कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कान्तिमा अप्रेसन : दुई वर्षसम्म पालो कुर्दै बालबालिका

 चालीस वर्षअघिकै दरबन्दी, फितलो प्रशासन र अपर्याप्त पूर्वाधार, मन्त्रीपिच्छे निर्देशक फेरबदल
चार सर्जनमध्ये दुई र अन्य ७६ चिकित्सकको दरबन्दीमध्ये १३ खाली । नर्स, कम्प्युटर अधिकृत, टेलिफोन अप्रेटर, ल्याब टेक्निसियन, हाउसकिपिङ सुपरभाइजर र कार्यालय सहयोगीको दरबन्दी खाली ।
प्रशान्त माली

काठमाडौँ — सिन्धुपाल्चोक बाह्रबिसेका खोकेन्द्रबहादुर बस्नेत दम्पती महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा छोराको मलद्वार खुलाउन गरिने अप्रेसनका लागि कुरेको दुई वर्षभन्दा बढी भइसक्यो । २०७६ जेठमा जन्मजात मलद्वार बन्द रहेको थाहा पाएपछि उनीहरु उपचारका लागि कान्ति पुगेका थिए । त्यहाँ पेटमा प्वाल पारेर दिसाबाहिर निस्किने बनाएर छाडेयता बच्चाको अवस्था त्यस्तै छ ।

कान्तिमा अप्रेसन : दुई वर्षसम्म पालो कुर्दै बालबालिका

बेलाबेला पेटमा दिसा जमेर बच्चाले सास्ती भोग्ने गरेको बस्नेतले बताए । अस्पतालले सुरुमा बच्चाको अप्रेसन ६ महिनाभित्र गर्ने गरी मिति दिएको थियो तर सार्दासार्दै गत बुधबार तोकियो । त्यसपछि फेरि आइतबार बोलाइयो । त्यो दिन पनि भएन । बल्लबल्ल आएको अप्रेसनको पालो सर्ने भएपछि उनी चिन्तित छन् । ‘अस्पताल धाउँदाधाउँदै हैरान भइसकेको छु, छोरा तीन वर्ष टेकेको छ, अप्रेसन गर्न सबै दृष्टिकोणबाट ठीक छ,’ उनले भने । अप्रेसन नहुँदा अहिले दिनमा तीन/चार पटक दिसा सफा गर्नुपर्ने उनले सुनाए ।

***

कैलालीका कमल चौधरीका छोरालाई पनि त्यस्तै समस्या छ । चौधरीले छोराको अप्रेसनका लागि कुरेको दुई वर्ष बित्यो । उनको पनि २०७६ असोजमा पेटमा प्वाल पारेर दिसा बाहिर निस्कने बनाएर छोडेयता अप्रेसन भएको थिएन । बच्चालाई पेट पोल्ने समस्या भएर रून थाल्यो । डाक्टरहरुसँग हारगुहार गरेपछि बल्ल आइतबार अप्रेसन गरेको चौधरीले बताए । भन्छन्, ‘जन्मजात बन्द मलद्वार खुलाउन तीन पटक अप्रेसन गर्नुपर्छ । बल्ल दुई पटक भयो । अब तेस्रो पटक गर्न अझै कति सास्ती भोग्नुपर्ने हो थाहा छैन ।’ कैलालीबाट काठमाडौं आउन दुई दिन लाग्छ । सानो बच्चालाई गाडीमा लिएर आउन पनि गाह्रो छ । हवाईजहाजबाट आउन र यहाँ खानबस्न गर्दा उपचार खर्च निकै महँगो भएको उनको भनाइ छ ।

***

सर्लाहीका विक्रम महतोको समस्या पनि उस्तै छ । अप्रेसन गर्न डाक्टरले चासो नदिएपछि आइतबार उनी गुनासो गर्न पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई लिएर अस्पताल पुगेका थिए । यादवले कान्तिका निर्देशक डा.अजित रायमाझीलाई लक्षित गरेर भने, ‘गाउँबाट उपचारका लागि गाई/भैंसी बेचेर आएका हुन्छन् । पटक–पटक त्यसै फर्कनुपर्दा उपचारका लागि जोहो गरेको पैसा गाडी भाडा र खाना बस्नमै सकिन्छ । यसले उपचार खर्च जुटाउन मुस्किल पर्ने गरेको छ ।’ उनले तत्काल अप्रेसन गर्ने वातावरण बनाउन आग्रह गरे । अस्पतालका निर्देशक डा. रायमाझीले तत्काल अप्रेसन गर्ने वातावरण बनाउन डाक्टरलाई आश्वासन दिए ।

***

कान्ति बाल अस्पतालमा अप्रेसनका लागि वर्षौं कुर्न बाध्यहरूको सूची लामो छ । अस्पतालका चिकित्सकका अनुसार मलद्वार खुलाउन गरिने अप्रेसन ३ देखि ६ महिनाभित्र गर्न मिल्छ । तर, बिरामीको चापका कारण वर्षौंसम्म पनि नहुने समस्या छ । अस्पतालको रेकर्डअनुसार गत आइतबार सर्जिकल ओपिडीमा जाँच गराउन ९० जना पुगेका थिए । तीमध्ये ४० जनाको अप्रेसन गर्नुपर्ने देखिएको कान्तिका सर्जन विजय थापाले बताए । सर्जरी ओपीडीमा दिनहुँ ५० देखि १ सयको हाराहारीमा बिरामी जचाउन पुग्छन् । यो संख्या बढ्दो छ ।

अस्पतालमा दिनमा सातदेखि दस जनाको अप्रेसन हुने गरेको छ । बिरामीको चापका तुलनामा त्यो संख्या निकै कम हो । अस्पतालका अनुसार करिब तीन सय बिरामी हर्निया, क्यान्सरलगायत रोगको अप्रेसनका लागि पालो पर्खेर बसेका छन् । सामान्यतया बालबालिकाको मलद्वारको अप्रेसन तीन पटक गर्नुपर्छ । निजीमा त्यस्तो अप्रेसन गर्ने हो भने एक पटककै डेढदेखि दुई लाख रुपैयाँ लाग्ने चिकित्सकको भनाइ छ । कान्तिमा भने एक पटक गर्न १० हजार रुपैयाँ भए पुग्छ तर अप्रेसन पर्याप्त नहुँदा धेरैजसो बिरामी महिनौं कुर्न बाध्य छन् । पालो नपर्खनेहरूले निजी अस्पतालमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ ।

मुलुककै सबैभन्दा ठूलो बाल अस्पतालमा अप्रेसनका लागि महिनौं कुर्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो त ? यसमा विशेषगरी जनशक्ति अभाव, अपर्याप्त पूर्वाधार र कमजोर व्यवस्थापन जिम्मेवार देखिन्छ । अस्पतालमा हाल कायम दरबन्दी ४० वर्षअघिकै हो । २०३८ को दरबन्दीअनुसार चार जना सर्जनमध्ये वर्षौंदेखि दुई पद रिक्त छ । बिरामीको अत्यधिक चाप बढेपछि २०६४ मा दुई जना चिकित्सक थपिए पनि सर्जन थपिएका छैनन् । अस्पतालले कम्तीमा १० जना सर्जन आवश्यक रहेको बताएको छ । अन्य ७६ चिकित्सकको दरबन्दीमध्ये १३ जना खाली छन् । पब्लिक हेल्थ नर्स, स्टाफ नर्स, कम्प्युटर अधिकृत, कम्प्युटर र टेलिफोन अप्रेटर, ल्याब टेक्निसियन, हाउसकिपिङ सुपरभाइजर र कार्यालय सहयोगीलगायत पदको दरबन्दी रहे पनि सबैजसो खाली छन् ।

पूर्वाधारको समस्या पनि उस्तै छ । एउटा अप्रेसन गर्न कम्तीमा डेढ घण्टा लाग्छ । त्यसमाथि जापान सरकारले २५ वर्षअघि उपलब्ध गराएको अप्रेसन थिएटरका उपकरण मर्मत गरेर जेनतेन चलाउँदै आइरहेको सर्जन थापाले बताए । ‘अहिले चालु हालतमा दुईवटा मात्र अप्रेसन थिएटर छन्,’ उनले भने, ‘बिरामीको चापअनुसार कम्तीमा ५ जना एकै पटक अप्रेसन गर्न मिल्ने आधुनिक थिएटर आवश्यक छ ।’ उनले अहिले अप्रेसन रुमको बाटोमा बेड राखेर जेनतेन तीन जनाको अप्रेसन गर्दै आइरहेको बताए । ‘तीन जनाको अप्रेसन गर्न मिल्ने थिएटर सञ्चालनमा ल्याउन १० करोड रुपैयाँ भए पुग्छ,’ उनले भने ।

दरबन्दीअनुसार पदपूर्ति नभएपछि अस्पताल विकास समितिले आवश्यक जनशक्ति ज्यालादारी र करारमा नियुक्त गर्दै आएको छ । २०६४ मा कान्ति बाल अस्पताल विकास समितिबाट ५/५ जना डाक्टर र मेडिकल अधिकृत, स्टाफ नर्स १४ जना, अनमी, ड्युटी अफिसरलगायत गरेर ३२ जना नियुक्त गरिएको थियो । अस्पतालमा हाल ज्यालादारी र करारमा १० जना चिकित्सक, ५९ स्टार्फ नर्स, ७ जना ल्याब टेक्निसियन, फार्मेसी अधिकृत, फार्मेसी सहायक, बायोमेडिकल गरेर ९९ जना कार्यरत छन् । यसबाहेक चिकित्सक र स्टार्फ नर्सलगायत अझै ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी अपुग रहेको अस्पतालकै चिकित्सकले बताए ।

कर्मचारी अपुग र खाली दरबन्दीबारे अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकाय जानकार छन् तर पदपूर्ति गर्नतर्फ कसैले पहल गरेको देखिँदैन । अस्पतालका एक अधिकारीले भने, ‘जनशक्ति र उपकरण खरिदप्रति बेवास्ताले कतै निजी अस्पताललाई पोस्ने नियत त छैन भन्ने शंका गर्ने ठाउँ पनि छ । अस्पताल विस्तार गर्न पर्याप्त जग्गा छ तर कोभिडले गर्दा झन् बहाना बनाउन सजिलो भएको छ ।’ ती अधिकारीका अनुसार कान्तिको दिगो समस्या समाधान गर्न सरकारको बेग्लै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड रिसर्च सेन्टर स्थापना गर्ने योजना अघि सारेको थियो तर वर्षौं बितिसक्दा पनि त्यो योजना अघि बढेको छैन । ‘प्रत्येक प्रदेशमा २५ बेड एचडीयू र १५ बेड भेन्टिलेटरसहितको २ सय ५० शय्या र जिल्लामा ५ बेड आईसीयूसहित २५ शय्याको बाल अस्पताल स्थापना गर्ने पनि योजना थियो,’ उनले भने, ‘तर कसैले ध्यान दिएनन् । सायद निजी अस्पतालको व्यापार घट्ला भन्ने बढी चिन्ता भएर होला ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. रायमाझी भने आवश्यक जनशक्ति पदपूर्तिका लागि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाइसकेको दाबी गर्छन् । तत्काल ४१ जना स्वास्थ्यकर्मी थप्नुपर्ने देखिएको उनले जानकारी दिए । ‘म निर्देशक भएर आइसकेपछि अस्पतालको अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गर्दा ४१ जना स्वास्थ्यकर्मी थप गर्नुपर्ने देखिएको छ । पदपूर्तिका लागि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाइसकेका छौं ।’ धेरै प्रयासपछि चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एक जना सर्जन डाक्टर कान्तिका लागि प्रत्येक वर्ष पठाउने निर्णय भएको समेत उनले सुनाए । त्यस्तै कान्तिलाई रिसर्च सेन्टर बनाउने योजना कार्यान्वयनका लागि पहल थालेको पनि उनले सुनाए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले दरबन्दी थप गर्ने फाइल मन्त्रालयबाट टिप्पणी उठाएर निर्णय गराउन मन्त्रिपरिषद्मा पठाइसकेको बताए ।

अस्पतालको सेवा कमजोर हुनुमा चिकित्सक पनि उत्तिकै दोषी देखिन्छन् । अस्पतालले चिकित्सकहरूको ड्युटी बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकेको छ । डा. गणेशकुमार श्रेष्ठ प्रत्येक साता सोमबार र बुधबार दिउँसो २ देखि ४ बजे र डा. पुननारायण श्रेष्ठ शुक्रबार, बुधबार र सोमबार बिहान ९ बजेसम्म बाल तथा महिला अस्पताल इसानमा भेटिन्छन् । त्यस्तै डा. नजला खातुन बुधबार र शनिबारबाहेक अन्य दिन दिउँसो २ बजे अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल महाराजगन्जमा भेटिन्छिन् ।

कान्तिका सहायक निर्देशक डा. विजय थापा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालमा बिरामी जाँच गर्न साढे ९ बजे पुग्ने गरेका छन् । ‘कोभिडले गर्दा हाजिरमा गडबड भएको हो,’ थापाले भने । उनले कतिपय दिनमा पारिवारिक कामले गर्दा ढिलाइ भएको बताए । ‘कुनै दिन आफन्त बितेको बेला पनि पर्‍यो,’ उनले भने । अस्पताल प्रशासनले ड्युटीमा आउँदा र जाँदा अनिवार्य हाजिर गर्नुपर्ने व्यवस्था गरेको छ तर अधिकांश चिकित्सक समयमा आउँदैनन् । अस्पतालबाट बाहिरिँदा प्रशासनलाई कुनै जानकारी हुँदैन ।

सेवा प्रभावकारी नहुनुमा छोटो अन्तरालमा निर्देशक फेरिनु पनि हो । नयाँ स्वास्थ्यमन्त्री आएपिच्छे निर्देशक फेरिने गरेका छन् । २०७४ को चुनावपछि नयाँ सरकार बनेयता मात्र अस्पतालको निर्देशक चार पटक फेरिइसकेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आउनासाथ डा. आरपी बिच्छालाई हटाएर डा. कृष्णप्रसाद पौडेललाई निर्देशक बनाए । त्यसपछि मन्त्री बनेका हृदयेश त्रिपाठीले पुनः डा. बिच्छालाई निर्देशकको कुर्सीमा बसाले । उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बन्नासाथ डा. रायमाझीलाई निर्देशक बनाइएको थियो ।

प्रकाशित : मंसिर १६, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?