दक्षिण अफ्रिकीलाई नेपाल प्रवेशमा रोक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकीलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिका हुँदै आउने विदेशीलाई समेत कोरोना परीक्षण रिपोर्ट र औचित्यका आधारमा मात्रै भित्र्याइने  
 कूटनीतिक, सरकारी र आपत्कालीन काममा आउनेलाई भने छुट,  उच्च सतर्कता अपनाउन डब्लूएचओद्वारा सचेत
मातृका दाहाल, स्वरूप आचार्य

काठमाडौँ — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ । गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिलो पटक यो भेरिएन्ट पुष्टि भएको थियो ।

त्यसयता विभिन्न अफ्रिकी, युरोपेली र एसियाली मुलुकमा समेत यसका संक्रमित फेला परेपछि गृह मन्त्रालयले सतर्कता अपनाउन भन्दै दक्षिण अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘कूटनीतिक, सरकारी र आपत्कालीन कार्यका लागि आउनेबाहेक सबै अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउन सम्बन्धित सबै कार्यालयलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘निर्देशनमा दक्षिण अफ्रिका हुँदै आएका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षण रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन भनिएको छ ।’ गृहको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका कार्यालयलाई परिपत्र गरेको जनाएको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपालमा त्यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत पहिलो साताबाट अन्तर्राष्ट्र्रिय नाकामा स्वास्थ्य परीक्षण र आवागमन व्यवस्थापनको पहल थालेको थियो । चैत ११ बाट देशव्यापी लकडाउन नै घोषणा गर्दै केन्द्रमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन र जिल्ला तहमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय र निर्देशनबाट विदेशी आवागमन व्यवस्थापन मिलाइयो । त्यसपछिको डेढ वर्षजति सरकारले सीमा नाका सिल गर्दै ‘नियन्त्रित अवधारणा’ अन्तर्गत विदेशीलाई आवागमनको व्यवस्था मिलाएकोमा २०७८ असोज ५ मा मन्त्रिपरिषद् बैठकले बन्द सीमा नाका खोल्ने निर्णय गरेको थियो । त्यसपछि भने भारतीयले परिचयपत्र र तेस्रो देशका नागरिकले भिसाका आधारमा प्रवेश पाउँदै आएका थिए ।

गृहको पछिल्लो निर्देशनपछि भने अब दक्षिण अफ्रिकालाई ट्र्रान्जिट बनाएर आउने विदेशीका हकमा समेत कडाइ गरिने भएको छ । अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले मन्त्रालयको निर्देशनसँगै अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाका हुँदै संक्रमणको जोखिम देखिएका मुलुकबाट आउने विदेशीलाई प्रवेशमा कडाइ गरिएको बताए । यद्यपि कूटनीतिक, सरकारी र अत्यावश्यक कामका सिलसिलामा आउनेको हकमा भने तोकिएको जनस्वास्थ्य मापदण्डका आधारमा निर्णय लिइने उनले जानकारी दिए ।

‘कोरोना महामारीको नयाँ भेरिएन्ट देखिएका मुलुकबाट समेत विदेशी नागरिक नेपाल आउन सक्ने जोखिमलाई ध्यानमा राखेर सीमा नाकामा कडाइ गर्न मातहत संयन्त्रहरूलाई निर्देशन दिएका छौं,’ निर्देशक ढकालले कान्तिपुरसँग भने, ‘आउनैपर्ने अत्यावश्यक अवस्था भएमा त्यसलाई दृष्टिगत गरेर होटल क्वारेन्टिनमा बस्नुपर्ने, दुवै मात्रा खोप लगाएको प्रमाणपत्र र पीसीआर रिपोर्ट भएको अवस्थामा फिल्डमै स्थानीय प्रशासनको आदेशअनुसार निर्णय लिइनेछ ।’

नेपालमा दक्षिण अफ्रिकाबाट कूटनीतिक, सरकारी र पर्यटक भिसामा मासिक सरदर २ सयको हाराहारीमा आगमन हुने गरेको अध्यागमन विभागको तथ्यांकबाट देखिन्छ । विभागका अनुसार दक्षिण अफ्रिकाबाट सन् २०२० मा २ हजार ३ सय ६, सन् २०१९ मा २ हजार २ सय ६४, सन् २०१८ मा २ हजार ३ सय ९८ र सन् २०१७ मा २ हजार १ सय १ जना नेपाल आएको देखिन्छ ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबारको बैठकमा समेत ओमिक्रोनलाई नेपाल भित्रिन नदिनका लागि अपनाउनुपर्ने उपाय तथा नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे छलफल भएको छ । सीसीएमसीसीकी प्रवक्ता सुनीता नेपालका अनुसार समितिमा यसबारे छलफल भए पनि ठोस निर्णय भने भएन । ‘अहिले सीसीएमसीसीले आफैं केही निर्देशन दिन मिल्दैन । हामीले छलफल गरेर सिफारिस मात्रै गर्ने हो । छलफल भएको छ, केही निर्णय भएको जानकारी मैले प्राप्त गरेको छैन,’ उनले भनिन् ।

हाल दक्षिण अफ्रिका तथा त्यसका छिमेकी मुलुक हुँदै यात्रा गरेकाहरूमा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि हुन थालेपछि विश्वभर त्रास बढाएको छ । यस्ता संक्रमितहरू नेदरल्यान्ड्स, इटाली, बेल्जियम, बेलायत, अस्ट्रेलिया, अमेरिका र इजरायलमा फेला परिसकेका छन् । भारतको बैंग्लोरमा समेत दक्षिण अफ्रिकाबाट आएका २ जनामा संक्रमण देखिएपछि थप परीक्षण भइरहेको बताइएको छ । ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक रहेको अनुसन्धानकर्ताहरूको भनाइपछि विश्वका विभिन्न मुलुकले यसको नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरू लिन थालेका छन् ।

इजरायलले १४ दिनका लागि विदेशीलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ भने युरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाई उडान पूर्णरूपमा रोकेका छन् । केही मुलुकले अफ्रिकी मुलुक हुँदै यात्रा गर्नेहरूलाई अनिवार्य क्वारेन्टिन र परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

चिकित्सक भन्छन्, ‘आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आयो भन्दैमा आत्तिहाल्नु पर्दैन, आरडीटी पोजिटिभ आयो र पीसीआरमा पनि पोजिटिभ आयो भनेचाहिँ संक्रमण अझै बाँकी छ भन्ने हो ।’
मातृका दाहाल, स्वरूप आचार्य

काठमाडौँ — र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

अस्पताल भर्ना गरिनेमा ८१ वर्षीया आमा तथा ५० वर्ष आसपासका छोरा र बुहारी छन् । उनीहरू सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । नगरप्रमुख कृष्णहरि थापाका अनुसार चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो । ‘उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि थ्रोट स्वाब निकालेर पीसीआर परीक्षण गर्न पाटन अस्पताल पठाइएको छ,’ उनले भने ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार तीनै जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर थ्रोट स्वाब थप परीक्षण गर्नका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन ।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन् । ती व्यक्तिका अनुसार बेलायतबाट फर्किएपछि सो परिवारका सदस्यलाई केही समयसम्म बाहिर हिँडडुल गरेको देखिएको थिएन । ‘हामीले उहाँहरूको परिवारलाई त देखेनौं तर अपार्टमेन्टको रेखदेख गर्न बसेका दुई जना केटाहरू भने पसल आउने–जाने गर्थे,’ उनले भने, ‘उहाँहरूले कुकुर पनि पाल्नुभएको थियो । त्यो कुकुर डुलाउन पनि ती केटाहरूले नै लैजाने गर्थे ।’

पछिल्लो समय भने उक्त परिवारका सदस्यहरू आफैं पसल आउजाउ गर्ने गरेका थिए । ‘क्वारेन्टाइनको अवधि सकियो भनेर बाहिर निस्कन थाल्नुभएको थियो,’ उनले भने, ‘खै, अब देखियो भन्छन् । के हो कुरा ?’

आरडीटी परीक्षण पोजिटिभ देखिएसँगै प्रहरीले उक्त अपार्टमेन्टमा रहेका भवनहरूलाई सिल गरेको छ । त्यहाँ कुल ५ सय परिवारका १ हजार ७ सय ५० सदस्य रहेको जानकारी प्रहरी स्रोतले उपलब्ध गराएको छ । स्रोतका अनुसार हाल तीन जनाको पीसीआर परीक्षण रिपोर्ट नआएसम्मका लागि भनेर भवनहरूलाई सिल गरिएको हो । ‘अहिलेलाई २४ घण्टाका लागि सिल गरेका हौं,’ स्रोतले भन्यो, ‘भोलि उहाँहरूको पीसीआर रिपोर्ट के आउँछ अनि थप के गर्ने भन्ने निर्णय हुन्छ ।’

कोरोना भाइरसका बिरामीहरूको उपचारबारे जानकारी राख्ने एक सरकारी अस्पतालका चिकित्सकका अनुसार आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आयो भन्दैमा आत्तिहाल्नु भने पर्दैन । ‘आरडीटी पोजिटिभ आयो र पीसीआरमा पनि पोजिटिभ आयो भनेचाहिँ संक्रमण अझै बाँकी छ भन्ने हो,’ उनले भने, ‘पीसीआरमा निगेटिभ आयो भने संक्रमण भएर पनि निको भइसकेको पनि हुन सक्छ अथवा अन्य कुनै कारणले पोजिटिभ रिपोर्ट देखाएको पनि हुन सक्छ ।’ उनका अनुसार आरडीटीले ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेर्ने गर्छ । हाल नेपालमा प्रयोगमा ल्याइएको आरडीटी किटले आईजीएम र आईजीजी दुवैमा उस्तै प्रतिक्रिया देखाउँछ र पोजिटिभ रिपोर्ट दिन्छ ।

रगतमा आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ भने संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी बनाउन थाल्छ । सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । शरीरमा विभिन्न प्रकारका भाइरसविरुद्ध लड्नका लागि पहिले नै धेरै प्रकारका आईजीजी पनि हुने भएको हुँदा आरडीटी किटमा रहेको रसायनले त्यसमा प्रतिक्रिया देखाउने सम्भवना पनि रहन्छ ।

यस्तै अन्य विभिन्न प्राविधिक कारणले गर्दा पनि किटले दिने नतिजा तलमाथि हुने हुँदा विश्व स्वास्थ्य संगठनले यसलाई संक्रमण भए/नभएको निक्र्योल गर्ने अन्तिम विधिका रूपमा आत्मसात् गरेको छैन । यस्तै विश्वभर पनि किटबाट हुने परीक्षणको नतिजालाई लिएर यसको आलोचना भइरहेको छ ।

प्रकाशित : वैशाख १, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×