१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छ : थापा

काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रजातन्त्र, वर्तमान संविधान र व्यवस्थाको आधारभूत मूल्यमान्यताबाट बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्न सक्नुपर्ने बताएका छन् ।

एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छ : थापा

‘चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, अब देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अगाडि आउँछ, त्यो शक्तिको रुपमा आउँछ,’ काठमाडौंको १४ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै आइतबार नेता थापाले भने, ‘एमालेसँग जुध्नु कांग्रेसको कर्तव्य नै हो, हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएको जस्तै, बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्छ । नचाहिने कुरा गर्‍यो भने हप्काउने तागत राख्नुपर्छ । तथ्यहीन कुरा गर्‍यो भने तथ्यका आधारमा बोलेर कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’

उनले कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनबाट बरालिएको एमालेलाई ठीक गर्न सक्ने नेतृत्व चुन्नुपर्ने बताए । ‘कांग्रेसको शत्रु कोही पनि छैन । एमाले पनि हाम्रो शत्रु होइन । तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । चितवनबाट एमाले बरालिएको छ । त्यो बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याउने तागत कांग्रेसले आफ्नो अधिवेशनबाट लिएर आउनुपर्छ,’ थापाले भने ।

उनले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरे । ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन । त्यहाँ बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर उठेको मान्छे जम्मा एक जना हो–भीम रावल,’ थापाले अघि भने, ‘भीम रावलले झन्डै कुटाई खाएर अहिले उनलाई हाम्रो प्रहरीले सुरक्षा दिइरहेको छ । विधिवत् रुपमा नेकपा एमालेबाट हिजोदेखि जनवाद सकियो । त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ ।’

उनले एमालेले महाधिवेशनबाट लिएको राष्ट्रिय राजनीतिको कार्यदिशा, नीति र योजनाहरूलाई कांग्रेसले नजिकबाट हेर्नुपर्ने जरुरी रहेको बताए । ‘तपाईंलाई लाग्न सक्छ, एमालेले जे गरोस् हामीलाई के चासो ? हामी नेकपा एमालेको कार्यकर्ता होइन । तर यो चासोको विषय हो । हाम्रो अधिवेशन उनीहरूका लागि चासोको विषय हो, उनीहरूको अधिवेशन हाम्रो लागि चासोको विषय हो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले कांग्रेसको सहयात्री हो । संसदीय राजनीतिमा प्रतिस्पर्धी हो । चितवनबाट फर्किंदै गरेको एमालेले केही खतराको संकेत गरेको छ ।’

उनले कांग्रेसले चितवनबाट फर्किँदै गरेको एमालेसँग चुनाव अघि नै भिड्न सक्ने ताकत जम्मा गर्नुपर्ने बताए । ‘चितवनबाट फर्किएको एमालेसँग चुनावमा होइन, त्योभन्दा अगाडि नै जुध्न सक्नुपर्ने मैले देखिरहेको छु । यो प्रजातन्त्र, यो संविधान र यो व्यवस्था जोगाउन जुध्नुपर्ने छ । त्यसैका लागि कांग्रेसले सिंगो पार्टीलाई जुरुक्क उचाल्न सक्ने नेतृत्व यो महाधिवेशनले ल्याउन सकेन भने त्यसको मूल्य कांग्रेसले मात्रै होइन, प्रजातन्त्रले, संविधानले, यो व्यवस्थाले र सबैले चुकाउनुपर्नेछ,’ नेता थापाले भने ।

थापाले एमाले अध्यक्ष केपी ओलीले कम्बोडियोको मोडेल नेपालमा लागू गर्ने बाटो अवलम्बन गरेको बताए ।

‘केपी ओली हिजो जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो, म पटक–पटक भनिरहन्थे, प्रधानमन्त्री ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन् सेन् हो । हुन् सेन् २० औँ वर्षदेखि प्रधानमन्त्री छन्,’ थापाले अघि भने, ‘कम्बोडियाका प्रधानमन्त्रीले चुनावको मुखमा प्रतिपक्षी दलको नेतालाई राजद्रोहको मुद्दा लगाए । दलको नेता जेल परे । तर पनि दलले चुनावमा भाग लिन्छु भन्दा प्रधानमन्त्रीले दललाई प्रतिबन्ध लगाइदिए । चुनावमा २५ दलले भाग लिए । तर, हुन् सेन्‌को पार्टीले १२५ सीटमध्ये सबै सिट जित्यो । कम्बोडियामा प्रेस छ, तर हुसेनका विरुद्धमा लेख्ने प्रेस भीम रावल लखेटिएजस्तै लखेटिन्छ । त्यहाँ अदालत छ, तर हुन्‌ सेन्‌का विरुद्ध निर्णय गर्ने न्यायाधीशले त्यही दिनदेखि जागिर छाडेर जानुपर्छ । कम्बोडियोको त्यो मोडेल प्रधानमन्त्री ओलीले हिजो नेपालमा लागू गर्न खोज्नुभयो । संसदले अवरोध गर्‍यो, संसदलाई उहाँले भाँचिदिनुभयो । अदालतले प्रश्न उठायो, अदालतलाई नङ्ग्याउने काम गर्नुभयो । अझैपनि उहाँको त्यो प्रयास कायम छ ।’

प्रकाशित : मंसिर १२, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?