एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न- समाचार - कान्तिपुर समाचार

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न

रासस

काठमाडौँ — नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मंगलबार चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । 

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए । पार्टीलाई अझ थप संगठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मंसिर २५ र २६ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।

यही मंसिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्यीय रहेको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

सर्वेसर्वाका अविवेकी गतिविधि

भीम रावल, घनश्याम भुसाल एवं टंक कार्कीको उम्मेदवारी नपरेको भए एमाले उत्तर कोरियाको ‘जुछे’ वा चीनको ‘सी’ पथमा अग्रसर भएको जस्तो देखिन्थ्यो ।
सीके लाल

परिस्थितिजन्य अनिवार्यता जनाउन हिन्दी भाषामा एउटा चल्तीको उक्ति छ— ‘वृन्दावन में रहना है तो राधे–राधे कहना है ।’ त्यस कथनलाई अलिकति संशोधन गर्ने हो भने नेकपा एमालेका निराश पदाकांक्षीहरूको विवशतालाई सहजै दर्साउन सकिन्छ— ‘एमाले में रहना है तो ओली–ओली जपना है ।’ वामदेव गौतमले आफ्नो लाचारी सोझै स्वीकार गरे, ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ ।’

लालबाबु पण्डितलाई आफ्नो सीमितता ठम्याउन अलिकति समय लाग्यो र उनी काठमाडौं फर्किन बाध्य बने । सर्वश्री भीम रावल, घनश्याम भुसाल एवं टंक कार्कीले आफ्ना सर्वेसर्वालाई ‘विरोधको वैधानिकता’ प्रदान गरेका छन् । तिनको उम्मेदवारी नपरेको भए एमाले उत्तर कोरियाको ‘जुछे’ वा चीनको ‘सी’ पथमा अग्रसर भएको जस्तो देखिन्थ्यो । सर्वसहमतिको साटो अप्रत्यक्ष सहमतिको संस्कारले भने मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ अझै सान्दर्भिक रहेको देखाउन खोजेको छ । निर्विरोध होऊन् वा प्रतिस्पर्धाबाट निर्वाचित, ढिलो–छिटो एमालेका सबै राजनीतिकर्मीहरूले आफ्नो वैचारिक निरर्थकता स्वीकार गर्नुको विकल्प छैन । निर्देशनबमोजिम परिचालित हुनु, अह्राएको स्थान र समयमा उपस्थिति जनाउनु, सर्वेसर्वाको जयजयकार गर्नु, पूर्वनिश्चित तवरले ताली बजाउनु, नेतृत्वको प्रतिरक्षा गर्नु, असहमति देखाउनेहरूको प्रतिकार गर्नु एवं खटाइएअनुसार विरोधीहरूमाथि जाई लाग्नु एमाले पंक्तिभित्रका सबै राजनीतिकर्मीहरूको निर्दिष्ट नियति रहने निश्चित छ ।

अहिलेको एमाले नामधारी दलको निर्माणमा पदारूढ अध्यक्ष एवं सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको भूमिका बढीमा परिधीय थियो । सन् १९९० पछि क्रमिक रूपमा आफ्नो प्रभाव बढाउँदै लगेर उनले देशी–विदेशी स्वार्थ समूहहरूको सहयोगमा विधिवत् तवरले पार्टी ‘कब्जा’ गरेका हुन् । उनले आफ्नो सर्वाधिकारी स्थान नगण्य लगानी र सानो दु:खले आर्जेका होइनन् । चतुर्‍याइँ गरेर हासिल गरेको अपरिमित शक्तिलाई अझ सुदृढ गर्न सहयोगी छनोट गर्दा आफूप्रतिको असन्दिग्ध वफादारीलाई योग्यताको प्राथमिक सर्त बनाउनु स्वाभाविक हो । चितवन महाधिवेशनलाई उनले पदारोहण समारोहभन्दा बढी महत्त्व दिएका छैनन् । सामान्यजनबाट १ सय–२ सय रुपैयाँ चन्दा उठाएर त्यत्रो तमासा आयोजना गरिएको होइन । सर्वेसर्वा शर्मा ओलीले आफ्नो सुशोभन समारोहका लगानीकर्ताहरूलाई आश्वस्त तुल्याउन पनि पार्टीमा आफ्नो एकाधिकार कायम रहेको सन्देश प्रवाहित गर्नुपर्ने बाध्यता छ । वैचारिक मन्थन, स्वस्फूर्त सहभागिता एवं समावेशी प्रतिनिधित्व एमालेको चरित्र होइन । त्यसैले आफ्नो स्वत्व, पहिचान र स्वाभिमान परित्याग गरेर एमालेको छहारी खोज्न गएका मधेसी, थारू, मुसलमान वा महिला पदाकांक्षीहरूले अवसर नपाएकामा चित्त दुखाउनुको कुनै अर्थ छैन । खस–आर्य समुदायका हतोत्साहित राजनीतिकर्मीहरू भने आफ्ना सर्वेसर्वाको सेवामा यथेष्ट ध्यान पुर्‍याउन नसकेकाले यस पटक यथोचित पद पाउन असमर्थ भएका हुन् । केही दिनपछि तिनले थप जोस र जाँगरका साथ आफ्ना बालकोटका इष्टदेवको गणेश परिक्रमा गर्ने अपेक्षा अयथार्थपरक होइन ।

दलीय पूर्वाग्रह एवं सामाजिक पक्षधरतालाई एकातिर पन्छाएर हेर्ने हो भने, सर्वेसर्वा शर्मा ओली संसद्मा प्रतिपक्षका नेता मात्र नभएर समसामयिक नेपालका सबभन्दा प्रभावशाली राजनीतिकर्मी पनि हुन् । खस–आर्य समुदायका अघोषित तर सर्वस्वीकृत मुख्तियार भएकाले उनको समर्थन आधार सबैजसो राजनीतिक दलभित्र फैलिएको छ । पुच्छ्र्र्रे नक्साको प्रकाशनपछि उनको भारतमैत्री छवि उग्रराष्ट्रवादीमा रूपान्तरित भएकाले गर्दा उनी मण्डले–कुण्डले जमातका सरदार बन्न पुगेका छन् । पशुपतिको स्वर्ण जलहरी एवं माडीका रामप्रति समर्पित भएर उनले आफ्नो धार्मिक प्रामाणिकता पनि स्थापित गरेका छन् । बाहुनहरूमा उनीजत्तिको जातीय उपकारी अरू कुनै राजनीतिकर्मी नभएकाले देशको शासन र प्रशासनमा हाबी समुदायका उनी सर्वोच्च संरक्षक ठहरिएका छन् । पत्रकारितामा शर्मा ओलीका आलोचकहरूसमेत जातीय ऐक्यबद्धताले गर्दा उनको विरोध गर्दा काउकुती लगाउने भाषा र शैलीभन्दा बाहिर खासै जाँदैनन् । महाव्याधिको अवधिमा समेत आफ्नो सम्पत्तिमा उल्लेख्य वृद्धि देखेका नाफा क्षेत्रका व्यापारीहरूले स्वभावत: प्रतिपालन पुँजीवाद (पैट्रनज कैपिटलिज्म) अभ्यासका प्रवर्तकलाई रुचाउने भए । चितवन महाधिवेशनबाट शर्मा ओलीको ओज केही कम भएको भए पनि उनको सामाजिक, सांस्कृतिक, प्रशासनिक एवं आर्थिक बुता भने अझै यथावत् छ । त्यसैले उनका अभिव्यक्ति एवं गतिविधिहरूको कूटनीतिक असरलाई कम आकलन गर्नु अनुपयुक्त हुनेछ ।

वैदेशिक मुद्दा

अंग्रेजीको एउटा प्रचलित उखानलाई उल्था गरेर भन्ने हो भने, ‘सरकारले छिमेक सम्बन्ध बिगारेको’ सर्वेसर्वा शर्मा ओलीको ताजा आरोपलाई दराजको कराहीले चुलोमा चढेको डेक्चीलाई ‘कस्तो कालो’ भनेर होच्याएको जस्तो सुनिन्छ । केही राजदूतहरूको मनोनयन, परराष्ट्रमन्त्रीको अपरिहार्य भ्रमण एवं आगन्तुक बाह्य अतिथिहरूको औपचारिक स्वागतबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा रहेको अमिल्दो राजनीतिक दलहरूको निष्प्रभ सरकारले कूटनीतिक मोर्चामा खासै केही नगरेको मात्र नभई उल्लेख्य केही गर्न सक्ने अवस्थामा पनि छैन । आफ्ना केही समयअगाडिका सहयात्री दलहरूलाई खस–आर्य समुदायका मुख्तियारले त्यस्तो आधारहीन आरोप लगाउन पनि मिल्दैन । पुच्छ्र्रे नक्सामा देशका सबैजसो राजनीतिकर्मी सर्वेसर्वाका पछाडि लाम लागेका थिए । तर भारतसँग वार्ताद्वारा समस्या समाधान गर्ने प्रयत्नसम्म उनले गरेनन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टलाई शर्मा ओलीले अलपत्र पारेर छाडेका थिए । त्यस सम्झौतालाई उनको कमसेकम मौन सहमतिबेगर सडकबाट संसद्मा पुर्‍याउन सकिने छाँटकाँट छैन । चिनियाँ संस्थापनका अगाडि नेपालको विश्वसनीयता खस्किनुमा अरू कोही नभएर शर्मा ओली नै सबभन्दा बढी जिम्मेवार छन् ।

केही दिनअगाडि सर्वेसर्वा शर्मा ओलीले आफ्ना अनुयायीहरूका अगाडि ‘चीनसँग सम्बन्ध विस्तार, भारतसँग समस्या समाधान’ शीर्षकमा भूराजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । त्यस प्रतिवेदनमा अफगानिस्तान मामिलामा अमेरिका असफल रहेको उनको निक्र्योल तथ्यपरक हो । तर, एउटा असफलताले अतिशक्ति अमेरिका संसारका सबै देशको ‘आकाशे छिमेकी’ रहेको यथार्थलाई तत्कालै बदल्न सकिँदैन । राष्ट्रपति जोसेफ आर बाइडेनको आसन्न ‘डिमक्रसी समिट’ दक्षिण एसियामा संयुक्त राज्य अमेरिका आफ्नो सामरिक स्वार्थअनुसार पुन: क्रियाशील हुन लागेको संकेत हो । बंगलादेशको बहिष्कार एवं पाकिस्तानलाई आमन्त्रण गरेर आभासी शीर्ष सम्मेलनको आयोजकले प्रजातन्त्र प्रवद्र्धनको घोषित नीतिभन्दा अमेरिकाको सामरिक स्वार्थ सर्वोपरि रहेको जनाउ दिएको छ । ‘अमेरिकाको शत्रु हुनु खतरनाक हुन सक्छ, तर अमेरिकाको मित्र हुनु घातक हो’ भन्ने हेनरी किसिन्जरको कुख्यात अभिव्यक्तिलाई सम्झिने हो भने नेपालका लागि एमसीसी कम्प्याक्ट सावधानीपूर्वक अंगीकार गर्नुपर्ने बाध्यताको छनोट बन्दै गएको छ । त्यस्तो परिस्थितिमा सर्वेसर्वा शर्मा ओलीजस्तो राजनीतिकर्मीले अमेरिकाको तात्कालिक भूराजनीतिक पराजयमा हर्षबढाइँ गर्नु माक्र्सवादी–लेनिनवादी हठधर्मिताको धङधङीबाहेक केही हुन सक्दैन । शर्मा ओली आज जहाँ छन्, उनलाई त्यहाँसम्म पुर्‍याउनमा आकाशे छिमेकीका पक्षधरहरूले कुनै बेला महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तिनका केही अपेक्षा पनि थिए होलान् । आफ्ना असफलताहरूको दोष सत्तासीन निर्धो गठबन्धनमाथि थोपरेर शर्मा ओली सहजै उम्किन सक्दैनन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई एक्ल्याएको अपयश मूलत: निवर्तमान सरकारका कार्यकारी प्रमुखको काँधले नै बोक्नुपर्ने हुन्छ ।

शर्मा ओलीको देशाहंकार, अन्यघृणा एवं आत्ममुग्धताले भारतसँगको सम्बन्धलाई सल्टाउनै नसकिने गरी गुजुल्ट्याइदिएको छ । आफ्नो भोगचलनमा रहेको भूमि भारतलाई छोड्न सहज हुनेछैन । अर्कातिर, उक्त भूभाग नक्साबाट हटाउने हिम्मत नेपालको कुनै पनि सरकारले गर्न सक्नेछैन । वार्ताले मुद्दा सल्टाउने हो, मिल्कियतका दाबी (टेरिटोरिअल क्लेम्ज) त लामो कालसम्म रहिरहन अभिशप्त हुन्छन् । सन् १९५० को सन्धि जतिसुकै विवादित रहे पनि त्यसलाई खारेज गर्ने गरी अन्तरिम व्यवस्था एवं दुवै पक्षलाई मान्य हुने संशोधित सन्धिको मस्यौदा गर्ने राजनीतिक इच्छाशक्ति काठमाडौं वा नयाँ दिल्लीमा निकट भविष्यमा बन्न सक्ने सम्भावना छैन । तथाकथित प्रबुद्ध समूह (ईपीजी) यथार्थवादी हुन सकेको भए हुन्थ्यो, तर त्यस मण्डलीको गठन नै प्रदर्शनमुखी भएकाले तिनको प्रतिवेदन सैद्धान्तिक छलफलमा ल्याउन योग्य पनि ठहरिएको छैन । भएकै कूटनीतिक विवाद काफी थियो, त्यसमाथि झन् हुँदै नभएको राम–जन्मभूमि झमेला थपेर शर्मा ओलीले जनस्तरको सम्बन्धलाई पनि कटु बनाइदिएका छन् । आस्था हुनेले राम त के, हनुमानकै पनि जतिवटा मन्दिर बनाए पनि हुन्छ । मन लागेजति अयोध्या सहर बसाए पनि फरक पर्दैन । तर, आस्थाजन्य दशरथ–पुत्र रामको अयोध्यालाई भौतिक दूरी नाप्ने यन्त्रले अड्कलेर पुन:सिर्जना गर्न खोज्ने दुस्साहसबाट षड्यन्त्रको गन्ध आउनु स्वाभाविक हो ।

अमेरिका र भारतसँग दूरी बढाए पनि शर्मा ओलीले चीनसँगको बढ्दो सामीप्यलाई कायम राख्न भने सकेनन् । चिनियाँहरूको कूटनीतिक अग्रसरताका पछाडि बेइजिङका आफ्नै सामरिक हित अन्तर्निहित थिए होलान् । वैदेशिक सम्बन्ध परोपकार गर्ने मनसायले सञ्चालित गर्ने गरिँदैन । तर, चिनियाँ अग्रसरताभित्रका भौतिक विकासका प्रस्तावहरूवाट नेपालले पर्याप्त लाभ उठाउन सक्ने सम्भावना छ । हिमालपारिको रेल, चीनमार्फत समुद्र व्यापार वा चिनियाँहरूसँग सामरिक साझेदारीजस्ता प्रस्तावनाहरू अँध्यारो सुरुङको यात्रा भए पनि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) तथा एसियाली पूर्वाधार बैंकले उपलब्ध गराउने ऋण सुविधाबाट नेपाल लाभान्वित हुन सक्छ । चीनबाहिर कुनै सान्दर्भिकता नरहेको ‘सी विचारधारा’ मा प्रशिक्षण लिन जरुरी छैन, तर कृषि क्षेत्रमा चिनियाँहरूले गरेको आधुनिकीकरण तथा त्यहाँको अपेक्षाकृत कम लागतको औद्योगिकीकरणका पाठहरू सबैजसो विकासोन्मुख देशहरूका लागि उपयोगी ठहरिन सक्छन् । सर्वेसर्वा शर्मा ओलीले भने चीनसँगको सम्बन्धमा पनि प्रतिज्ञा र प्रतिपालनका बीच तालमेल राख्न नसकेकाले चिनियाँहरू चिढिएको हुनुपर्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई नराम्रोसँग गिजोलेर छोडेका शर्मा ओलीले पानीमाथिको ओभानो बनेर सत्तासीन गठबन्धनलाई दोष दिनुको कुनै अर्थ छैन । उनी अहिले पनि शक्तिशाली छन्, तर आफ्नो शक्तिअनुसारको जिम्मेवारी निर्वाह गर्न सकेनन् भने उनको क्षमताको क्षयीकरणलाई कसैले रोक्न सक्नेछैन ।

जनकूटनीतिको जरुरत

सिंहली भाषामा गाइएको ‘मनिके मगे हिथे’ गाना आजभोलि अन्तर्जालमा उत्पात लोकप्रिय भएको छ । त्यस गीतकी गायिका योहानी नामदार र्‍यापर भएकी छन् । अन्तर्जालका अन्तर्राष्ट्रिय दर्शक र श्रोतामाझ उनी श्रीलंकाको सौम्य छवि प्रस्तुत गर्न सफल भएकी छन् । एक दशकजति अगाडि तमिल अभिनेता धनुषले गाएको ‘तमिलिङ्लिस’ गीत ‘व्हाई दिस कोलावेरी कोलावेरी कोलावेरी डी’ पनि यसरी नै जनप्रिय भएको थियो । एउटा गीतले केही महिनाभित्र तमिल पंक्तिलाई आधुनिक रूप प्रदान गरेको थियो । बेलायत निवासी नेपालीभाषी भीम निरौलाको ‘सन्डे मर्निङ’ गीत पनि नबुझ्नेहरूले समेत गुनगुनाउने संगीत बन्न पुगेको थियो । सरकारको क्षमता शंकास्पद एवं प्रतिपक्षका गतिविधि अविश्वसनीय देखिन थालेपछि देशको छवि उजिल्याउन सांस्कृतिक अग्रसरता आवश्यक हुन जान्छ । कूटनीतिका जानकारहरूका अनुसार नेपालजस्तो कमजोर देशले बाह्य कठोर शक्ति (हार्ड पावर) लाई नम्रताका साथ प्रतिरोध गर्नुको विकल्प हुँदैन । नम्र शक्ति (सफ्ट पावर) प्रयोग भएमा सावधानीसँग जोगिनुपर्छ । प्रखर शक्ति (सार्प पावर) का अगाडि निहुरिएर भए पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने समय जोगाउन सक्नुपर्छ । तीक्ष्ण शक्ति (स्मार्ट पावर) को काट भने खानपान, खेलकुद, गीत–संगीत एवं कविता र साहित्यजस्ता जनकूटनीतिका माध्यमहरूमा भेट्टाउन सकिन्छ ।

कुनै बेला राणाहरूको सिकार कूटनीति नेपालको आकर्षण बढाउन उपयोगी ठहरिएको थियो । सिकार निषेधित एवं जंगल सफारी अनुपयुक्त भइसकेकाले चितवनको गैंडा अब सर्वेसर्वा शर्मा ओलीका समर्थकलाई प्रभावित गर्न मात्र काम लाग्छ । शाहहरूले पर्वतारोहण एवं पहाडी क्षेत्रको पदयात्रालाई भरपूर उपयोग गरे । जलवायु संकटले निम्त्याएको चिन्ताका कारण साहसी पर्यटन (एड्भेन्चर टुरिज्म) कम आकर्षक हुन गएको छ । गोर्खा भर्ती नेपालको कूटनीतिक अस्त्र हुने गथ्र्यो, त्यसको प्रभाव प्रत्युत्पादक नै भइनसकेको भए पनि निरन्तर ह्रासोन्मुख भने छ । शान्ति सेनामा नेपालले गर्ने योगदानको कूटनीतिक मूल्य परिधीय मात्र हो । आफ्नो प्रशंसामा आफैं घाँटी सुकाए पनि गैरआवासीय नेपालीहरू नेपालका अवैतनिक सांस्कृतिक दूत बन्न सक्ने हैसियतमा पुगिसकेका छैनन् । नेपाली लगानीकर्ताहरूको क्षमता सीमित एवं देशको वित्तीय वजन कम रहेकाले आर्थिक कूटनीति नेपालको बुताबाहिरको कुरा हो । लाक्षणिक मात्र नभएर वस्तुत: पनि नेपालको नम्र शक्तिको स्रोत नाच्नु, गाउनु, बाजा बजाउनु र ‘डल्लो फाल्नु’ मा खोज्नुपर्ने आवश्यकता छ ।

नेपालभित्र आनी छोइङ डोल्माले ‘फूलको आँखामा फूलै संसार’ बाट प्रसिद्धि हासिल गरेकी भए पनि बाहिरी संसारमा उनका मन्त्रहरूले श्रोतालाई मुग्ध पार्ने गर्छन् । बसोबासका लागि बम्बई रोजेका भए पनि गायक उदितनारायण झा एवं अभिनेत्री मनीषा कोइरालाको नेपालसँगको नाता मात्र पनि तिनको कूटनीतिक उपयोगिता कायम राख्न काफी छ । प्रवेश मल्लिक नेपाल र भारतबीचको सांगीतिक पुल बन्न प्रयत्नरत छन् । सन्दीप लामिछानेले ‘डल्लो फालेर’ आफ्नोसँगसँगै नेपालको पहिचानलाई समेत खेल मैदानमा पुर्‍याएका छन् । दक्षिण कोरियाको गङनम स्टाइल स्तरका प्रदर्शक (पर्फर्मर) नभए पनि नेपाली अदाकारहरूको क्षमता कम छैन । शास्त्रीय संगीत परम्परा विकसित हुन समय लाग्छ । रुसको बैले प्रदर्शनको लामो इतिहास छ । तर केही दशक अगाडिसम्म पियानो चीनका लागि नवीन उपकरण थियो । अहिले दुनियाँमा सबभन्दा धेरै पियानो बन्ने र बजाइने देश चीन हो । बाँसुरीवादनमा नेपालले आफ्नो उपस्थिति दर्ज गराउन सक्ने पर्याप्त सम्भावना छ । अंग्रेजी भषामा साहित्य सिर्जना गर्ने नेपालीहरू औंलामा गन्न सकिने मात्र छन्, त्यसैले तिनलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उजिल्याउनका लागि परिचालन गर्नु धेरै खर्चिलो ठहरिने छैन ।

राजनीतिकर्मीहरूले सम्हाल्न नसकेको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुचारु तुल्याउन परराष्ट्र मन्त्रालयका कूटनीतिज्ञ तथा सिर्जनशील राजदूतहरूले जनकूटनीतिमार्फत गति दिन सक्छन् । जनकूटनीतिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न नसकिने होइन, तर त्यसका लागि उपयुक्त वातावरण बनाएर कलाकार एवं खेलाडीहरूलाई स्वैच्छिक अग्रसरता लिने गरी स्वतन्त्र छाडिदिनु बढी उपयुक्त ठहरिन सक्छ । कठयांग्रिने जाडोमा धिपधिप आगोको तापले पनि आश्वस्त तुल्याउन सक्छ । यसबीच थाम्नै नसक्ने बधाई थापिरहेका सर्वेसर्वा शर्मा ओलीले आन्तरिक मुद्दामा जतिसुकै चर्को स्वरमा चिच्याए पनि अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा अलिकति संयम अपनाउनु उपयुक्त हुनेछ । पद नवीकरण भएका सर्वेसर्वालाई बधाई, उनका चयनित एवं अत्यधिक बहुमतले निर्वाचित सहयोगीहरूलाई शुभकामना !

प्रकाशित : मंसिर १४, २०७८ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×