सौराहा, चितवन — एमालेको १० औं महाधिवेशनले सौराहाको पर्यटन क्षेत्रमा तरंग ल्याएको छ । नारायणगढमा भएको उद्घाटन कार्यक्रम सकिए लगत्तै २० किलोमिटर पर रहेको बन्दसत्र स्थल पुग्न शुक्रबार साँझ प्रतिनिधिहरुलाई हम्मेहम्मे पर्यो । भीडका कारण राजमार्गमा लागेको जामले घन्टौं लगाएर प्रतिनिधिहरु मध्यराततिर सौराहा पुगे ।
‘तर होटलमा राम्रो सत्कार पाइयो । हिजो मात्रै हैन सौराहा बस्ने भनेर अस्ति पनि रातमा साथीहरु आएका रहेछन् । रात परे पनि नरिसाएरै सेवा दिने होटल सञ्चालकहरु रहेछन्,’ झापाबाट महाधिवेशन प्रतिनिधि रहेकी विद्यार्थी नेता अनिता कन्दङ्वाले भनिन् । झन्डै २२ सय प्रतिनिधि र त्योभन्दा धेरै संख्यामा आएका पार्टीका समर्थक शुभेच्छुकका कारण सौराहा अहिले भरीभराउ छ ।
सौराहामा अहिले एमालेको महाधिवेशनसँग सम्बन्धित बाहेकका व्यक्तिहरु अत्यन्तै न्यून मात्रामा आएको व्यवसायीहरु बताउँछन् । सौराहाका हरेक होटल भरिभराउ छन् । यहाँका सवा सय होटलहरुमा झन्डै साढे ६ हजार बेड छन् । ती कुनै खाली नरहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए । महाधिवेशनमा आएकाहरु घुमघाम र खानपानमा पनि रमाइरहेका भेटिन्छन् ।
सौराहामा वन्यजन्तु अवलोकनका लागि चितवन निकुञ्ज घुम्न आउने पर्यटकहरु बास बस्ने ठाउँ हो । कोरोना संक्रमण फैलिएपछि पर्यटक नआउँदा दुई वर्षयता सौराहा सुनसान बनेको थियो । ‘कोरोनापछि सौराहाका होटलहरु भरिभराउ भएको यही बेला हो,’ क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले भने । व्यवसायीहरु होटलको कोठा भरिभराउ भएपनि अन्य क्षेत्रको कारोबार त्यो अनुरुपको नभएको बताउँछन् ।
‘यो राजनैतिक कार्यक्रम हो । मुख्य दलकै महाधिवेशनमा अन्य खानपान त्यो विधि छरपस्ट नहुने भएको हुँदा रुम भरिभराउ भएपनि रेष्टुरेन्टको कारोबार त्यो अनुरुपको छैन । तर समग्रमा अवस्था उत्साहजनक नै छ,’ खनालले भने । बन्दसत्रका कारण महाधिवेशनमा आएकाहरु खुलेर घुमघाममा निस्केका छैनन् । ‘हात्ती सफारी र जीप सफारी चलेको छ । रुम बुक भएको तुलानामा सफारीमा चाप भने कमै छ,’ हात्ती सफारी सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी संघ लिमिटेडका अध्यक्ष ऋषि तिवारीले भने ।
बन्दसत्र स्थल होटल सेभेन स्टार बाहिर बनेको डोमदेखि अन्य होटल र सडकसम्म मान्छे नै मान्छे भरिएका देखिन्छन् । साँझपख सूर्यास्तको रौनक नियाल्दै खानपान गर्न पाइने राप्ती किनारको पबका कुर्सी पनि खाली हुन पाएका छैनन् । प्रतिनिधिहरु मात्रै हैन प्रतिनिधि र अन्य नेताका साथ लागेर आएका समर्थकहरुको ओहोरदोहर चलिरहेको छ । सौराहा क्षेत्रमा ट्राफिक जाम हुन नदिन प्रहरी खटेका छन् ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका भगवान थापाका अनुसार सौाराहामा ४० जना ट्राफिक प्रहरी यातायात व्यवस्थापनका लागि खटेका छन् । यति नै संख्याका प्रहरीले अरु बेला पूरा चितवन धान्ने गर्दथे । जिल्लामा ट्राफिक प्रहरीले अपुग हुने भएपछि बाहिरी जिल्लाबाट ल्याइएको छ । कोरोनाले लामो समय ठप्प भएको व्यवसायमा यो जमघटले धार लगाउने काम गरेको व्यवसायी बताउँछन् ।
‘कोरोनाका कारण समग्र सौराहामा होटलका पकाउने भाँडाकुँडामा खिया पो लाग्ने हो कि, रुममा कमिला धमिरा सल्कने पो हुन् कि भन्ने अवस्था थियो । तर, अधिवेशनको यो माहौलले सवैलाई भाँडा र कोठा सफा गर्ने अवसर दियो,’ होटल मोनालिसाका सञ्चालक केशव खनालले भने । सौराहाका हकमा पहिलो पटक ठूलो आयोजना सम्पन्न गर्न लागेका कारण केही समस्या पनि आएको बताए ।
‘सौराहाका होटलहरुको प्रकृति अलि फरक खालको हो । यहाँ जंगल घुम्न आउने पर्यटक बास बस्ने गर्दछन् । त्यही अनुसार यहाँका होटलले पाहुनालाई सेवा दिइरहेका हुन्छन् । यो अलि भिन्न माहौलको कार्यक्रम भयो । एकै पटक धेरैलाई सेवा दिँदा सन्तुष्ट पार्न नसक्ने पनि हुन सक्छ,’ खनालले भने । दोलखाबाट अधिवेशनको माहोल हेर्न आएका हिरा ठोक्कर सौराहा आएपछि सफारी गर्न सबै इच्छुक हुने बताए ।
‘तर जीप सफारी जंगलैजंगल लगे धेरै जनावरहरु देख्न पाइन्थ्यो होला । गाउँ पनि हुँदै जाँदो रहेछ,’ ठोक्करले भने । मकवानपुरबाट आएका चिरञ्जीवी पौडेलले सौराहाको सत्कारमा गुनासो गर्नुपर्ने अवस्था नरहेको बताए । होटल पार्क सफारीका सञ्चालक महेश खनालले एकै पटक ठूलो संख्यामा मान्छे आउँदा पनि व्यवस्थापन गर्न सकेको बताए । ‘को आउने हो, कहाँ राख्ने हो भन्ने पहिल्यै तय भएको हुँदा सजिलो भयो,’ खनालले भने ।
यातायात व्यवस्थापन अलि असहज जस्तो देखिए पनि यो माहोलले सौराहाका पर्यटन उकासिने देखेर व्यवसायीलाई उत्साहित बनाएको उनले बताए । ‘भीडभाड छ । चहलपहल उल्कै छ । जंगल घुम्न मात्रै हैन खान रमाउन र हात्ती गैंडाका मूर्ति अगाडि बसेर फोटो पनि खिच्न भ्याएकै छन् । तर पनि सौराहाका त्यो विधि हो हल्ला छैन । फोहर पनि गरेका छैनन्,’ सौराहा गैंडाचोक अगाडि प्राभिजनल पसल राखेका पूर्ण रिजालले भने ।
हात्ती चोकमा भेटिएका पार्टीका स्वयंसेवक देव पाठकले समस्या पर्यो, अफ्ठ्यारो पर्यो भन्ने ठूलो गुनासो र चर्चा परिचर्चा नसुनेको बताए । एमाले केन्द्रीय सदस्य गोकुल घर्तीले पनि असन्तुष्टि खासै नआएको प्रतिक्रिया दिए । सौराहामा प्रतिनिधिहरुका लागि खान र बस्न महाधिवेशन आयोजकहरुका तर्फबाट होटल संघमार्फत झन्डै दुई करोडको सम्झौता भएको थियो । यो बेला अन्य कारोबार पाँच करोड रुपैयाँभन्दा धेरै हुने क्षेत्रीय होटल संघ सौारहाका अध्यक्ष दिपक भट्टराईले बताए ।
प्रकाशित : मंसिर १२, २०७८ १३:४०