प्रधानन्यायाधीश जबरालाई अदालतबाट बहिर्गमन गर्नुपर्ने मागसहित बारका पदाधिकारीले नेपाललाई बुझाए ध्यानाकर्षण पत्र- समाचार - कान्तिपुर समाचार

प्रधानन्यायाधीश जबरालाई अदालतबाट बहिर्गमन गर्नुपर्ने मागसहित बारका पदाधिकारीले नेपाललाई बुझाए ध्यानाकर्षण पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बहिर्गमन हुनुपर्ने विभिन्न १७ बुँदै कारणसहितको ध्यानाकर्षण पत्र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको छ । 

संघीय संसद् सचिवालयमा बारले पूर्व प्रधानमन्त्री तथा नेकपा एसका संसदीय दलका नेता नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, रमण श्रेष्ठसहित सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले अध्यक्ष नेपाल र महासचिव वेदुराम भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै जबरलाई महाअभियोग लगाउन समेत आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

जबराको बहिर्गमन हुनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले कात्तिक दोस्रो सातादेखि इजलास बहिष्कार गर्दै आइरहेका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

डब्लूटीओ मन्त्रीस्तरीय बैठक स्थगित, नेपालले व्यापार सहुलियतको एजेन्डा तत्काल उठाउन पाएन 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वीजरल्याण्डको जेनेभामा नोभेम्बर ३० देखि डिसेम्बर ३ तारिखसम्म आयोजना गर्ने गरी तय भएको विश्व व्यापार संगठन (डब्लूटीओ) १२ औं बैठक (एमसी १२) अनिश्चितकालका लागि रोकिएको छ । गत शुक्रबार साँझ बसेको डब्लूटीओ महासभाले बैठक सार्ने निर्णय गरेको हो ।

कोभिड– १९ महामारीको फैलँदो संक्रमणका कारण बैठक सार्नुपरेको डब्लूटीओले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘महामारीको जोखिम बढ्न थालेपछि धेरै देशले आवागमनमा प्रतिबन्ध लगाइरहेका छन् । यस्तो बेला सबै सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति असम्भव देखिएकाले बैठक सारिएको हो,’ डब्लूटीओले भनेको छ । कजाकस्तानको सहआयोजना रहेको यो बैठक २०२० जुनमा आयोजना हुनेगरी मिति तय रहे पनि महामारीका कारण पटक–पटक सर्दै आएको छ ।

एमसी १२ मा भाग लिनका लागि नेपाली टोली गत शुक्रबार नै स्वीजरल्याण्डका लागि प्रस्थान गरिसकेको छ । डब्लूटीओ सदस्य राष्ट्रका वाणिज्य मन्त्रीस्तरीय यो बैठकमा नेपालले मन्त्रीबिनै प्रतिनिधि पठाएको थियो । नेपालको प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव गोबिन्दबहादुर कार्की र उपसचिव अमृत लम्साल स्वीजरल्यान्ड गएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

एमसी १२ बैठकमा नेपालले मुख्यगरी विकासोन्मुखबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा गुमाउने व्यापार सम्बन्धी सुविधाको निरन्तरताका लागि एजेन्डा पेश गर्ने तयारी गरेको थियो । त्यस्तै महामारीपछि व्यापार क्षेत्रमा भोगेका समस्या उठाउने नेपालको तयारी थियो । पछिल्ला दिनमा फैलिँदो क्रममा रहेको कोभिड १९ महामारीको नयाँ भेरियन्टलाई चुनौतिका रुपमा हेरिएको छ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नयाँ चुनौतिका रुपमा रहेको चेतावनी दिएसँगै धेरैजसो देशहरुमा स्वास्थ्य सुरक्षा सतर्कता कडा पार्न थालिएको छ ।


प्रकाशित : मंसिर १२, २०७८ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×