कांग्रेस महाधिवेशन : मोरङमा संस्थापन पक्ष कमजोर

१ क्षेत्रमा संस्थापन र बाँकी ५ क्षेत्रमा इतरपक्ष विजयी
विनोद भण्डारी

विराटनगर — कांग्रेसको १४ औ महाधिवेशनमा सभापतिका आकांक्षी शेखर कोइरालको गृहजिल्ला मोरङमा संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय निर्वाचनको ६ वटा क्षेत्र रहेको मोरङमा एक क्षेत्रबाहेक संस्थापन पक्षले सबै क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि पनि गुमाएको छ ।

कांग्रेस महाधिवेशन : मोरङमा संस्थापन पक्ष कमजोर


संस्थापन पक्षले क्षेत्र नम्बर ५ मा सभापतिसहित महाधिवेशन प्रतिनिधिमा ७५ प्रतिशत जितेको छ । यो क्षेत्रमा क्षेत्रीय सभापति जीवक्ष गच्छदारसहित सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका थिए । यो क्षेत्र केन्द्रीय सदस्य अमृत अर्यालका हो । बाँकी ५ वटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षले सभापति गुमाउँदै छिटफुट महाधिवेशन प्रतिनिधि जितेको छ । मोरङमा पूर्वमहामन्त्री कृष्ण सिटौला गुटका छिटपुट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

कोइरालाको निर्वाचन क्षेत्र ६ मा संस्थापन पक्षका पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा पौडेल–कोइराला प्यानलले सभापति सहित २० जना महाधिवेशन जितेको छ । यो क्षेत्रमा क्षेत्रीय सभापति देवराज तामाङ विजयी भएका छन । क्षेत्र नं ३ मा सभापति गणेश खड्कासहित महाधिवेशन प्रतिनिधिमा पौडेल–कोइराला प्यानल नै विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा लेटाङ नगर प्रमुख शंकर राई सर्वसम्मत भएका छन् । उनी पौडेल–कोइराला समूहका हुन । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षमा २५ र पौडेल कोइराला समूहका ७५ प्रतिशत छन् । यो क्षेत्र जिल्ला सभापति डिगबहादुर लिम्बुको क्षेत्र हो ।

त्यसैगरी रक्षामन्त्री मिनेन्द्र रिजालको क्षेत्र न २ मा पौडेल–कोइराला समूहका नागेश्वर सिंह क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । यो क्षेत्रमा सिटौला समूहका एक र बाँकी सबै पौडेल–कोइराला समूहका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

महेश आचार्यको क्षेत्र ४ मा मतगणना जारी छ । अन्तिम १ सय ३० मत गन्न बाँकी रहदा पौडेल समूहका विनोद बस्नेत सभापतिमा ५७ मतले अगाडि छन् । यो क्षेत्र संस्थापन पक्षबाट जिल्ला सभापतिका आकांक्षी दिलिप गच्छदारको पनि क्षेत्र हो । उनी महाधिवेशन प्रतिनिधिमा अग्रस्थानमा छन् । यो क्षेत्र महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीको पनि हो । उनीहरु पनि महाधिवेशन प्रतिनिधिमा विजयीउन्मुख छन् ।

कांग्रेस निर्वाचनमा प्रदेश नम्बर १ का प्रदेश सांसदसहित पूर्वमन्त्री र चर्चित नेताहरु समेत पराजित भएका छन् । प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका छन् । नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापा र तरुण दलका पूर्वकेन्द्रीय सदस्य दामोदर कोइरालालगायत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?