डा. बाँस्तोलालाई टेकुबाट हटाइँदै

कोरोना संक्रमितलाई बचाउन अहोरात्र खटिँदा उत्कृष्ट चिकित्सक घोषित बाँस्तोलालाई स्वास्थ्यमन्त्री विरोध खतिवडाद्वारा क्षयरोग अस्पतालमा सरुवा गर्ने तयारी

काठमाडौँ — ओमिक्रोन भेरियन्टले विश्व नै त्रसित बनाइरहेका बेला कोभिड–१९ महामारीको पहिलो लहरदेखि नै बिरामीको उपचारमा अहोरात्र खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलालाई स्वास्थ्य मन्त्रालयले अन्यत्र सरुवा गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले आइतबार नेपालसहित अन्य मुलुकलाई कोभिड–१९ को नयाँ भेरियन्टका सम्बन्धमा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

डा. बाँस्तोलालाई टेकुबाट हटाइँदै

तर, यही बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी डा. बाँस्तोलालाई भक्तपुरको क्षयरोग केन्द्रमा सरुवा गर्न लागेका हुन् । कोरोना पहिलो र दोस्रो लहरमा खटिएका अनुभवी चिकित्सकलाई अन्यत्र सरुवा गर्न लागेकोप्रति स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरूसमेत असन्तुष्ट छन् । मन्त्रालय स्रोतका अनुसार बाँस्तोलाको सरुवा पत्र तयार भइसकेको छ ।

अघिल्लो सरकारले कोरोना महामारीका बेला उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएका बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको पाँच महिनामै खतिवडाले सरुवा गरेका हुन् । बाँस्तोलालाई हटाएर निर्देशकको जिम्मेवारी डा. मनीषा रावललाई दिन लागिएको छ । उनको सरुवाको पत्र तयार भएको मन्त्रीको सचिवालयले समेत पुष्टि गरेको छ । ‘उहाँको सरुवा भएको हो । बाँस्तोलालाई सरुवा गर्दा आलोचना हुन्छ भनेर हामीले मन्त्रीलाई सल्लाह पनि दिएका थियांै तर रोकिएन,’ सचिवालयका एक सदस्यले भने । बाँस्तोलाले पनि आफ्नो सरुवाको हल्ला मिडियाबाट थाहा पाएको बताए । ‘सरुवा भएको भन्ने सुनेको हो तर अरू केही थाहा छैन,’ उनले भने ।

कोरोना संक्रमितको उपचार, नियन्त्रण र रोकथाम गर्न मात्रै योगदान नभई निर्देशक भएपछि अस्पतालको व्यवस्थापनसमेत सुधार गरेका छन् । उनी निर्देशक भएपछि अस्पतालको ओपीडी व्यवस्थित भएको छ । अस्पतालको कुनामा रहेको फार्मेसीलाई सबैले देख्ने ठाउँमा सारेर अस्पतालका बिरामीले बाहिर महँगोमा किन्नुपर्ने बाध्यता हटाएका छन् । अस्पताल परिसर र स्टोर सफाइ गरेर चिटिक्क पारिएको छ । अस्पताल परिसरमा थोत्रा सामान र गाडी थुप्रिएको थियो । ती सबै सामान लिलामी गरेका छन् । अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ ।

त्यस्तै, अक्सिजन सुविधा नभएका बेडमा अक्सिजन पोर्ट जडान गरिएको छ । उनी निर्देशक भएपछि गरिब र विपन्न नागरिकलाई प्रदान गरेको विवरण हरेक महिना सार्वजनिक गर्ने व्यवस्था मिलाएका छन् । यो व्यवस्थापछि पहुँचवाला बिरामीहरू नि:शुल्क सेवा लिन हच्किन थालेका छन् । त्यस्तै अस्पतालमा पूरा समय काम नगर्ने, हाजिर नहुने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नाम सूचना पाटीमै टाँस्ने व्यवस्था गरिएको छ । जसले गर्दा उनीहरू कार्यालय समय छलेर बाहिर जाने क्रम पनि केही हदसम्म रोकिएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?