पत्रकार सहकारी बनाउन अर्थमन्त्री शर्माको आग्रह- समाचार - कान्तिपुर समाचार

पत्रकार सहकारी बनाउन अर्थमन्त्री शर्माको आग्रह

रासस

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पूँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनमा सञ्चारकर्मी पनि जोडिनुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल ललितपुर शाखाको चौथो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले पत्रकारले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुन् ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माको भनाइ छ । 'पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारको सहकारी समूह बनाएर तपाईंहरू सञ्चालन गर्न सक्नुहुन्छ', उनले भने, 'एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।' त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उनले बताए ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पूँजी निर्माण हुने सम्भावना कम रहेकाले पहिले सामुदायिक पूँजी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत प्रतिस्पर्धालाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने उल्लेख गरे ।

पत्रकारलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माको भनाइ छ ।

सम्मेलनले रामहरि कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

अष्ट्रेलियाको संसद्‍मा यौन उत्पीडनका घटना बढेको खुलासा

एजेन्सी

सिड्नी — अष्ट्रेलियाको संघीय संसद्‍का कम्तीमा एकतिहाइ कर्मचारीहरू यौन दुर्व्यवहारको शिकार बन्ने गरेको खुलासा भएको छ ।

संसद्‍की पूर्वकर्मचारी ब्रिटेनी हिगिन्सले आफू मन्त्रालयभित्रै समकक्षीबाट बलात्कृत भएको बताएपछि उक्त रिपोर्ट सार्वजनिक भएको हो । गत वर्ष उनको आरोपसँगै तीव्र रुपमा अभियान नै फैलिएको थियो ।

'सेट द स्टान्डर्स' शिर्षकको उक्त रिपोर्ट अनुसार ५१ प्रतिशत कर्मचारीहरूले कुनै न कुनै प्रकारको धम्कीको अनुभव, साथै प्रयास वा वास्तविक रुपमा नै यौन दुर्व्यवहार भोगेका थिए ।

यस्तो रिपोर्ट आएपछि सांसद्‍सहित उच्च अधिकारीहरूले त्यस्ता गतिविधिको आलोचना गरेका छन् । प्रधानमन्त्री स्कट मोरिसनले उक्त खुलासाले आफूलाई अचम्भित तुल्याएको भन्दै यसलाई डरलाग्दो घटनाको रुपमा व्याख्या गरेका छन् ।

जवकि संसद्‍मा महिलामाथि हुने विभेद्का घटनालाई अनदेखा गरेको भन्दै यसअघि पनि प्रधानमन्त्री मोरिसनको आलोचना भएको थियो । मंगलबार संघीय संसद्‍मा पेस गरिएको उक्त रिपोर्टका लागि १ हजार ७ सय २३ जना व्यक्ति र ३३ संस्थासँग अन्तर्वार्ता लिइएको बताइएको छ ।

जस अनुसार ६३ प्रतिशत महिला सांसद्‍हरूले यौन उत्पिडनको अनुभव गरेको खुलासा भएको छ । जुन तथ्यांक कर्मचारीहरूको भन्दा पनि धेरै हो । महिलाहरूलाई कसैले अस्वभाविक रुपमा छुने, चुम्बन गरिदिने, पिठ्यूँमा पिट्ने, आवरणबारे टिप्पणी गर्ने गतिविधिलाई पुरुषहरूले सामान्य रुपमा सोचिदिँदा गलत गतिविधिका लागि प्रोत्साहित गर्ने केही महिला सांसद्‍हरूले प्रतिक्रिया दिएका छन् ।

पूर्वकर्मचारी हिगिन्सले भने उक्त रिपोर्टका लागि आफ्ना अनुभव र उत्पिडन शेयर गरिदिएकोमा उनीहरूप्रति सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । गत वर्ष अष्ट्रेलियाको संसद्‍बाट यौनजन्य भिडियो नै सार्वजनिक भएपछि त्यसले ठूलो मुद्दाको रुप लिएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×