२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सीमा बैठक : प्रजिअले देउडाबाटै पोखे असन्तुष्टि

दुई वर्षपछि समन्वय बैठक, सीमा क्षेत्रमा दुवै देशको समन्वय र सहजीकरणबाट मात्रै काम गर्ने भारतीय जिल्लाधिकारीको प्रतिबद्धता 
मातृका दाहाल, मनोज बडू

काठमाडौं, दार्चुला — भारतीय जिल्लाधिकारी (डिस्ट्रिक्ट मेजिस्ट्रेट) आशिष चौहानसँग समन्वय समितिको बैठक गर्न शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र बैतडीका प्रजिअ राजेन्द्रदेव पाण्डे सुरक्षा अधिकारीसहित पिथौरागढ पुगे ।

सीमा बैठक : प्रजिअले देउडाबाटै पोखे असन्तुष्टि

बैठकको आयोजक भारतीय पक्ष भए पनि उसले कुनै एजेन्डा राखेको थिएन । दार्चुलाका प्रजिअ जोशीले देउडा गाउँदै एजेन्डा उठाए–

‘छिमेकी देश गाउँ जोलै मित्र बन्न पुग्छ

असल मित्र त्यो हो जसले सुख–दुःख बुझ्छ

‘राइझुमा..झुमा क्या मस्क्याकी छौ राइझुमा’

जोशी यतिमा मात्रै रोकिएनन् । भारतीय पक्षलाई असल छिमेकी बन्न आग्रह गर्दै देउडा गीत ‘राइझुमा झुमा क्या मस्क्याकी छौ राइझुमा’ को लयमा भने–

‘पडोसी/छिमेकी बन्धु....जो हुन् असल मित्र

छलकपट हुँदैन भन्छन् पवित्र मनभित्र’

जोशीले गीत गाइरहँदा भारतीय जिल्लाधिकारी चौहानसहित उपस्थित सबैले उठेर तालीले साथ दिएका थिए । प्रजिअ जोशीले दार्चुला सदरमुकाम खलंगादेखि सोही जिल्लाको व्यास गाउँपालिका–१, छाङरुसम्म सीमावर्ती महाकाली तटीय क्षेत्रमा भारतीय पक्षबाट भएका बलमिच्याइँका करिब एक दर्जन जति विषय बैठकमा उठाए । बैठक सकेर सोमबार साँझ सदरमुकाम खलंगा आइपुगेका प्रजिअ जोशीले दुई वर्षयता सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भएका बलमिच्याइँपूर्ण घटनाबारे भारतीय समकक्षीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

‘बैठक अनौपचारिक कुराकानी र छलफलमा केन्द्रित गर्ने भारतीय पक्षको योजना रहेछ तर हामीले दार्चुला सदरमुकाम खलंगाबाट महाकालीको माथ्लो सीमावर्ती तटीय क्षेत्रमा भएका अमानवीय व्यवहारदेखि सीमा क्षेत्रमा अनधिकृत संरचना निर्माणसम्मका विषयलाई उठायौं,’ प्रजिअ जोशीले कान्तिपुरसँग भने, ‘हामीले असन्तुष्टि जनाएपछि भारतीय पक्षले अब त्यस्तो दोहोरिँदैन भनेको छ ।’

नेपालका सीमावर्ती जिल्ला दार्चुला र बैतडी तथा भारतको पिथौरागढ प्रशासनका अधिकारीबीच शनिबार दुई वर्षपछि द्विपक्षीय बैठक बसेको थियो । त्यसअघि दुवै प्रशासन आफ्ना विषय अवगत गराउन पत्राचारमा मात्र सीमित थिए । सीमा क्षेत्रमा देखिने प्रशासनिक समस्या समाधानका लागि संयुक्त बैठक राख्न पटक–पटक गरेको आग्रहलाई भारतीय पक्षले टार्दै आएको थियो ।

यस बीचमा नेपालको लिपुलेकसम्मै समेटेर भारतले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो । त्यसको विरोधमा नेपालले पठाएको कूटनीतिक नोटको भारतले जवाफ दिएन । उल्टै नेपाली भूमिसमेत समेटेर खनेको धार्चुला–लिपुलेक सडक २०७७ वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे । त्यसपछि नेपाल सरकारले भारतीय अतिक्रमणमा परेको कालापानीदेखि लिम्पियाधुरासम्मको भागलाई राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेर प्रयोगमा ल्यायो । त्यसपछि झनै दुई देशबीच सम्बन्धमा तिक्तता आयो ।

प्रजिअ जोशीका अनुसार २०७० असारमा महाकालीमा बाढी आएपछि नदीले धार परिवर्तन गर्दा पारिपट्टि करिब २ सय रोपनी नेपालको भूभाग परेको थियो । त्यही भूभागमा भारतीयले नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको छ । यस विषयका साथै बिनासमन्वय भारतले सडक खन्दा चट्टान खसेर नेपालतर्फ बाटो भत्किएको, बिनासमन्वय सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गरेको, अनुमतिबिना नेपाली आकाशमा हवाई उडान भरेको, दार्चुलाका सीमा क्षेत्रमा झोलुंगे पुल निर्माणमा सहजीकरण नगरेको, भारतीय भूमि हुँदै छाङरु जान व्यवधान खडा गरेको, अपराध अनुसन्धान प्रयोजनका लागि ड्रोन उडाउन नदिएको विषयमा पनि नेपालको प्रशासनले समकक्षीलाई ध्यानाकर्षण गराएको छ ।

भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काएपछि महाकालीमा खसेर बेपत्ता दार्चुला मालका जयसिंह धामीको खोजबिनमा भारतले नदी तटीय क्षेत्रमा ड्रोन उडाउन दिएको थिएन । त्यस घटनामा भारतीय पक्षले अनुसन्धानमा पनि असहयोग गरेको थियो ।

भारतीयका कारण नेपाली पक्षले भोगेका समस्याबारे पत्रमार्फत जानकारी माग्दा र अवगत गराउँदा पनि कुनै जवाफ नदिएकामा समेत नेपाली पक्षले असन्तुष्टि जनाएको थियो । पछिल्लोपटक नेपाली अधिकारीलाई भारतीय बाटो हुँदै जनगणना गर्न दार्चुलाको छाङरु जान पनि अवरोध पुर्‍याइएको थियो । गणकलाई रोकिएको विषयमा पिथौरागढ प्रशासनसँग दार्चुला प्रशासनले कारण माग्दा जवाफ नै आएन ।

जिल्लाधिकारी चौहानले तुइन घटना र गणकलाई भारतीय बाटो प्रयोग गर्न नदिएको विषय ‘माथिको आदेश’ भन्दै आफू केही नबोल्ने बताएका थिए । बाँकी विषयमा चौहानले अब सीमा क्षेत्रमा हुने गतिविधिमा ‘दुवै देशको समन्वय र सहजीकरणबाट मात्रै काम हुने’ उल्लेख गर्दै यसअघिका घटनामा ‘सरी’ भनेको जोशीले बताए ।

बैठकमा नेपाली अधिकारीले भारतमा मृत्यु भएका नेपाली मजदुरका परिवारले भारत सरकारबाट पाउनुपर्ने क्षतिपूर्ति र शव हस्तान्तरणमा पनि प्रभावकारी रूपमा सहजीकरण गर्न आग्रह गरेका थिए । यसलाई पनि चौहानले गम्भीर रूपमा लिएको जोशीले जानकारी दिए । सीमा पुल बनाउन आवश्यक निर्माणका सामान ढुवानीमा समेत सहजीकरण गरिदिन प्रशासनले भारतको ध्यानाकर्षण गराएको छ ।

एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा तुइनको लट्ठा खुस्काइदिँदा नेपाली युवक महाकालीमा बेपत्ता भएको घटनापछि पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूप हटाइएका थिए । उनको ठाउँमा चौहान आएका हुन् । चौहान आएपछि नेपाली अधिकारीसँग शनिबार भएको पहिलो सीमा बैठकले दुई देशका प्रशासनबीच अनौपचारिक सूचना आदानप्रदानका लागि सामाजिक सञ्जाल ‘वाट्सएप’ ग्रुपसमेत प्रयोगमा ल्याउने समझदारी गरेका छन् । गृह मन्त्रालयले बैठकमा सीमा क्षेत्रका समस्याबारे कुनै लिखित हस्ताक्षर वा समझदारी नगरी द्विपक्षीय छलफल गर्न अनुमति दिएको थियो ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?