीरकै बयानले पनि पुष्टि गर्छ । उनले मात्रै कर्नाटकको गुम्बामा पढ्ने गरी तीन वर्षयता ७०/८० जनालाई पुर्‍याइसकेको बताउँदै आफूले लगेका १६ जनाको नाम नै प्रहरी बयानमा बताएका छन् ।

२०७२ को भूकम्पलगत्तै प्रहरीले विभिन्न स्थानबाट भारतका गुम्बामा पढ्न लैजाने भन्दै काठमाडौंमा जम्मा पारिएका बालबालिकाहरूलाई उद्धार गरेको थियो । त्यतिबेला दोलखाको तत्कालीन लापिलाङ गाविसबाट भारतको देहरादून लैजाने भन्दै ल्याइएका १९ बालबालिकालाई महानगरीय प्रहरी वृत्त बानेश्वरले उद्धार गरी बालबालिका ल्याउने काममा खटिएका ३ नेपाली र २ भारतीयलाई पक्राउ गरेको थियो । सिक्किमको गुम्बामा पढ्न लैजाने भन्दै ल्याइएका नुवाकोटका ४ बालकलाई पनि प्रहरीले त्यतिबेलै उद्धार गरेको थियो ।

सन्तवीर बालकहरू खोज्न गाउँ पस्ने गरेको, विपन्न परिवारलाई प्रलोभनमा पार्ने गरेको भन्दै प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडि बढाएको छ । कर्नाटक लैजान भन्दै भेला पारेकामध्ये सिन्धुलीका एक बालकले प्रहरी बयानमा आफू गाउँकै स्कुलमा ७ कक्षाको पढाइ छाडेर बसिरहेका बेला सन्तवीरले गाउँमा आएर बाबुआमासँग कुराकानी गरी आफू र दाजुलाई कर्नाटकको गुम्बामा पढे ठूलो मानिस बनिने र मास्टर बनिने भनेर आश्वासन दिएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘तिम्रो अरू साथीभाइ पनि छन् भने खोज भनेको थियो ।’ प्रहरीले बयान लिएका अधिकांश बालकहरूले सन्तवीरले आश्वासन दिएको तथ्य बताएका छन् । प्रहरी ब्युरो स्रोतका अनुसार सन्तवीरले गुम्बामा निःशुल्क खान, बस्न र पढ्न पाइने बताए पनि बालकहरूका अभिभावकहरूसँग बाटो खर्च भन्दै जनही १०/१० हजार रुपैयाँ उठाएको देखिन्छ ।

प्रहरी बयानमा सन्तवीर आफूले पनि कर्नाटककै स्यार गडेन मोनेस्ट्रीबाट लामा विद्यामा घेसी अर्थात् पीएचडी गरेको बताउँदै आफू लामा शिक्षक रहेको बताएका छन् । पूर्वी नवलपरासीको देवचुली–१७ झैरे खोलाका उनले बयानमा गुम्बामा पढ्न जान खोजेकाहरूलाई आफूले सहयोग मात्रै गरेको र आरोप लगाएजस्तो प्रलोभनमा पार्न नखोजेको भनेका छन् ।

लामाले स्यार गडेन मोनेस्ट्री गुम्बाका लामागुरु लोप्साङ ग्यालछेन केही दिनका लागि आरुबारीस्थित ज्योबो कदम्पा गुम्बामा आएको समेत बताएका छन् । लामा सिन्धुलीको एक वडा कार्यालयमा आफूले लैजान लागेका बालकको जन्मदर्ता र सिफारिस बनाउनसमेत सक्रिय भएका थिए । त्यसक्रममा वडाध्यक्षले पढाउने भनिएको गुम्बाको समेत पत्र चाहिने बताएपछि लामाले तुरुन्तै झोलाबाट उक्त गुम्बाको लेटरप्याड निकालेर पत्र लेखी स्टाम्प लगाएका थिए । उनको गतिविधि शंकास्पद देखिएको भन्दै वडाध्यक्षले मानव बेचबिखन अनुसन्धान ब्युरोमा सूचना दिएपछि प्रहरीले पछ्याएर सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटले उनलाई पक्राउ गरेको थियो ।

ज्योबो कदम्पा गुम्बाका प्रशासक हजारसिंह लामाले गुम्बाले कर्नाटकको मुडगोल लामा क्याम्प नम्बर १ मा रहेको स्यार गडेन मोनेस्ट्री र आफूहरूको गुम्बाबीच पुरानै सम्बन्ध रहेको बताएका छन् । उनले सन् १९९७ तिरै आफूले पनि कर्नाटककै गुम्बामा पढेको बताउँदै नेपालका विद्यार्थीलाई उच्च शिक्षाका लागि त्यहाँ लाने गरिएको बताएका छन् ।

गुम्बा विकास समितिका अध्यक्ष खेम्बो गेसे थुप्तेन जिग्डोलले देशभरि २ हजार ८ सय ६६ गुम्बा दर्ता रहेको र तीमध्ये एक हजारजतिमा विद्यार्थी पढ्ने गरेको बताए । भारतका गुम्बामा कति नेपाली पढ्छन् भन्ने थाहा नभएको बताउँदै बालकहरू ओसारपसारका पछिल्ला घटनाबारे आफूहरूले थाहा नपाएको उनले प्रतिक्रिया दिए । आफ्ना बच्चाहरू कहाँ, कसरी पढ्ने हुन् र गुम्बामा पढ्न पठाउने प्रक्रिया के हो भन्नेबारे अभिभावक आफैं चनाखो हुनुपर्ने उनले बताए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोकी एसएसपी दुर्गा सिंहले स्थानीय बाल अधिकार परिषद् र राष्ट्रिय बाल अधिकार परिषद्को स्वीकृतिबेगर बालबालिका ओसारपसार गर्नु शंकास्पद हुने बताइन् । जुनसुकै कारण देखाए पनि प्रलोभनमा पारेर वा आश्वासन दिएर सरकारको स्वीकृतिबेगर बालबालिका ओसारपसार गरिनु गम्भीर विषय भएको उनको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालबालिकासम्बन्धी ऐन २०७५ मा अभिभावक भएका बालबालिकालाई कानूनविपरीत बालगृह वा संस्थामा आश्रयमा राख्न नमिल्ने विषयमा प्रस्ट पारेको बताए । ‘भारतका गुम्बामा बालबालिका लैजाने विषयमा अन्तरमन्त्रालय बैठक गरेर नीतिगत पहल लिने तयारी भइरहेको छ,’ उनले भने ।

कार्यकारी निर्देशक धरेलले भारत लैजाने बालबालिकाहरू बेचबिखन, जबर्जस्ती श्रममा पर्ने जोखिम वा अभिभावकसँग नियमित सम्पर्कमा रहन पाउने अधिकारबाट वञ्चित हुनेजस्ता सम्भावना हुने बताउँछन् । उनले भनेजस्तै भारतको देहरादूनस्थित शाक्य गुम्बाले सञ्चालन गरेको बोर्डिङमा पढ्ने ५१ नेपाली विद्यार्थी दुर्व्यवहार र कुटपिटमा परेको घटना २०७७ कात्तिक दोस्रो साता सार्वजनिक भएको थियो । एसएसपी दुर्गा सिंहले भनिन्, ‘अभिभावक र स्थानीय तह सक्रिय नभएसम्म यस्तो शंकास्पद ओसारपसार रोकिँदैन । शंकास्पद ओसारपसार देखे जोसुकैले प्रहरीको निःशुल्क नम्बर ११७७ मा फोन गरेर जानकारी दिन सक्छन् ।’

प्रकाशित : मंसिर १६, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?