एमाले महाधिवेशन : सुरु भयो मतगणना, २ घण्टामा परिणाम- समाचार - कान्तिपुर समाचार

एमाले महाधिवेशन : सुरु भयो मतगणना, २ घण्टामा परिणाम

कान्तिपुर संवाददाता

काठमाडौँ — सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएपछि केहीबेर अघिदेखि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भएको जानकारी दिए । 

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

अब एनआरएनले ५ हजार डलरमै मुद्दती खाता खोल्न पाउने, थपिए यी सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ । एनआरएनले अब नेपालका बैंकमा  न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवर्त्य मुद्रामा मुद्दती खाता खोल्न पाउने भएका छन् । यसअघि न्यूनतम १० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा मुद्दती खाता खोल्न पाउने व्यवस्था भएकोमा अब आधामा झारिएको हो । 

त्यस्तै मुद्दती निक्षेप खाताको न्यूनतम अवधि पनि घटाइएको छ । ‘यसअघिसम्म मुद्दती खाता कम्तीमा २ वर्षको हुनुपर्ने व्यवस्था गरिएको थियो, अब यसलाई १ वर्षमा झारिएको छ’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने । एनआरएनले बचत खाता पनि खोल्न पाउने छन् । अमेरिकी डलर, यूरो, पाउण्डस्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मुद्दती खाता खोल्न सक्ने छन् । मुद्दती खातामा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमअनुसार प्रदान हुनेछ ।

ब्याजदर निर्धारणका लागि बैंकहरु नै स्वतन्त्र छन् । विद्युतीय माध्यमबाटै एनआरएनको खाता खोल्न सकिने व्यवस्था गरिएको छ । एनआरएनले व्यक्तिगत मात्रै नभई उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको पनि खाता खोल्न सक्नेछन् । मुद्दती खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्नेगरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

एनआरएनको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जार भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी लिनुपर्नेछ । उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्वन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी समेत लिनुपर्नेछ ।


प्रकाशित : मंसिर १४, २०७८ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×