कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
एमाले महाधिवेशन

लोकतान्त्रिक अभ्यास कुण्ठित !

गंगा बीसी

सौराहा, चितवन — एमाले महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्रिक अभ्यास कुण्ठित हुने भएको छ । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने एमालेले महाधिवेशनमा आवश्यकताभन्दा बढी पद सिर्जना गरी भागबन्डा मिलाउन खोजेको छ । यस्तो भयो भने पदको भागबन्डामा नपर्ने नेताहरूको खुला प्रतिस्पर्धा गर्न पाउने अधिकार कुण्ठित हुनेछ ।

लोकतान्त्रिक अभ्यास कुण्ठित !

सर्वसम्मतिका नाममा हुने नेतृत्व चयनले खुला प्रतिस्पर्धाबाट आउने नयाँ सक्षम व्यक्तिलाई रोक्नेछ । कुनै पनि पार्टीमा खुला प्रतिस्पर्धा नहुनु भनेको नयाँ पुस्तालाई नेतृत्वमा आउन ब्रेक लगाउनु भएको राजनीतिक विश्लेषकले बताएका छन् । सौराहामा जारी एमालेको महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयनमा सर्वसम्मत गर्ने कसरत गर्दै खुला प्रतिस्पर्धा गर्न चाहने नेतामाथि दबाब दिइएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा नेतृत्व चयनमा प्रतिस्पर्धा गरी ‘काँचो व्यवहार’ नगर्न चेतावनी दिए । उनले पार्टीभित्र बढी महत्त्वाकांक्षा राखेर अस्वस्थ प्रतिस्पर्धा नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

‘आफ्नो महत्त्वाकांक्षाका कारणले अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न, पार्टीकै प्रभाव, प्रतिष्ठा र एकता खँदिलो हुने कुरामा प्रतिकूल असर पार्ने काम नगरौं, फेरि पनि पालो आउँछ, त्यसैले हतारोका साथ प्रतिस्पर्धा गर्ने, लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं,’ उनले भने, ‘अब पनि हामीले काँचा व्यवहार नगरौं । हामीले जिम्मेवारीपूर्वक नेपालको पार्टी नयाँ सफलताका साथ अघि बढ्दै छ भन्ने सन्देश दुनियाँका लागि दिनुपर्छ ।’

उनले दुनियाँमै पूर्ण लोकतान्त्रिक अभ्यास सहमति हुनुपर्ने बताए । ‘पार्टीबीच आन्तरिक लोकतान्त्रिक मुख्य कुरा हो । प्रतिस्पर्धा प्रमुख हुन्छ प्रतिपक्षसँग लड्दा, पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन, एकता मुख्य कुरा हो,’ उनले भने, ‘एकताका लागि चाहिने समझदारी मुख्य कुरा हो ।’ अध्यक्ष पदमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा टंक कार्कीलगायत दर्जनौं केन्द्रीय सदस्यले प्रतिनिधिसमक्ष प्रत्यक्ष र सामाजिक सञ्जालबाट मत माग्न सुरु गरेका बेला ओलीको यो भनाइ आएको हो । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले माथिबाट शक्ति थोपर्दा पार्टीमा ढिलोचाँडो विद्रोह हुने बताए । ‘आफूलाई लोकतान्त्रिक पार्टी भन्नेले नेतृत्व चयनमा माथिबाट इम्पोज गर्दा विद्रोह हुन सक्छ,’ उनले भने, ‘अध्यक्ष ओली निष्पक्ष भएर अरूलाई अभ्यास गर्न दिनुपर्छ, सर्वसम्मतका नाममा अरूलाई प्रतिस्पर्धा गर्न नदिनु लोकतान्त्रिक अभ्यास रोक्नु हो ।’ ओलीले सर्वसम्मतिका नाममा आफ्ना व्यक्ति ल्याए अरूले विस्तारै विद्रोह गर्ने उनले बताए ।

माधव नेपाल पार्टी महासचिव हुँदा दबाइएकै कारण ओली विद्रोही भएका थिए । हाल ओली आठौं महाधिवेशनअघिका नेपालजस्तै शक्तिशाली छन् । पार्टीमा उनले जस्तो चाहन्छन्, त्यही हुन्छ । यो महाधिवेशनमा ओलीले आफूमा केन्द्रीकृत शक्ति प्रयोग गरी आफूअनुकूल नेतृत्व ल्याउन चाहेका छन् । एमाले वडा र पालिका अधिवेशनमा प्रतिस्पर्धा एकदम न्यून भयो । केन्द्रको निर्देशनअनुसार आफूअनुकूल प्रतिनिधि चयन गरियो ।

राजनीतिकशास्त्रका अर्का प्राध्यापक खड्ग केसीले कुनै पनि पार्टीमा अस्वस्थ प्रतिस्पर्धा हुनु गलत भएको बताए । ‘प्रतिस्पर्धाका नाममा अस्वस्थ प्रतिस्पर्धा गर्नु र सर्वर्सम्मतका नाममा स्वस्थ प्रतिस्पर्धा रोक्नु गलत हो, सैद्धान्तिक रूपमा पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने, ‘तर प्रतिस्पर्धाका नाममा पार्टी विभाजनतिर गएको तीतो यथार्थ पनि छ ।’ उनले कांग्रेसको महाधिवेशनका लागि हुने वडा र पालिका निर्वार्चनमा अस्वस्थ प्रतिस्पर्धाले गलत भएको बताए । कांग्रेसका कतिपय वडा र पालिका निर्वाचनमा कुटपिट भएको थियो ।

एमाले नेता टंक कार्कीले असन्तुष्टिबीच हुने सर्वसम्मति गलत हुने तर्क गरे । उनले नवौं महाधिवेशनमा पार्टीमा उत्कृष्ट आन्तरिक लोकतान्त्रिक अभ्यास भएको बताए । ‘करकापबिनाको सर्वसम्मत राम्रो हुन्छ,’ उनले भने । एमालेको आठौं र नवौं महाधिवेशनमा आधिकारिक रूपमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । आठौंमा झलनाथ खनाल र ओली प्यानलबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा खनाल विजयी भएका थिए । नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपाल प्यानलबीच प्रतिस्पर्धा हुँदा अध्यक्षमा ओली विजयी भएका थिए । त्यसबेला दुवै प्यानलबाट नेताहरू विजयी भएका थिए ।

जारी महाधिवेशनको बन्दसत्रमा उपाध्यक्ष भीम रावलबाहेक अरू नेताले उम्मेदवारी दिने घोषणा गरेका छैनन् । निर्वाचन आयोगले औपचारिक रूपमा काम अघि बढाएको छैन तर हलले नेतृत्व चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेलगत्तै रावलले उम्मेदवारी पेस गरेका छन् । एमाले विधानमा प्रत्येक पार्टी सदस्यले विधानको अधीनमा रही राष्ट्रिय महाधिवेशन वा विधान महाधिवेशन वा अधिवेशन वा आफ्नो कमिटीको बैठकमा आफ्नो मत राख्न पाउने तर फरक मत राख्नेले आफ्नो पदीय वा संगठनात्मक दायित्व निर्वाह गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : मंसिर १२, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?