अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ओमिक्रोनको त्रास

अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक

अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन
मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशका सँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलाका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले स्पष्ट पारे ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् । इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ : शेखर

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले डडेलधुरामा पुनः अधिवेशन हुनुपर्ने बताएका छन् । उनले आइतबार केन्द्रीय कार्यालयमा धर्नारत डडेलधुरा जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ताको धर्नामा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले विधिविधान विपरीत राज्य सत्ताको दुरुपयोग गरी गरिएको अधिवेशन मान्य नहुने बताएका हुन् ।

कोइरालाले निर्वाचन समितिले डडेलधुरामा भएको अवैधानिक अधिवेशनलाई बदर गरी वैधानिक अधिवेशनको मिति तोक्नुपर्ने माग गरेका छन् । ‘जिल्लामा सभापति र जिल्ला कार्यसमितिलाई बाहिर राखेर अधिवेशन गर्ने कुराको कल्पना समेत गर्न सकिदैन । विधानले त्यस्तो परिकल्पना नै गरेको छैन । तर, डडेलधुरामा अहिले त्यही भएको छ,’ नेता कोइरालाले भनेका थिए, ‘यस्तो अवैधानिक अधिवेशन देख्दा देख्दै निर्वाचन समिति अन्धो भएर बस्न मिल्दैन । तत्काल लोकतान्त्रिक मूल्य, मान्यता र कांग्रेसको विधान अनुरुप अधिवेशन गर्नका लागि मिति तय गरिनुपर्छ ।’

उनले आइतबारै निर्वाचन समितिका पदाधिकारीहरूलाई समेत भेटेर डडेलधुरासहित विभिन्न जिल्लामा देखिएका समस्या समाधानका लागि ध्यान दिन आग्रह गरेका छन् । डडेलधुरामा जिल्ला सभापति मल्लसहितको असहमतिका बीच सभापति शेरबहादुर देउवा पक्षले जिल्ला अधिवेशन गरिसकेको छ । त्यही अधिवेशनले देउवा र उनकी पत्नी आरजु देउवा राणासहितलाई महाधिवेशन प्रतिनिधि समेत चुनेको छ ।

तर, जिल्ला सभापति मल्ल पक्ष भने ११ दिनदेखि क्रियाशील सदस्यताको विवाद समाधान गरी पुनः अधिवेशन हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा रिले अनसन बसिरहेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×