हिउँमा बाटो खुट्याउन फलामे पोल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँमा बाटो खुट्याउन फलामे पोल

आनन्द गौतम

ताप्लेजुङ — सुरक्षित यात्राका लागि लेकमा पदमार्ग पहिल्याएर हिँड्नुपर्छ । तीन हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा बाटोहरू मंसिरदेखि चैत–वैशाखसम्म हिउँले पूरै छोपिन्छन् । यस्तो बेला स्थानीय गोठाला गोरेटो पहिल्याउन अलमलिन्छन्, कञ्चनजंघा आरोहणमा जानेहरूलाई झन सास्ती हुन्छ । 

फक्तालुङ गाउँपालिका–६ लेलेदेखि माथि उक्लेपछि सुरु हुने पदमार्ग कञ्चनजंघा आधार शिविरसम्मै हिउँले ढाकेको हुन्छ । धेरैपटक हिँडेका अनुभवीलाई पनि हिउँले ढाकेका बेला गोरेटो कता भनेर चिन्न हम्मे पर्छ । यतिबेला बाटो चिनाउने संकेत चिह्न चाहिन्छन् । हिँड्दा बाटो अलमलिनेहरू एक दिनमै पार लाग्ने बाटोमा दुई दिन पनि बिताउँछन् ।

ओलाङचुङगोला, याङमा, फले, घुन्सा, खम्बाछेन, पापुङ र याम्फुदिनका बासिन्दाले यस्तो समस्या झेलिरहन्छन् । ‘कहाँ जान हिँडेको कहाँ पुगिन्छ पुगिन्छ,’ ओलाङचुङगोलाका नुपु शेर्पाले भने, ‘यसबाट मुक्ति पाउन पहिला–पहिला रूखको बीचमा बोक्रा खुर्किएर संकेत बनायौं, त्यसपछि ढुंगाको गाह्रो उठायौं, अहिले त हिउँमा फलामको पोल गाड्न थालिएको छ ।’

स्थानीयको सहजताका लागि वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडले १ सय २० ठाउँमा पोल गाडेको छ । एक सय ठाउँमा बाटो देखाउने साइनबोर्ड राखेको कञ्चनजंघा व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बू बताउँछन् । पहिला गाडेको काठको पोल नमक्किएको ठाउँमा दोहोरो नपर्ने गरी रामदानदेखि पान्पेमासम्म ८० वटा र सेलेलेको बाटोमा मिर्गेन्लादेखि सिनेलाप्चेसम्म ४० वटा गाडिएको कञ्चनजंघा परिषद्ले जनाएको छ ।

कञ्चनजंघामा दुईवटा बेसक्याम्प छन् । पोल गाड्दासम्म र देखिने ठाउँमा टाढा–टाढा, घुमाउरो र झुक्किने बाटोमा नजिकमा गाडिन्छ । हिउँले पदमार्ग छोपिएका बेला अगाडिको पोल देखिने गरी गाडिएको हो । हिउँमा प्रस्ट देखिने भएकाले पोलमा पहेंलो, रातो र कालो रङ लगाएको छ । कोभिड–१९ का कारण सुनसान रहेको क्षेत्रमा केही दिनयता विदेशी पर्यटकसमेत हिँड्न थालेकाले अहिलेनै पोल गाडिएको जितेनले बताए ।

विदेशी पर्यटक तथा गाइडको सहजताका लागि यसअघि काठका पोल गाडेको घुन्साका नुपु शेर्पाले बताए । काठ एकाध वर्षबाहेक नथाम्ने भएपछि फलामे पोल प्रयोग गरिएको समृद्ध पहाडकी कार्यक्रम संयोजक चित्राकुमारी चङसु मेन्याङबोले बताइन् । पोल गाडेको ठाउँको उचाइ ५१ सय मिटरसम्म छ ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

नेतृत्व छान्ने महाधिवेशनमा वैचारिक बहस

कांग्रेसले आसन्न महाधिवेशनमा नीतिगत बहस चलाउने छैन तर उम्मेदवारी घोषणा गरेका नेताहरूले महाधिवेशन केन्द्रित वैचारिक अवधारणापत्र धमाधम ल्याइरहेका छन् 
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको मंसिर २४–२६ मा हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने भए पनि नेताहरूले वैचारिक बहस थालेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको अबको बाटो भन्दै रूपान्तरणका दस सूत्र ल्याएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले चितवन पुगेर ‘दलमा रूपान्तरण : देश रूपान्तरणको अनिवार्य सर्त’ विषयक ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरे । पहिलो पटक केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने प्रयासमा रहेका युवा नेताद्वय नैनसिंह महर र भूपेन्द्रजंग शाहीले पनि प्रस्तावपत्र र एजेन्डा प्रस्तुत गरेका छन् ।

कांग्रेसभित्र वैचारिक नेताको छवि बनाएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन वैचारिक बहसलाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्न खोजेका छन् । संविधान दिवसको दिन असोज ३ मा गृहजिल्ला झापामा उनले ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयक २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका थिए । अवधारणापत्रको एक प्रमुख बुँदा हो– ‘मेरो पुस्तालाई प्रस्ताव : वान टु थ्री फोर’ ।

उनले शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोड्नुपर्नेमा जोड दिँदै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसदको शपथ लिनुपर्ने प्रस्ताव गरेका छन् । शर्माले राजनीतिभन्दा पर रहेका तर देश निर्माणको विषयगत भिजन बोकेका व्यक्तिको क्षमताबाट राष्ट्र लाभान्वित हुन प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा निश्चित संख्यामा त्यसरी लिन सक्ने प्रबन्धतर्फ चिन्तन जरुरी रहेको उल्लेख गरेका छन् ।

पार्टी प्रवक्तासमेत रहेका शर्माले चितवनमा सार्वजनिक गरेको ४२ बुँदे अवधारणापत्रमा आधुनिक नेपालका लागि रूपान्तरित र आधुनिक कांग्रेसको मार्गचित्र कोरिएको छ । ‘राजनीतिभन्दा बाहिर हजारौं यस्ता युवा छन्, जो देशका लागि केही गर्न चाहन्छन्, तर हाम्रो राजनीतिप्रति तिनमा वितृष्णा छ,’ उनले भनेका छन् ।

शर्माले राजनीतिक दलभित्रका विकृति र कमजोरीलाई पनि केलाएका छन् । विचार समूहहरू विचारले कम, आग्रहले बढी परिचालित देखिएको उनको ठम्याइ छ । ‘दल या दलमा आबद्ध भ्रातृ तथा शुभेच्छुक संस्थाका आन्तरिक अधिवेशनहरू सहज अवतरणभन्दा चुनौतीपूर्ण बनेका देखिन्छन्,’ शर्माले भने । उनले युवा नेतृत्व विकासका लागि ‘किशोर केन्द्रीय सदस्य’ को अवधारणा प्रस्ताव गरेका छन् । पार्टीको नीति अधिवेशनमार्फत अनलाइन सदस्यता खुला गर्ने निर्णय गरे त्यसरी लाखौं युवा समेटिन सक्ने शर्माको अवधारणा छ ।

अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूका हकमा प्रवेश गरेको ९० दिनभित्र आन्तरिक प्रशिक्षण दिनुपर्ने उनको प्रस्ताव छ । उनले पार्टीको क्रियाशील सदस्यलाई क्रियाशील उद्यमी बन्न प्रेरित गर्नका लागि ‘तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि’ नीति लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आइतबार पत्रकार सम्मेलन गरी ‘कांग्रेसको अबको बाटो : रूपान्तरणका दस सूत्र’ सार्वजनिक गरे । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार बन्ने प्रयास गरिहेका पौडेलले २० पेज लामो पुस्तकमा आफ्नो उम्मेदवारीलाई कहीँकतै उल्लेख गरेका छैनन् । नेतृत्वमा पुगेपछि के गर्ने भन्नेमै केन्द्रित पुस्तकमा उनले संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याई समावेशी नेपाल साकार पार्ने, पार्टीको आन्तरिक लोकतन्त्र र एकता मजबुत बनाउने, विकृति, विसंगति र भ्रष्टाचार रोक्दै देशमा समृद्धि र सुशासन कायम गर्ने, कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट जनतालाई मुक्त गर्ने तथा कृषि क्रान्ति र पर्यटन बिस्तार गर्ने जनाएका छन् । आर्थिक विकासका ७ वटा आधार जलस्रोत, मानवीय स्रोत, कृषि, पर्यटन, प्रविधि, पूर्वाधार र वातावरण पनि उनले प्रस्तुत गरेका छन् ।

नेता महरले गृहजिल्ला डडेलधुराबाट मंगलबार ‘१४ औं महाधिवेशनमा १४ एजेन्डा’ प्रस्तुत गरे । उनले कांग्रेसको नीतिनिर्माण तहमा प्रवेश गर्नका लागि स्पष्ट नीति र दृष्टिकोण सार्वजनिक गरिएको बताए ।

युवा नेता शाहीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३० बुँदे ‘नेपाली कांग्रेस : रूपान्तरणको प्रस्ताव’ सार्वजनिक गरेका छन् । शाहीले कर्णाली प्रदेशको सभापति वा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमध्ये एक पदमा चुनाव लड्ने बताएका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×