बुस्टर डोजमा कुन खोप ?

कोभिडविरूद्ध खोप लगाएको ६ महिनापछि संक्रमणविरूद्ध लड्ने एन्टिबडी कम हुँदै जाने भएकाले जोखिम कम गर्न बुस्टर डोज आवश्यक 
अतुल मिश्र

काठमाडौँ — कोभिडविरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा संक्रमणविरुद्ध लड्ने एन्टिबडी क्रमशः कम हुँदै जान्छ । जसले गर्दा पुनः संक्रमित हुने जोखिम बढ्छ । उक्त जोखिमलाई कम गर्न ६ महिनापछि ‘बुस्टर डोज’ लगाउनुपर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । हाल विश्वका ३६ भन्दा बढी मुलुकमा कोभिडविरुद्ध पूर्ण खोप पाएकाहरूलाई बुस्टर डोज दिन थालिएको छ । 

बुस्टर डोजमा कुन खोप ?

अमेरिकामा त एक करोडभन्दा बढीले बुस्टर डोज लगाइसकेका छन् । अमेरिका फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले त्यहाँ उपलब्ध सबै कोभिडविरुद्धको खोपलाई ‘मिक्स एन्ड म्याच’ रणनीतिअन्तर्गत उपयोग गर्न स्वीकृति प्रदान गरेको छ । ‘यूएस एफडीएको मञ्जुरीपछि अमेरिकी नागरिकले पहिले लगाएका कोभिड खोपबाहेक अर्को खोपलाई समेत बुस्टर डोजका रूपमा चुन्न पाउँछन्,’ नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य एवं इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘अमेरिकी रणनीति हामी पनि अँगाल्न सक्छौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मान्यता दिएको खण्डमा ‘मिक्स एन्ड म्याच’ रणनीति लागू गर्न सकिन्छ ।’

बुस्टर डोज लगाउन चाहने व्यक्तिले उपलब्ध खोपको फाइदा र जोखिमबारे विचार गर्नुका साथै आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुन उत्पादन उपयुक्त हुन्छ भनेर छलफल गर्न सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । अमेरिका भ्रमणमा रहेकी स्वास्थ्य पत्रकार भगवती तिमिल्सिनाले नेपालमा ६ महिनापछि दोस्रो डोजको कोभिसिल्ड खोप लिए पनि बुस्टर डोजका रूपमा ‘मोडर्ना’ लिएकी थिइन् । ‘स्वास्थ्य सेवा प्रदायकले मलाई फाइजर वा मोडर्ना लिनु राम्रो हुने सल्लाह दिएका थिए,’ उनले कान्तिपुरसँग भनिन् ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले ६५ वर्ष माथिका, कुनै रोगका कारण कोभिडको उच्च जोखिममा रहेका १८ वर्षमाथिका र जागिरका कारण कोभिडको सम्पर्कमा आउने सबैभन्दा बढी खतरामा रहेका १८ वर्षमाथिका युवालाई समेटेर एउटा अध्ययन गरेको थियो । अमेरिकाको इन्स्टिच्युट अफ हेल्थका तर्फबाट ४ सय ६५ जनामा गरिएको उक्त अध्ययनले फरक–फरक प्रकारका ‘मिक्स एन्ड म्याच’ गरिएको बुस्टर डोज वयस्कका लागि पूर्ण सुरक्षित रहेको देखाएको छ ।

नेपालले पनि विकसित मुलुकले जस्तै डब्लूएचओबाट अनुमतिप्राप्त बुस्टर डोजका सम्बन्धमा चाँडो निर्णय लिन विज्ञहरूले सुझाएका छन् । उनीहरूले त्यसका लागि तत्काल छलफल थाल्न पनि सरकारसँग आग्रह गरेका छन् । तत्काल प्राथमिकताका आधारमा दीर्घरोगी र फ्रन्टलाइनरलगायतलाई खोप उपलब्धताका आधारमा बुस्टर डोज दिनुपर्ने विज्ञहरूको धारणा छ । छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले संक्रमणको जोखिम कायमै रहेकाले शरीरमा कोभिडविरुद्धको एन्टिबडी कायम राख्नु ठूलो चुनौती रहेको बताए । त्यसैले पनि बुस्टर डोजलाई अभ्यासमा ल्याउनुपर्ने उनको भनाइ छ । ‘एकातर्फ हामी कोभिड संक्रमण नहोस् भनेर सबै व्यक्तिलाई खोप लगाउँदै छौं, अर्कोतर्फ खोप पाइसकेकाहरूको शरीरमा उत्पन्न कोभिडविरुद्धको एन्टिबडी कायम राख्न सकेनौं भने ठूलो दुर्घटनाको जोखिम कायमै रहन्छ,’ डा. शाहले भने ।

खोप अभियान सुरु भएदेखि बिहीबारसम्म १ करोड ७५ लाख २१ हजार ५ सय २३ डोज खोप लगाइएको छ । कुल जनसंख्याको ३०.८ प्रतिशत अर्थात् ९३ लाख ६७ हजार ७ सय ७८ ले एक डोज र २६.८ प्रतिशत अर्थात् ८१ लाख ५३ हजार ७ सय ३४ जनाले पूर्ण खोप लगाएका छन् । पूर्ण खोप लगाएको ६ महिना पुगिसकेकाले एक वर्ष नाघ्नुअघि नै तेस्रो वा बुस्टर डोज लगाइसक्नुपर्ने वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसी बताउँछन् । बुस्टर डोजका रूपमा ‘एम–आरएनए’ खोप लगाउन उनले सुझाए । फाइजर र मोडर्ना ‘एम–आरएनए’ प्रविधिबाट बनेको खोप हो भने अक्सफोर्ड अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, स्पुतनिक भाइरल भेक्टर प्रविधिमा आधारित खोप हुन् ।

प्रकाशित : मंसिर १०, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?