३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चन्द नेतृत्वको नेकपा विभाजित

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भई नेकपा (क्रान्तिकारी) घोषणा गरिएको छ । 

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।

चन्द नेतृत्वको नेकपा विभाजित

उनले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप लगाए ।

उनले विप्लव नेतृत्वको नेकपा पूर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमतसंग्रह नामको चुनावमार्फत वैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेर पूर्णत: असफल भइसकेको छ ।’

उनले फेरि क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरी क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे ।

उनले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेइमानी र जालसाजीको संज्ञा दिए । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमतसंग्रहबाट आउन नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने उनको धारणा थियो ।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?