राप्रपाको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित- समाचार - कान्तिपुर समाचार

राप्रपाको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।  

यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको अधिवेशनमा केन्द्रित रहेको बैठकमा अधिवेशनलाई व्यवस्थित बनाउने निर्णय भएको छ । देशविदेशबाट अधिवेशनमा सहभागी हुन आउने विभिन्न पाहुना तथा प्रतिनिधिको व्यवस्थापन, अधिवेशनका लागि गठन गरिएका विभिन्न समितिका कार्यप्रगतिबारे पनि समीक्षा गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) एकता भएपछि अन्तरिम विधानले सञ्चालन भएको उक्त पार्टीले पहिलोपटक एकता महाधिवेशन गर्न लागेको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

मधेसी सहिद प्रतिष्ठान गठन

रासस

काठमाडौँ — प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्वन्द्व र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा सहिद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको हो ।

मधेसी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिहीबार प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र माओवादी सशस्त्र द्वन्द्वका दुई/दुई जना सहिद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ । सहिद परिवारबाट सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाल तथा मधेस आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।

चार जना सहिद परिवारबाट सदस्य नियुक्त भएकालाई बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् । प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशनसमेत दिए ।

प्रकाशित : मंसिर ९, २०७८ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×