राप्रपाको एकता महाधिवेशन सुरु [तस्बिरहरू]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाको एकता महाधिवेशन सुरु [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो ।

राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ ।

महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।

महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहने राप्रपाले जनाएको छ। संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन् । ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् । यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ ।

निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरु हुनेछ । मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् ।

त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नेछन् । ‘पहिलो दिन विधान संशोधन गरेर बिहीबारदेखि निर्वाचनको प्रक्रिया सुरु हुन्छ,’ महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने ।

प्रकाशित : मंसिर १५, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

सुविधा थप्दा पनि पाइँदैनन् विषयगत शिक्षक

 दरबन्दीमा रहेका जनशक्तिसमेत शिक्षण पेसा छोडी निजामती सेवामा
घनश्याम खड्का

म्याग्दी — जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सधैं अभाव हुने गरेको छ । खाना, बस्न र तलबमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले शिक्षक पाएका छैनन् । कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयका रूपमा समावेश गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार जिल्लामा आधारभूत तह (कक्षा ६–८) मा १ सय ७५ जना र माध्यमिक तहमा १ सय १५ जना विज्ञान शिक्षकको दरबन्दी भए पनि अहिले २२/२२ जना मात्र कार्यरत छन् । बाँकी दरबन्दीमा विद्यालयले राहत तथा निजी स्रोतबाट करारमा शिक्षक नियुक्त गरेर पढाइरहेका छन् ।

विज्ञान, गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म आएका शिक्षक पनि सहरी इलाकामै तानातान हुने भएकाले दुर्गममा पुग्नै पाउँदैनन् । ‘हामीले विज्ञान शिक्षकका लागि ३ पटक सूचना निकाल्यौं तर शिक्षाशास्त्र संकायअन्तर्गत विज्ञान विषय लिएका उम्मेदवार नै पाइएनन्,’ रघुगंगा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद शर्माले भने, ‘सदरमुकाममै अभाव छ । दुर्गमका विद्यालयमा सधैं विज्ञान शिक्षकको पिरलो भइरहन्छ ।’

पेसाप्रतिको घट्दो आकर्षणले धेरैजसो जनशक्ति शिक्षण पेसाभन्दा निजामती सेवातर्फ आकर्षित भएका छन् । शिक्षा सेवा आयोगबाट नियुक्ति लिई आएका अधिकांश विज्ञान शिक्षक केही महिनामै लोक सेवाको निजामतीतर्फ नाम निकालेर पेसा बदल्ने गरेका छन् । इकाइका अनुसार गतवर्ष मात्र जिल्लाका ७ जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामतीतर्फ गएका थिए ।

त्यसैगरी, शिक्षा सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैं अभाव हुने गरेको हो । सदरमुकाम बेनीका सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले वर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयको शिक्षक ‘भाग्ने’ समस्या झेल्दै आएका छन् ।

शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ । ‘जिल्लामा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ । कक्षा ६ देखि नै विज्ञान विषय अनिवार्य गरिए पनि जनशक्ति उत्पादन छैन । उत्पादन भएको र देशमा रहेको जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छ,’ इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘शिक्षक लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यावहारिक हुँदा शिक्षक समस्या भएको हो ।’

यसैगरी, सदरमुकामका सामुदायिक तथा संस्थागत विद्यालयमै योग्यता पुगेका कम्प्युटर शिक्षक छैनन् । ‘एउटा कम्प्युटर शिक्षकले दिनमा सामुदायिक र संस्थागत गरी चार वटासम्म विद्यालयमा पढाउने गरेका छन्,’ प्रकाश माविका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले भने, ‘कम्प्युटर विषयमै योग्यताप्राप्त शिक्षक पाउनै सकिन्न । अन्य विषयमा योग्यता लिएका र कम्प्युटर तालिमप्राप्त शिक्षकबाट कामचलाउ पढाउनुपर्ने बाध्यता छ ।’

इन्जिनियरिङ र गणित विषयका शिक्षकको पनि उस्तै समस्या छ । प्राविधिक धारमा पढाइ हुने बेनी–९ तोरीपानीस्थित गलेश्वर माविले बीईतर्फका शिक्षक कहिल्यै पाउँदैन । सरकारले डिजिटल शिक्षण भनेको र विद्यालयमा कम्प्युटर पढाइ हुने भनिए पनि विषयगत शिक्षक अभावमा कम्प्युटर विषय पढाउनै समस्या भइरहेको विद्यालयहरू बताउँछन् ।

विषयगत शिक्षकको सधैं पिरलो भइरहेपछि म्याग्दी बहुमुखी क्याम्पसले आगामी सत्रदेखि स्नातक तह शिक्षाशास्त्रतर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषयको पढाइ सुरु गर्ने भएको छ । स्नातक तहमा विज्ञान र कम्प्युटर विषयको पढाइ सुरु गर्न जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत जुटाउने ऐक्यबद्धता पनि जनाएका छन् ।

‘विज्ञान विषयका शिक्षकको धेरै माग भए पनि उत्पादन नभएकोले क्याम्पस स्थानीय विद्यालयको माग सम्बोधन गर्न शिक्षा संकायअन्तर्गत विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गर्ने तयारीमा छ,’ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘त्रिविवि पनि सकारात्मक छ ।’

प्रकाशित : मंसिर १५, २०७८ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×