१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डडेलधुरा विवादले कांग्रेसमा भाँडभैलो, निर्वाचन समिति संयोजकले फेरि दिए राजीनामा

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ३५ जिल्लाको अधिवेशन सकिएको छ । अन्य जिल्लामा अधिवेशन जारी छ । केन्द्रीय महाधिवेशनका लागि अब १३ दिन मात्रै छ ।

डडेलधुरा विवादले कांग्रेसमा भाँडभैलो, निर्वाचन समिति संयोजकले फेरि दिए राजीनामा

तर, क्रियाशील सदस्यताको विवाद समाधान गरी महाधिवेशनमा होमिँदा विभिन्न जिल्लाको अधिवेशन विवादास्पद बनिरहेको छ । त्यहीमध्येको एक हो डडेलधुरा । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा देउवा पक्षले एकलौटी रुपमा अधिवेशन गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा ११ दिनदेखि रिले अनशनमा बसेका छन् ।

तर, उनीहरूको मागबारे अहिलेसम्म कुनै सुनुवाई भएको छैन । बरु जिल्ला सभापति मल्लसहित बहुमत सदस्यको अनुपस्थितिमा देउवा पक्षले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको छ । अधिवेशनले सभापति देउवा, उनकी पत्नी आरजु राणासहितलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको छ ।

सभापति देउवाले जिल्ला सभापति मल्लसहितका कार्यकर्तालाई सम्बोधन गर्ने प्रयाससमेत गरेका छैनन् । सदस्यताकै विवादका कारण सर्लाहीको वडा अधिवेशन शनिबारसम्म पनि हुन सकेको छैन । डडेलधुरासहित विभिन्न जिल्लामा देखिएका विवादबारे केन्द्रीय निर्वाचन समितिसमेत अनिर्णित छ । डडेलधुराका विषयमा आन्दोलनरत पक्षसँग केही दिनअघि भनाभन भएपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पुनः पदबाट राजीनामा दिएका छन् । उनी त्यो दिनदेखि कार्यालय समेत गएका छैनन् ।

खासगरी डडेलधुराको विवादास्पद अधिवेशनबारे निर्णय गर्न नसकिएको निर्वाचन समितिका एक सदस्यले बताए । ‘हामी निरन्तर छलफलमै छौं । एक ढंगले त्यहाँ अधिवेशन भइसकेको छ । फेरि अर्को ढंगले हेर्ने हो भने त्यहाँ अधिवेशन सुरु नै भएको छैन, हामी छलफल गरिरहेका छौं, तर निचोडमा पुग्न सकिरहेका छैनौं,’ ती सदस्यले भने, ‘हामीबाट त्रुटि भयो । राजनीतिक नेतृत्वबाट पनि त्रुटि भयो । अब त्यसबारे निर्वाचन समितिले पनि निर्णय गर्न नसकेको अवस्था छ ।’

ती सदस्यले निर्वाचन समितिका संयोजक यादव केही दिनदेखि काममा नआएको पुष्टि गरे । ‘अहिले हाम्रा लागि पलपल किम्ति समय हो । तर, उहाँ कार्यालय आउनुभएको छैन । त्यसकारण पनि कतिपय निर्णय हामीले गर्न सकेका छैनौं,’ ती सदस्यले भने, ‘अब विवादका विषयमा निर्वाचन समितिको बहुमतको हिसावले निर्णय गर्नुपर्ने अवस्था बनिरहेको छ ।’

स्रोतका अनुसार निर्वाचन समिति संयोजक यादवले जिल्लाका नेताहरूको दबाबलाई थेग्न नसकेर पदबाटै राजीनामा दिएका छन् । उनले यसअघि पनि राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन ।

‘उहाँले तनाव लिएर जिम्मेवारी निभाउन चाहनुभएको छैन । सहज अवस्थामा महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था पनि छैन, विवाद आइरहेका छन्,’ उनीनिकट एक अधिवक्ता भन्छन्, ‘त्यसैले उहाँले जिम्मेवारीबाट मुक्त हुन खोजिरहनुभएको छ ।’ सभापति देउवाले नै यादवलाई निर्वाचनको काम पूरा गरिदिन आग्रह गर्दै आएका छन् । यादव यसअघि कांग्रेसकै सरकार भएका बेला महान्यायधिवक्ता समेत भएका थिए ।

उनको राजीनामा स्वीकृत गर्ने वा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउने भन्नेबारे कांग्रेसमा छलफल भएको छैन । कांग्रेसले यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएको थियो । अधिवक्ताहरू गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एगराज पोखरेल समितिका सदस्य थिए । तर, देउवाले खातीलाई महान्यायधिवक्ता बनाएपछि उनको ठाउँमा तेजबहादुर रावल नियुक्त भएका थिए । समितिको सचिवका रुपमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले काम गरिरहेका छन् ।

प्रकाशित : मंसिर ११, २०७८ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?