राजनीतिलाई 'मेवा' खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बन्यो : सिंह- समाचार - कान्तिपुर समाचार

राजनीतिलाई 'मेवा' खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बन्यो : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई 'मेवा' खाने बाटोको रुपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताएका छन् ।

‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहरुले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसीकन, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ ।’

कांग्रेस नेता लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए । ‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनसक्नु पर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उनले भने ।

उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे । ‘कांग्रेस ०४६ सालसम्म भ्यालुलेस पोलिटिक्समा थियो । ०४६ को जनआन्दोलनपछि कांग्रेसमा सत्ता र शक्तिको राजनीति सुरू भयो । त्यसयता पार्टीं र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन्,’ सिंहले आफ्नो अनुभव सुनाउँदै भने, ‘राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्छ ।’

नेपालमा राजनीतिक दलहरू संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको उनको भनाइ छ । ‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्‍याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामू पुर्‍याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भने ।

प्रकाशित : मंसिर १४, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि हालको ठाउँ के हुन्छ ? 

चार विकल्पबारे छलफल
प्रतीक्षा काफ्ले

कास्की — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो जनवरी १ देखि आन्तरिक र वैशाख १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले निर्माण कार्य ८७ प्रतिशत सम्पन्न भएको बताएका छन् । उनका अनुसार सुरुवातमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सिधा उडान गर्ने तयारी भइरहेको छ । 

यी सहरलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार फोर डी मोडलमा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए३२० र बोइङ ७५७ वा सो सरहका जहाज आउजाउ गर्न सक्ने आयोजनाले बताएको छ । फोर डी श्रेणीको भएकाले यसको रनवे लम्बाई २ हजार ५ सय मिटर छ ।

अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि हाल भइरहेको पोखरा विमानस्थलको भविष्य के हुन्छ ? भन्ने ठोस निर्णय भइसकेको छैन । हालको विमानस्थल खाली हुने भएपछि प्राधिकरण, गण्डकी प्रदेश सरकार, नेपाली सेना, पोखरा महानगरपालिका र निजी क्षेत्रले सो ठाउँको उपयोगबारे आ–आफ्नै योजना अघि सारेका छन् ।

पाइलट ट्रेनिङ सेन्टर बनाउने, निजी क्षेत्रले लिजमा लिएर नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको एकेडेमी संचालन गर्ने, नेपाल आर्मीले रेस्क्यू सेन्टर बनाउने या साहसिक खेलकुद उडान गर्ने । यी चार विकल्पबारे यतिबेला निजी तथा सरकारी तवरमा बहस चलिरहेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको चाहना भने हवाई क्षेत्रकै लागि उपयोग गर्ने छ ।

नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले निजी क्षेत्रबाट विभिन्न योजना बनाइएको भए पनि निचोड भने निकाल्न नसकिएको बताए । उनी भन्छन् ‘जग्गा खाली राख्नु हुँदैन भनेर पाइलट ट्रेनिङ सेन्टर बनाउने कुरा चलेको छ । हाल काठमाडौंमा भएको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको एकेडेमी बनाउने भन्ने चर्चा पनि छ, अर्कोतर्फ नेपाल आर्मीले पनि रेस्क्यू सेन्टर बनाउन खोजेको छ ।’

प्राधिकरणका अनुसार २०१४ देखि संचालनमा आएको यस विमानस्थलको जग्गा ११ सय ५६ रोपनी छ । ११ सय ४७ मिटर लामो र ४० मिटर चौडाइको धावनमार्ग छ । हालको पोखरा विमानस्थलमा दैनिक २५ सयको हाराहारीमा यात्रु ओहोरदोहोर गर्छन् भने दिनको ३० हवाई उडान हुन्छ ।

पोखराबाट काठमाडौ, भरतपुर, भैरहवा, जोमसोम, नेपालगञ्ज र सिमरा गरी नियमित ६ ठाउँको उडान हुन्छ । कोरोना महामारीपूर्व पोखरा–विराटनगर उडान भएपनि हाल रोकिएको छ । विराटनगर र जनकपुरको अब उडान गर्ने तयारी भइरहेको सुवेदीले बताए । प्राधिकरणका अनुसार बुद्ध, यती, तारा, सिम्रिक, गुण र समिट एयरलाइन्सले उडान गर्दै आएका छन् । कोभिड महामारीपछि विदेशीभन्दा आन्तरिक यात्रु बढी रहेको प्राधिकरणले जनाएको छ ।

पोखरा विमानस्थलबाट दिनमा २० वटा उडान हेलिकोप्टर र अल्ट्रालाइटकै हुने सुवेदीले बताए । गण्डकी प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले चालु विमानस्थल संचालनबारे छलफल भइरहेको भएपनि निर्णय भने नभएको बताए । ‘संघीय सरकारसँगै बसेर छलफल गर्नुपर्ने हुन्छ’ उनले भने, ‘माथिल्लो तहसम्म छलफल भइसकेको छैन । प्रदेशमै पनि ठोस छलफल भएको छैन् ।’

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजक भरत कोइरालाले चालु विमानस्थल प्रदेश सरकारको आफ्नो मातहतमा नभए पनि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको बताए । पर्यटकीय आकर्षण बनाउन खुला छाड्नुपर्ने माग आइरहँदा प्रदेश सरकारले सरोकारवालासँग छलफल चलाउने तयारी गरेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पुरानो विमानस्थललाई यथास्थितिमै राख्नुपर्ने बताए । ‘हामीलाई खुला चौर, पार्क चाहिन्छ’ उनले भने, ‘पोखरामा १० हजार अटाउने हल छैन । ठूला सभा सम्मेलन राख्ने ठाउँ बनाउनुपर्छ भन्ने हाम्रो मत छ ।’ उनले नेपालको मात्रै नभई एसियाकै नमुना पार्क बनाउन सकिने बताए । ‘पोखरामा बढी साहसिक खेलकुद छन्’ उनले थपे, ‘अन्तर्राष्ट्रिय उडानलाई असर नपुग्नेगरी खेलकुदका आन्तरिक उडान गर्नुपर्छ । तर, सुरक्षा निकायलाई दिनुहुँदैन ।’ उनले बजारभन्दा बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको तालिम केन्द्र बनाउन सकिने बताउँदै विमानस्थलको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×