कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको नयाँ भेरिएन्टलाई डब्लूएचओले दियो 'ओमिक्रोन' नाम

संक्रमण रोक्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सबै नाकाका हेल्थ डेस्कलाई सतर्क राखेको सरकारको भनाइ

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

कोरोनाको नयाँ भेरिएन्टलाई डब्लूएचओले दियो 'ओमिक्रोन' नाम

सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ ।

त्यसका अलावा यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । संक्रमण फैलिन सक्ने भन्दै विश्वका धेरै देशले दक्षिण अफ्रिका जान-आउन प्रतिबन्ध लगाइसकेका छन् । बेलायतले ब्रिटिस र आइरिस नागरिकबाहेकलाई दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने यात्रुको प्रवेशमा रोक लगाइसकेको छ । अमेरिकाले पनि सोमबारदेखि यी मुलुकका अलावा मोजाम्बिक र मलावीबाट आउने उडान रोक्ने निर्णय गरेको छ ।

शुक्रबार डब्लूएचओले उक्त भेरिएन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेटिएको बताएको थियो । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’

प्रकाशित : मंसिर ११, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?