मधेसी सहिद प्रतिष्ठान गठन- समाचार - कान्तिपुर समाचार

मधेसी सहिद प्रतिष्ठान गठन

रासस

काठमाडौँ — प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्वन्द्व र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा सहिद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको हो ।

मधेसी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिहीबार प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र माओवादी सशस्त्र द्वन्द्वका दुई/दुई जना सहिद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ । सहिद परिवारबाट सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाल तथा मधेस आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।

चार जना सहिद परिवारबाट सदस्य नियुक्त भएकालाई बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् । प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशनसमेत दिए ।

प्रकाशित : मंसिर ९, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

र्‍यापर राजा कुमारी नेपाल आउँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय-अमेरिकी र्‍यापर राजा कुमारी नेपाल आउने भएकी छन् । डिसेम्बर ४ मा क्लब फरेनहाइटमा कन्सर्ट गर्न उनी नेपाल आउने भएकी हुन् ।

कन्सर्टका लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल कोरोना कहरबाट मुक्त हुँदै गरेको सन्देश पुर्‍याउन उनलाई नेपाल बोलाइएको क्लब फरेनहाइटका संचालक सोनम शेर्पाले जनाए ।

गीतका शब्द र मोडर्न पोयट्रीकी रानी भनेर परिचित स्वेथा राओ उर्फ राजा कुमारीका नेपाली फ्यान यतिखेर उत्साहित छन् । पुरुष आवाजको दबदबा रहेको भारतीय संगीत क्षेत्रमा राजा कुमारी त्यस्तो नाम हो जसले र्‍याप विधामा एक्लैले राज गरिरहेकी छन् ।

गायन, लेखनमा निडर राजा कुमारी पूर्व र पश्चिमा संगीत जोड्ने सेतु हुन् । पग्लैट, स्केटर गर्ललगायतको फिल्ममा आवाज दिइसकेकी उनले डिभाइनसँग 'सिटी स्लम'मा आवाज दिएकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७८ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×