सन्दर्भ - विश्व एड्स दिवस

एचआईभी संक्रमित आमाको खुसी

औषधि विज्ञानले फड्को मारेपछि संक्रमित आमाबाट पनि स्वस्थ शिशु जन्मन सम्भव भएको छ
ठाकुरसिंह थारु

नेपालगन्ज — स्वस्थ शिशु जन्माउन सम्भव भएपछि एचआईभी संक्रमित आमाहरूमा खुसी थपिएको छ । औषधि विज्ञानले प्रविधिमा फड्को मारेपछि संक्रमित आमाबाट पनि स्वस्थ शिशु जन्मन सम्भव भएको हो । यहाँको भेरी अस्पतालको निगरानीमा संक्रमित आमाहरूले स्वस्थ शिशु जन्माएका छन् ।

एचआईभी संक्रमित आमाको खुसी

आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम सरकारले लागू गरेपछि अस्पतालमा यस्ता आमाहरूका लागि छुट्टै वार्ड स्थापना गरिएको छ ।

संक्रमितबाट जन्मिने शिशु संक्रमणमुक्त नहुने कारण यसअघि चिकित्सकहरू नै एचआईभी संक्रमित आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे । ‘पछिल्लो समय संक्रमित आमाले स्वस्थ बच्चा जन्माउन पाएका छन्,’ एड्स हेल्थ केयर फाउन्डेसनका कार्यक्रम संयोजक सञ्जयकुमार पौडेलले भने, ‘नयाँ प्रविधिले संक्रमित महिलाहरूको आमा बन्ने सपना पूरा गरेको छ ।’ भेरी अस्पतालमा स्वस्थ बच्चा जन्माउन सफल भएकी एक संक्रमितले जीवनको सहारा पाएपछि आत्मबल बढेको बताइन् । ‘सुरुमा बच्चा पनि मजस्तै संक्रमित हुने हो कि भन्ने डर लागेको थियो,’ उनले भनिन्, ‘स्वस्थ शिशु जन्माउन पाएकामा मेरो जीवन सफल भएको छ ।’

भेरी अस्पतालमा एक वर्षयता ५ सय १० जना संक्रमित महिला सम्पर्कमा आएका छन् । तीमध्ये १० जना गर्भवती भए । एक जनाले बच्चा संक्रमित हुन सक्ने डरले कानुनअनुसार नै गर्भपतन गराइन् । तर, ९ आमाले जीवित बच्चा जन्माए । ६ शिशुको रिपोर्ट नेगेटिभ आएको संयोजक पौडेलले बताए । उनका अनुसार तीन शिशुको रिपोर्ट अझै आउन बाँकी छ । एचआईभी संक्रमित आमाहरूलाई परामर्श दिँदै आएका डा. संकेत रिसालले गर्भवतीमा एचआईभी संक्रमण भएको पाएपछि निगरानी सुरु गरिने र त्यहीअनुसार उपचार व्यवस्था मिलाइने बताए ।

‘संक्रमित भएका केही गर्भवतीहरू अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं,’ उनले भने । संक्रमित महिलाले जन्माउने शिशुलाई एचआईभी संक्रमणबाट जोगाउन नेपाल सरकार राष्ट्रिय एड्स तथा यौन नियन्त्रण विभागले नयाँ रणनीति ल्याएको हो । यसका लागि गर्भवती महिला र नवजात शिशुकेन्द्रित विशेष कार्यक्रम सुरु भएको छ । संक्रमित गर्भवतीलाई एन्टिरेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवतीबाट बच्चामा एचआईभी सार्न रोक्छ ।

चिकित्सकहरूका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वस्थ अवस्था जाँच्न डीएनए पीसीआर गरिन्छ । संक्रमित आमाबाट जन्मेको शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ । संक्रमित गर्भवती नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट भने संक्रमित बच्चा जन्मिने जोखिम रहने चिकित्सक बताउँछन् ।

संक्रमितको दूध चुस्दा एचआईभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिन्छ । कामको सिलसिलामा विदेश जाने गएकाहरू असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमणको बढी जोखिममा पर्ने गरेका छन् । असुरक्षित यौन व्यवहार भएकाहरूले घर फर्केपछि श्रीमतीलाई सार्ने गरेका छन् ।

चिकित्सकहरूका अनुसार असुरक्षित यौन सम्पर्कले हुने एचआईभीको संक्रमण गर्भवती आमाबाट सिधै नवजात शिशुमा सर्छ । तर, संक्रिमत भएको पुष्टि भइसकेकामध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण कतिपयले रोग लुकाउने गरेका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?