राप्रपालाई बचाउन हामीले उम्मेदवारी दिएका हौं : लिङ्देन- समाचार - कान्तिपुर समाचार

राप्रपालाई बचाउन हामीले उम्मेदवारी दिएका हौं : लिङ्देन

'राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ । उहाँहरू (कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी)को पनि समाप्त हुन्छ । अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र ?'
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद राजेन्द्रप्रसाद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन् । कि राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए । 

अध्यक्षको उम्मेदवारी घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सांसदसमेत रहेका लिङ्देनले भने, 'यो बाध्यकारी कदम हो । कि त हामीले समाप्ति रोज्नुपर्ने थियो कि यो कदम उठाउनुपर्ने थियो ।'

राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताए । 'राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ । उहाँहरू (कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी)को पनि समाप्त हुन्छ । अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र ?,' उनले तीनजना नै अध्यक्षलाई आग्रह गर्दै भने, 'तपाईहरूको विरासतलाई जोगाएर लान्छौं । अभिभावकीय भूमिकामा बस्नुहोस् । राप्रपाका कार्यकर्तालाई अप्ठ्यारोमा नपार्नुस् ।'

राप्रपा महामन्त्रीमा धवलशम्शेर राणाले उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । 'न यो विद्रोह हो न यो तपाईंहरू विरुद्धको उम्मेदवारी हो । राप्रपाको भविष्यलाई सुनिश्चित गर्नका लागि हो । हाम्रो यो कदमले राप्रपालाई अप्ठ्यारो पार्दैन । बलियो बनाउँछ, सुदृढ बनाउँछ ।'

थापा, जबरा र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उनको प्रष्टोक्ति थियो । 'सधैंभरी कारिन्दाको रूपमा हामीलाई लगाएको काम गरिरहेका थियौं । अह्राएको काम गरिरहेकाले अध्यक्ष उठ्छौं भनेपछि अलि असहज भएको होला । उपछि उहाँहरू पनि खुसी हुनुहुनेछ,' उनले भने ।

पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गरेका छन् । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ थियो ।

प्रकाशित : मंसिर ९, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 

राप्रपाको आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय लिङ्देन राणाले अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार हुन् ।

लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।

पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×