भूसालले लिए केन्द्रीय सदस्यको शपथ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूसालले लिए केन्द्रीय सदस्यको शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।

एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

यस्तै, अध्यक्षमा पराजित भीमबहादुर रावल पनि केन्द्रीय सदस्यमा निर्वाचित भए । उनले ९०४ मत प्राप्त गरे तर शपथ लिएनन् ।

सचिवमा पराजित भीम आचार्यले १३९३ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए । सचिवमा आचार्यले ७८८ मत ल्याएका थिए । सचिवमा पराजित टंक कार्कीले केन्द्रीय सदस्यमा ९०५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्षको शपथ ग्रहणपछि ओलीले भने - हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।

'विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन,' उनले भने । तर, कार्यकर्ता पंक्तिले इमान्दारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे ।

साथै, पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । अध्यक्ष ओलीले मंगलबार महाधिवेशन समापन समारोहको क्रममा शपथ ग्रहणपछि यस्तो बताएका हुन् ।

उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताएका छन् । पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने उनको भनाइ थियो । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उनले बताए ।

महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उनले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिएका छन् ।

नेकपा एमालेको १०औं महाधिवेशन ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै चितवनको सौराहामा मंगलबार राति औपचारिक रुपमा सम्पन्न भएको छ । साथै, महाधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ।

प्रकाशित : मंसिर १४, २०७८ २०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×