पछिल्लो २४ घण्टामा २५९ जनामा कारोना संक्रमण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा २५९ जनामा कारोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ६०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेका छन् । तीमध्ये ६ हजार ५४१ होम आइसोलेशनमा र ४०३ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये १५९ आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी १० वर्ष मुनिका सात बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको निर्वाचन प्रक्रिया केही समय धकेलियो

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया केही समय पर धकेलिएको छ । राति ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भनिएपनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका विभिन्न समूहका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचन पर धकेलिएको हो । 

भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एक नेताले बताए ।

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रीटीका लागि सर्वसम्मत भएको छ ।

सदूपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।

निर्वाचन समितिले अन्तिम नामावाली प्रकाशन गरेपछि ती नामहरु इलोक्ट्रोनिक भोटिङ मेसिनमा 'एन्ट्री' गर्न दिइन्छ । राम-लक्षमण रिमालले बनाएको ईभीएमा ती नामावाली एन्ट्री गर्नलगायत अन्य प्रक्रिया पूरा गर्न करिब ४ घण्टा समय लाग्ने बताइएको छ ।

हालसम्म अन्तिम नामावली प्रकासन नहुँदा मतदान प्रक्रिया केही घण्टापछि मात्रै हुने बताइएको छ ।

१९ सदस्यीय पदाधिकारीमा १/१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुने भएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×