अक्षय कुमारले बोलाएका थिए, म गइनँ : निम्सदाइ - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षय कुमारले बोलाएका थिए, म गइनँ : निम्सदाइ 

सुरज कुँवर

काठमाडौँ — विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल ७ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका म्याग्दीका निर्मल पुर्जा (निम्सदाइ)लाई बलिउड अभिनेता अक्षय कुमारले टिभी रियालिटी शोका लागि निम्तो दिएको तर आफू नगएको खुलासा गरेका छन् । 

१४ वटा हिमाल आरोहणका लागि बनाइएको 'प्रोजेक्ट पोसिबल' अभियान र गत वर्षको हिउँदमा भएको केटू हिमाल आरोहण सकिएपछि ३८ वर्षीय पुर्जालाई बलिउड अभिनेता अक्षय कुमारले सहासिक टिभी रियालिटी शोका लागि अफर गरेका थिए । तर, पुर्जाले उक्त प्रस्तावलाई स्वीकारेनन् ।

‘जंगलमा सुटिङ गर्ने साहसिक रियालिटी शोका लागि अक्षय कुमारले बोलाएका थिए तर म गइनँ,’ कान्तिपुरसँगको छुट्टै भेटमा पुर्जाले भने, ‘म अक्षय कुमारको फ्यान हुँ तर पारिश्रमिकमा चित्त बुझेन ।’

नेपाल, तिब्बत र पाकिस्तानका १४ वटा ८ हजार अग्ला हिमाल आरोहणमा विदेशी आरोहीले ८ वर्ष लगाएका थिए । यो रेकर्ड पुर्जाले ६ महिना ६ दिनमा तोड्दै विश्वका पर्वतारोही लगायतलाई चकित पारे । यसपछि उनले ३३ वर्षदेखि हिउँदयाममा आरोहण प्रयास भइरहेको तर सफलता हात लागि नसकेको विश्वकै दोस्रो अग्लो ज्यानमारा पाकिस्तानको केटू हिमाल गत वर्षको हिउँदमा १० नेपालीसहित आरोहण गरेर सफलता हात पारे ।

यी दुई फरक आरोहणपछि पुर्जा सबैभन्दा महँगा गाइडका रुपमा काम गरिरहेका छन् । उनी बार्गेनिङ गर्ने, जस्तोसुकै आरोहण दलसँग सम्झौता गरेर हिमाल चढाउँदैनन् ।

सोमबार विश्वभरका १ सय ९१ देशका २१ करोड नेटफिल्क्सका पेड–मेम्बरमाझ एकैसाथ ३१ वटा भाषामा प्रिमियर हुन लागेको उनीमाथि बनाइएको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री सार्वजनिक हुनुअघि पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई भेट्न सिंहदरबार पुगेका पुर्जाले अबको समय नेपालको पर्यटनमा खर्चिने बताए ।

‘मेरो डुकेन्ट्रीले नेपालको सिनेमादेखि पर्यटन क्षेत्रसम्म नयाँ आशा दिनेछ,’ उनले भने, ‘म चाँडै बेअर ग्रिल्सलाई ल्याउँदै छु । उनीसँग कुरा भइसकेको छ ।’ डिस्कभरी च्यानलमा जिउँदै किरा फट्यांग्रा खाँदै जंगल हिँड्ने बेलायती एडभेन्चरर बेअर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ शो विश्वभर प्रख्यात छ ।

नेपाल आइसकेका बेअरले सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तराखण्डको जंगलमा सँगै घुमाउँदै ‘म्यान भर्सेस वाइल्ड’ सुटिङ गरेका थिए ।


प्रकाशित : मंसिर १२, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

निजी वायुयान आकाशमा, ध्वजावाहक भुइँमा

ब्रान्ड–न्यु जहाज किन्ने निगमका विमान विमानस्थलमा घाममा सुतिरहेका छन् । तर, सेकेन्ड–ह्यान्ड विमान ल्याउने निजी वायुसेवा कम्पनी उसलाई उछिन्दै दिनरात उडेका उड्यै छन् 
सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट मनसुनी बादल छल्दै ११ हजार फिटमाथि उडेको बुद्ध एयरको अमेरिकी विच–क्राफ्ट विमान पोखरामा अवतरण गर्‍यो । लगत्तै उडान गर्दा काठमाडौंतर्फ सोझिएन । फेवातालमाथि ह्विस्की फोर–वान (डब्लु–४१) हवाई रुट समातेर पश्चिमतर्फ लाग्यो, दोस्रो गन्तव्य थियो- भैरहवा ।

बिहान ७ बजे काठमाडौंबाट उडेका क्याप्टेन शैलेश रावल र को–पाइलट योगेश राई पोखराबाट १८ यात्रु बोकेर भैरहवातर्फ लाग्दै थिए, भैरहवाका यात्रुलाई लिएर उनी फेरि पोखरा फर्किए । पोखराबाट फेवातालमाथि हुँदै जहाज फेरि पश्चिमतर्फ लाग्यो, अबको गन्तव्य थियो- नेपालगन्ज ।

नेपालगन्ज–पोखरा ओहोरदोहोरपछि उही जहाज अर्को फन्को लाउन फेरि भैहरवा पुग्यो । यसरी ६ घण्टामा ६ सय १० नटिकल माइल (११ सय २९ किलोमिटर) को हवाई रुट पार गरेर पुन्टे जहाज दिउँसो काठमाडौं फर्कियो । यसरी अहिले पोखरालाई केन्द्र बनाएर बुद्ध एअरले सुरु गरेको अन्तरप्रदेश उडानले नेपाली उड्डयनमा नयाँ आयाम थपिएको छ ।

दैनिक साढे ६ हजार हाराहारी आन्तरिक यात्रु उडाउँदै आएको बुद्ध एयरले संकटकै बीच आफ्नो नजर पोखरातर्फ सोझ्याएको छ । उसले गण्डकी प्रदेशका नौ जिल्लालाई तराईका विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा र नेपालगन्जसँग जोड्ने मात्र होइन, सीमापारिका भारतीय पर्यटकलाई सीधै पोखरा घुमाउने योजना अघि सारेको छ ।

त्यसो त २० को दशकमा नेपाल वायुसेवा निगमले पोखरलाई पश्चिमी ‘हब’ बनाएको थियो, निगमका डकोटा, एभ्रो र पछि ट्वीनअटरले पोखराबाट पश्चिम भैरहवातर्फ उडान भर्थे । यसका पूर्वउपमहाप्रबन्धक राजु केसी सम्झन्छन्, ‘सिद्धार्थ र पृथ्वी राजमार्ग निर्माण हुनुअघि पोखराका लागि लाहुरे मात्रै होइन, नुनदेखि कर्कटपाता ओसार्नेसम्मको जिम्मा निगम एक्लैको थियो ।’

राजमार्ग चलेपछि निगमका उडान कटौती हुँदै गए । २०४६ सालपछि निजी क्षेत्रका वायुसेवा कम्पनीको आगमन त भयो । तर, यात्रुको पहिलो रोजाइ निगम नै हुन्थ्यो । यही बेला एकै पटक एभरेस्ट, नेपाल एअरवेज र नेकोन एयर भित्रिएका थिए । व्यवस्थापकीय कमजोरीले यी तिनै कम्पनी छिट्टै टाट पल्टिए ।

०४६ ताका निगमसँग आन्तरिक उडानमा सक्रिय ११ ट्वीनअटर, ३ एभ्रो र एउटा पिलाटस पोर्टर गरी १५ जहाज थिए । निगमले ०६३ सालमा जारी गरेको श्वेतपत्रअनुसार, २०४३ देखि २०४९ सम्म संस्था प्रगतिको उच्चतम विन्दुमा पुगेको थियो ।

त्यसताका निगमका १५ विमानले देशभरका ४४ विमानस्थलमा यात्रु तथा कार्गो सेवा दिन्थे । त्यसपछि भएको राजनीतिक हस्तक्षेप, भ्रष्टचार, ढिलासुस्तीलगायत दर्जनौं कमजोरीले निगमको बेडा (फ्लिट) बाट जहाज घट्दै गए । अहिले निगम काठमाडौंबाहिर १० गन्तव्यमा (बाजुरा, जुम्ला, सिमकोट, ताल्चा, चौरजहारी, तुल्सीपुर, भोजपुर, फाप्लु, थामखर्क, ताप्लेजुङ) उडान गरिरहेको छ । ३७ वर्ष पुराना जम्मा दुई ट्वीनअटर र कमजोर व्यवस्थापनका कारण नियमित उडान असम्भवजस्तै छ, यी जहाज दिनमा ४ घण्टा पनि उड्दैनन् । तर, एउटा विमान औसतमा दैनिक ५ घण्टाभन्दा बढी उडाउँदै बुद्धका १५ जहाजले ३३ रुट जोडेको छ ।

६३ वर्षको व्यावसायिक जीवनमा आन्तरिक उडानका लागि निगमले हेलिकोप्टरदेखि चिनियाँ जहाजसम्म ४७ विमान खरिद गर्‍यो । तर, अहिले निगम दुईवटा बूढा ट्वीनअटरको भरमै आन्तरिक उडानमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ । निगमको दाँजोमा निजी क्षेत्रका ८ वायुसेवा कम्पनी ‘धेरै गन्तव्य’ र धेरै उडान गर्ने सूचीमा पुगिसके ।

निजी क्षेत्रबाट अग्रपंक्तिमा रहेको बुद्धले पोखराबाट आक्रामक शैलीमा बजार विस्तार गर्ने योजना बनाइरहँदा निगमको पोखरा कार्यालयमा ताला लगाएको देखियो । ‘२०७६ जेठपछि दुई वर्षमा काठमाडौं–पोखरा अनि पोखरा–जोमसोमका लागि व्यावसायिक उडान भएकै छैनन्,’ निगमका पोखरा क्षेत्रीय कार्यालयका प्रमुख बन्धुराज न्यौपाने भन्छन् । पोखराको केन्द्रमै आफ्नै ५ रोपनी जग्गा भए पनि निगमले मासिक २२ हजार भाडामा कार्यालय चलाइरहेको छ, जहाँ लकडाउनअघि करारसमेतमा गरी १० कर्मचारी थिए । अहिले दुई जना पोखरा र एक जना जोमसोममा छन् । जोमसोममा उडानै नभए पनि मासिक १५ हजार रुपैयाँमा कार्यालय चलिरहेको छ । मासिक लाखौं रुपैयाँ तलब तथा अन्य सुविधा खर्चिरहेको निगमका यी दुबै सेक्टरका कर्मचारी दुई वर्षदेखि कामविहीन छन् ।

यता, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार, तिहारलगत्तै बुद्धको बेडामा १६ औं विमान थपिँदै छ । एटीआर जहाज थप्न नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ । बुद्धले एटीआरमार्फत उक्त विमान करिब ५६ करोडमा खरिद गर्ने टुंगो लागिसकेको छ । यो जहाज थपिएपछि नेपालको आन्तरिक उडानको इतिहासमा सबैभन्दा धेरै विमान एकैसाथ उडाउने वायुसेवा कम्पनी हुनेछ- बुद्ध ।

निगमभन्दा ३९ वर्ष कान्छो बुद्ध संघीय शासन प्रणालीसँगै अन्तरप्रदेश जोड्ने व्यवसाय विस्तारको तयारी गरिरहेको छ । यतिबेला निगम भने आन्तरिक द्वन्द्वमा छ । ५१ दिनदेखि महाप्रबन्धक डिमप्रसाद पौडेललाई कार्यालय प्रवेशमा रोकेर कर्मचारीले आन्दोलन गरिरहेका छन् । असार १८ पछि कार्यालय जान नपाएका महाप्रबन्धक पौडेलले कहिले सिंहदरबारस्थित पर्यटन मन्त्रालयबाट, कहिले रेस्टुरेन्ट त कहिले घरैबाट निगम हाँकिरहेका छन् ।

उता, जाउलाखेलस्थित बुद्धको प्रधान कार्यालयमा बुधबार भेटिएका प्रबन्ध निर्देशक बस्नेत कोरोना संक्रमणको त्रास न्यून भएसँगै पोखरालाई काठमाडौंजस्तै दोस्रो ‘हब’ बनाउने तयारीमा जुटिरहेका थिए । ‘यो पेन्डामिक (महामारी) इन्डेमिक (अन्त्य) होस् मात्रै, हामी अन्तरप्रदेश उडान गरेर बजार पिट्नेछौं,’ स्थापनाको ५ वर्ष घाटामा चलेको बुद्धको दोस्रो पुस्ताका सञ्चालक बस्नेतले भने, ‘गण्डकी प्रदेशको राजधानी पोखरा ११ जिल्लाको केन्द्रमा पर्छ । ती जिल्लाका बासिन्दाको काठमाडौं–पोखरा ओहोरदोर त छँदै छ । यीबाहेक पोखरालाई क्रस–सेक्टर (अन्तरप्रदेश) उडानबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगरसँग जोड्ने उडान गर्दै छौं ।’

पोखरालाई ‘हब’ बनाउनुको बुद्धको उद्देश्य हो- गण्डकी प्रदेशका स्थानीयलाई काठमाडौं नआई सीधै भारतीय सहरमा सस्तो भाडादरमा ल्याउनु/पुर्‍याउनु । ‘एटीआरमा पाँच हजारमा पोखराबाट भैरहवा वा नेपालगन्ज ओर्लेर त्यहाँबाट लखनउ र गोरखपुर हुँदै दिल्लीसम्म जान सकिने रहेछ,’ बस्नेत भन्छन्, ‘अबको हाम्रो लक्ष्य नेपालको हवाई यातायातलाई सबैको पहुँचमा पुर्‍याएर पुनः परिभाषित गर्नु हो ।’

पोखराबाट हुने अन्तरप्रदेश उडानको योजना छ- विदेशी पर्यटकलाई बर्दियादेखि सुदूरपश्चिमको शुक्लाफाँटासम्म घुमाउनु, भारतीय गर्मी सहरबाट त्यहाँका नागरिकलाई ठण्डी सहर पोखरा डुलाउनु । बुद्धलाई पछिल्लो पटक प्राधिकरणले काठमाडौंबाहिरका ६ विमानस्थलमा ६ विमान नाइट–स्टप गराउने सर्तमा जहाज थप्ने अनुमति दिएको थियो । यीमध्ये उसले पहिलो चरणमा जनकपुर र विराटनगरमा दुई जहाज नाइट–स्टप गराउँदै छ । बस्नेतका अनुसार, जनकपुरमा रहने जहाजले अबको केही समयपछि अयोध्यामा उडान गर्नेछ ।

‘त्यता घुम्न गइरहने सियारामहरू भन्छन्- अयोध्या हिन्दु पर्यटकको इपिसेन्टर हो । अर्थात् जुन उद्देश्यले पर्यटकहरू अयोध्या पुग्छन्, त्यही उद्देश्यले जनकपुरधाम पनि आउँछन्,’ बस्नेत भन्छन्, ‘जनकपुर आउने भारतीयलाई ‘चलो पोखरा’ भन्दै क्रस सेक्टर उडानबाट पोखरा पुर्‍याउने काम पनि बुद्धले नै गर्नेछ ।’

बुद्ध ‘न्यून–नर्मल’ लाई कुरेर मात्रै बसेको छ । निगमले आन्तरिक उडानमा वार्षिक ३० देखि ५० करोडसम्म व्यापार गर्छ । त्यो दाँजोमा वार्षिक साढे ७ अर्बको कारोबार गरिरहेको बुद्धको अबका वर्षहरूमा ३० लाख सिट सृजना गर्ने लक्ष्य छ । यो भनेको १० अर्ब रुपैयाँभन्दा बढीको व्यापार लक्ष्य हो । यसका लागि उसले चालक दललगायत जनशक्ति उत्पादन र अन्य तयारी लगभग पूरा गरिसकेको छ ।

बुद्ध एयरको सफलताको स्रोत के हो ? बस्नेतको जवाफ छ, ‘बुद्ध एयर बाइ–द–बुक्स (नियमअनुसार) सञ्चालन भएकैले सफलता मिलेको हो । हामी आर्थिक कारोबार, कर, मानव संसाधन सबै नियमसंगत र पारदर्शी ढंगले चलाउँछौं ।’

यता १० अर्ब सञ्चित घाटा र ४७ अर्ब दीर्घकालीन ऋण बोकिरहेको निगमका अधिकारी गत माघयता नियमित अर्थ मन्त्रालय धाइरहेका छन् । तत्काल वित्तीय संस्थाहरूको साँवा तथा ब्याज तिरिदिन उनीहरूले सरकारी ढुकुटीबाट ६ अर्ब रुपैयाँ मागिरहेका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ससर्त सहयोग गर्ने जवाफ दिएका थिए । तर, सरकार बदलिएपछि त्यो योजना अलपत्र छ ।

आन्तरिक उडानमा बुद्धको बजार हिस्सा ५१ प्रतिशत र यतीको करिब २५ प्रतिशत पुग्दा निगमको २ प्रतिशत मात्रै छ । निगम जोगाउन सरकारले आर्थिक सहायता दिएर मात्रै समाधान हुने देखिँदैन, सरकारले गठन गरेका यसअघिका आधा दर्जन आयोगका प्रतिवेदनको सार छ, ‘राष्ट्रिय गौरव बोकेको ध्वजावाहक संस्थामा आमूल परिवर्तन नगरेसम्म सरकारले जति लगानी खन्याए पनि उँभो लाग्नेवाला छैन ।’

ब्रान्ड–न्यु जहाज किन्ने निगमका विमान प्रायः विमानस्थलमा घाममा सुतिरहेका देखिन्छन् । तर, सेकेन्ड–ह्यान्ड विमान ल्याउने निजी वायुसेवा कम्पनी उसलाई उछिन्दै दिनरात उडेका उड्यै छन् ।

प्रकाशित : भाद्र ५, २०७८ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×