प्रधानमन्त्री देउवालाई वाग्लेले भने- 'बालुवाटारमा सुतिरहने हो भने बुढानीलकण्ठ फर्किए हुन्छ'

काठमाडौँ — नागरिक अभियन्ता नारायण वाग्लेले न्यायालयको समस्या समाधान नगर्ने हो भने बालुवाटारबाट घर फर्कन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । न्यायालयको विवाद समाधानमा दलले निकास दिनुपर्ने भन्दै बिहीबार आयोजित सर्वोच्च अदालत-बालुवाटार 'न्याय मार्च' पछि सम्बोधन गर्दै अभियन्ता वाग्लेले प्रधानमन्त्री देउवालाई बालुवाटारमा सुतिरहने हो भने बुढानीलकण्ठ फर्किन सुझाव दिएका हुन् ।

'एक महिना न्यायालय अवरुद्ध छ । त्यो अदालत र आन्दोलन जसले बुढानिलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटारमा ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन्,' वाग्लेले भने, 'यदि सुतिरहने हो भने बुढानिलकण्ठ फर्किए हुन्छ ।'
सडकको मुद्दाको बलमा सत्तामा गएको भोलिपल्टदेखि नै प्रतिगमनको मतियार हुने वा आफैं प्रतिगमनको सुत्रधार हुने राजनीतिक पंक्तिलाई जवाफ दिन नागरिक आन्दोलन जारी रहने उनले बताए ।
यस्तै वाग्लेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मौनताप्रति पनि आलोचना गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्याय क्षेत्रको शुद्धीकरणका लागि भन्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले सर्वोच्च अदालत-बालुवाटार न्यायमार्च गरेका हुन् ।
प्रकाशित : मंसिर ९, २०७८ १७:४८