पहिले सभापति उठेका नेताहरू अब विश्राम लिनुस् : निधि

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले १३ औँ महाधिवेशनमै सभापतिमा प्रतिष्पर्धा गरेका नेताहरूलाई अब विश्राम लिन आग्रह गरेका छन् । उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वोच्च नेता भएर बस्न आग्रह गरे ।

पहिले सभापति उठेका नेताहरू अब विश्राम लिनुस् : निधि

आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले बिहीबार आफ्ना प्रतिवद्वता र योजनाहरु सार्वजनिक गर्दै अब पार्टीको नेतृत्व गर्न दोस्रो पुस्ता सक्षम रहेको बताएका हुन् ।

उनले महाधिवेशनमा समीकरण बनाएर मिलेर अघि बढ्ने विषयमा सबै नेताहरूसँग छलफल भइरहेको बताए ।

‘म समीकरण बनाउनका लागि प्रकाशमानजी, शशांकजी र शेखरजीहरूसँग निरन्तर संवादमा छु । गम्भीर र सकारात्मक संवाद भइरहेको छ । १३ औँ महाधिवेशनमा जो-जो सभापतिको प्रत्यासी हुनुहुन्थ्यो, उहाँहरूले अब १४ औँ महाधिवेशनमा फेरि त्यही पदमा चुनाव नलड्नुस् भन्ने हाम्रो साझा धारणा हो,’ निधिले भने, ‘यसमा हामी चारै जनाको सैद्धान्तिक सहमति छ ।’

उपसभापति निधिले अब पनि आफूले सभापतिको उम्मेदवारीबाट पछि हट्छ कि भनेर शंका नगर्न आग्रह गरे । ‘म सभापतिको उम्मेदवार छु, मैले घोषणा पत्र पनि सार्वजनिक गरिसकेँ । अब २१ गते सभापति पदमा उम्मेदवारी दर्ता गराउँछु । यसमा तपाईहरू ढुक्क हुनुस्,’ निधिले भने ।

उनले पार्टीको नेतृत्वमा पहिलो पुस्ताले त्याग गरेपनि उनीहरूलाई पार्टीको सर्वोच्च नेताकारुपमा सम्मान दिन आफूहरू तयार रहेको बताए ।

‘शेरबहादुरजी, रामचन्द्रजीहरूलाई हामी कांग्रेसको सबैभन्दा सर्वोच्च नेताका रुपमा राख्छौँ, जसरी गणेशमानजी र किसुनजीहरू हुनुहुन्थ्यो, त्यस्तै सम्मान दिन चाहान्छौँ,’ निधिले भने, ‘हामीले छलफल गरिरहेका छौँ । पार्टीको नेतृत्व एकातिर छ, राज्यको फरक भूमिका छ । उहाँहरू राज्यको पदहरूमा बस्न सक्नुहुन्छ । उहाँहरूले गाइड गर्नुहुन्छ, हामी पार्टी चलाउँछौँ । उहाँहरूसँग सल्लाह र परामर्श गरेर नै हामी उहाँहरूको उचित भूमिका तय गर्छौँ । यो ठूलो समस्या होइन, हुँदैन ।’

उनले सबै नेताहरूलाई आफूलाई सहयोग गर्न आग्रह र संवाद गरिरहेको बताए । ‘म उम्मेदवार छु, रहन्छु । म सबैभन्दा पहिले शेरबहादुरजीकै समर्थन चाहन्छु । रामचन्द्रजी, शेखरजी, प्रकाशमानजी र शशांकजीहरू सबैको समर्थन चाहन्छु,’ उनले भने ।

प्रकाशित : मंसिर ९, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?