कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अफ्रिकाबाट आउनेलाई क्वारेन्टिनमा राख्न विज्ञको सुझाव

नयाँ भेरिएन्ट देखिएका मुलुकबाट आउनेलाई के गर्ने भन्ने विषयमा आइतबार सीसीएमसीले निर्णय लिन सक्छ : स्वास्थ्य मन्त्रालय
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई १५ दिन क्वारेन्टिनमा अनिवार्य राख्न विज्ञले सुझाव दिए पनि सरकारले यसबारे निर्णय लिएको छैन । दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । नयाँ भेरिएन्टमा डेल्टाभन्दा बढी जोखिम देखिएकाले प्रभावित मुलुकबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्न विज्ञको सुझाव छ ।

अफ्रिकाबाट आउनेलाई क्वारेन्टिनमा राख्न विज्ञको सुझाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नाकामा हेल्थ डेस्कलाई सतर्क रहन मात्र भनेको छ । ‘नयाँ भेरिएन्ट देखिएका मुलुकबाट आएकालाई क्वारेन्टिन राख्ने विषयमा कुनै निर्णय भइसकेको छैन,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले यस सम्बन्धमा निर्णय लिन सक्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विशेषज्ञले नयाँ भेरिएन्टलाई शुक्रबार ग्रीक भाषाबाट ‘ओमिक्रोन’ नामकरण गरेका हुन् । यो भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित हुने उनीहरू बताउँछन् । वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमण दर तीव्र हुनुका साथै संक्रमितमा गम्भीर लक्षण देखा पर्न सक्ने शंकासमेत व्यक्त गरेका छन् । नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ ।

‘अहिलेसम्मको जानकारी विश्लेषण गर्दा कोभिड भाइरसको नयाँ भेरिएन्ट छिटो फैलने र खतरनाक हुन सक्ने देखिएकाले संक्रमण देखिएका मुलुकबाट आउनेलाई १५ दिने क्वारेन्टिन बस्नुपर्ने प्रकृया सुरु गर्न ढिलो गर्नु हुँदैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा.जीडी ठाकुरले भने, ‘केही सातापछि डब्लूएचओले सार्वजनिक गर्ने थप जानकारीका आधारमा यात्रा प्रतिबन्ध, क्वारेन्टिन आदिबारे पुन: समीक्षा गर्न सकिन्छ ।’ विज्ञहरूले नयाँ भेरिएन्ट देखिएका मुलुकसँगको सिधा उडानलाई समेत तत्कालका लागि बन्द गर्न पनि सुझाएका छन् । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा.बाबुराम मरासिनी अफ्रिकी पासपोर्टबाट आउने वा त्यहाँबाट फर्किने सबैलाई क्वारेन्टिनसँगै निरन्तर निगरानी गर्नुपर्ने बताउँछन् । भारत हुँदै तेस्रो मुलुकबाट भित्रिनेहरूलाई पनि विशेष निगरानी गर्नुपर्ने उनले बताए ।

छिमेकी भारतले ‘ओमिक्रोन’ भेरिएन्ट भेटिएका मुलुकबाट आउने सबै यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण थालिसकेको छ । भारत सरकारले हङकङ, बोत्सवाना र इजरायलबाट आउने यात्रुको जाँचका लागि सबै विमानस्थललाई निर्देशनसमेत जारी गरेको छ । त्यस्तै, त्यहाँका राज्य सरकारहरूले पनि दक्षिण अफ्रिकामा आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्णय गरिसकेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै सरकारी अधिकारीहरूको आकस्मिक बैठक बोलाएर नयाँ भेरिएन्टका सम्बन्धमा सतर्कता राख्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय उडान खुला गर्ने नागरिक उड्डयन मन्त्रालयको शुक्रबारको निर्णयमा पुन: समीक्षा गर्नसमेत मोदीले भनेका छन् । अमेरिका, इजरायल, श्रीलंका, नेदरल्यान्ड्स र बेलायतले नयाँ भेरियन्ट देखिएका अफ्रिकी मुलुकसँगको हवाई सम्पर्कमा रोक लगाएका छन् । यसरी रोक लगाउने मुलुकको संख्या क्रमश: बढ्दो छ ।

प्रकाशित : मंसिर ११, २०७८ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?