कतार सरकारद्वारा ५० वटा भेन्टिलेटर सहयोग- समाचार - कान्तिपुर समाचार

कतार सरकारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फण्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो । काठमाडौंस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीलाई सोमबार भेटिन्लेटर हस्तान्तरण गरेका थिए ।

कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको पुर्‍याएको योगदानको सम्झना गर्दै नेपाललाई आवश्यक पर्दा साथ दिन कतार सदैव तयार रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीले कोरोना महामारीसँग जुध्न सुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यी भेन्टिलेटर अति आवश्यक देखिएका सरकारी अस्पतालहरूलाई उपलब्ध गराइने उनले बताए ।

कोरोना महामारी सुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड उडान, स्वास्थ्य सामग्री र कोरोना विरूद्धको खोप उपलब्ध गराएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

जो साढे ४ दशकदेखि भारी बोकिरहेछन्

भवानी भट्ट

कञ्चनपुर — पुरानो खैरो कोट । गलामा रातो गलबन्दी । शरीरका अन्य कपडा पनि पुराना र मैला छन् । ६० वर्षका नरवीर सार्की गड्डाचौकी नाकामा आफ्नो टोलीका अन्य साथीलाई पर्खिंदै गरेको भेटिए । यता साथीलाई कुर्दा उता भारतको उत्तराखण्डमा पर्ने हल्द्वानी जाने बस छुट्ने पिरलो थियो उनलाई । यो हतारो अहिलेको मात्रै होइन, साढे ४ दशकदेखि निरन्तर छ ।

बाजुराको गोत्रीका सार्की तिहार मनाउन घर आएका थिए । तिहारसंँगै गहुँ छर्ने काम पनि सकिएपछि फेरी काममा फर्किन लागेका हुन् । ‘१४/१५ वर्षको उमेरदेखि हल्द्वानी जान लागेको हुँ, अहिलेसम्म पनि यो क्रम टुटेको छैन,’ सार्कीले भने, ‘यत्रो जीवन बोजा (भारी) बोक्ने र रोडको काममै बित्यो ।’

साढे ४ दशक मजदुरी गरेर उनले धैरै ठूलो आर्थिक उन्नति केही गर्न सकेका छैनन् । दुई नाली जमिनमा मात (जग्गाधनीलाई पैसा दिएर कमाउने) हालेका छन् । घरको खर्च चलाएका छन् । परिवारलाई खाना र नाना पुर्‍याएका छन् । ‘घर बनाएँ, कपडाको टालो हालें, मात हालें, सबै यही कामबाटै पुगेको छ,’ उनले भने, ‘घरमा खान पुग्ने जमिन छ तर लाउन त भारतै जानुपर्छ ।’ सुरुमा हल्द्वानी पुगेपछि उनले भारी बोक्न थाले । कहिलेकाहीं ज्याला मजदुरी पनि गर्थे । ‘दिनमा ५/१० रुपैयाँ कमाइ हुन्थ्यो । त्यसैबाट बस्ने खानेदेखि सबै खर्च चलाउनुपर्थ्यो,’ उनले सम्झिए । अहिले सडक निर्माणमा मजदुरी गर्छन् । दिनमा साढे ५ सय देहाडी (दैनिक ज्याला) बुझ्छन् ।

गोत्रीकै ६० वर्षीय औस्या विष्टले पनि काम खोज्दै भारत पस्न थालेको ३ दशकभन्दा बढी भइसक्यो । उनी पनि हरेक वर्ष चाडपर्वका बेला घर आउने र खेतीपातीको काम सकेर फेरी काममै फर्कने गर्छन् । यस पटक तिहारमा घर आउन पाएनन् । तिहारपछि घर आएका उनी गहुँ छरेर फेरी पारि जान लागेका हुन् । ‘बचपनमै भारत जान लागेको अहिले पनि त्यही काम छ, त्यस्तै आउने जाने चलिरहेको छ,’ उनले भने, ‘जिन्दगी पुरै भारी बोक्नमै बित्यो, बोजो बोक्दा बोक्दै कपालका रौं झरिसके ।’ बुढेसकालले छोप्दा ठूलो भारी बोक्न नसक्ने भएका छन् । त्यही भएर अहिले सडक तथा घर निर्माणको काममा मजदुरी गर्छन् ।

धुपे सार्की र प्रेमबहादुर विष्ट पनि उनीहरूसँगै थिए । बिहीबार घरबाट हिँडेका उनीहरू शनिबार महेन्द्रनगर पुगेका हुन् । हल्द्वानीमै काम गर्ने १५/२० जनाको टोली गोत्रीबाट सँगै हिँडेको हो । उनीहरू सबै ५०–६० वर्ष उमेरका छन् । ‘अब त घरमा बस्न मन पनि लाग्दैन,’ धुपे सार्कीले भने, ‘यो अम्मल भइसक्यो ।’ उनका ५ छोरा–छोरी छन् । घरमा खान लाउन पुग्ने जमिन छ । तर छोराछोरीको पढाइ, लुगाफाटो र नुनतेलका लागि भने भारत पस्नुपर्ने बाध्यता छ । ‘खान त पुग्छ टालो के ले हाल्ने ?,’ उनले भने, ‘टालो हाल्नकै लागि भए पनि बोजो नबोकी नहुने ।’

उनीहरूजस्तै दसैंतिहार मनाउन घर आएका नेपाली कामदारहरू पुनः रोजगारीका लागि भारत फर्किन थालेका छन् । चाडपर्व र खेतीपातीको काम सकिएपछि उनीहरू काम खोज्दै भारत पस्न थालेका हुन् । चिसो बढ्दै छ । केही दिनमा उत्तर भारत पुरै शीतलहर र हिमपातले चिसिन्छ । यस्तो अवस्थामा समेत नेपाली कामदारहरू काम खोज्दै उत्तराखण्ड र हिमाञ्चलका पहाड छिचोल्दै छन् ।

प्रकाशित : मंसिर १४, २०७८ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×