कांग्रेसमा देउवा र पौडेल पक्षको शक्ति बराबरी- समाचार - कान्तिपुर समाचार

कांग्रेसमा देउवा र पौडेल पक्षको शक्ति बराबरी

१३ सय ३२ महाधिवेशन प्रतिनिधि चयन हुँदा देउवा पक्षमा ६ सय ५७, पौडेल पक्षमा ६ सय ६०
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ ।

संस्थापनइतर पक्षले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । देशभरबाट बुधबारसम्म आएका नतिजाले इतर पक्षमा एकमात्रै उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको छ । संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् ।

३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । जिल्लाबाट कान्तिपुर संवाददाताहरूले पठाएको रिपोर्टअनुसार १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रारम्भिक नतिजाले संस्थापनइतर पक्षलाई साझा उम्मेदवार बनाउन ठूलो दबाब दिएको स्विकार्छन् । ‘एक हुन सकिएन भने आत्महत्याको बाटो रोज्नु हो, आत्महत्याको बाटो रोज्न हुन्न भन्नेमा सबै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ केसीले भने, ‘एक भएर अघि बढ्यौं भने हाम्रो स्थिति अझै बलियै छ । सुधारवादी पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ ।’

देउवानिकट एक नेताका अनुसार अघिल्लो महाधिवेशनमा गुमेका क्षेत्र र जिल्लामा समेत यसपटक सुधार भएको तर्क गर्दै आफ्नो स्थिति सुदृढ भएको दाबी गरेको छ । ‘संस्थापनइतर पक्षमा दुई जना उम्मेदवार भएको अवस्थामा पहिलो चरणमै नतिजा आउन सक्ने देखिएको छ,’ देउवानिकट एक नेताले भने, ‘अब हाम्रो मुख्य चासो प्रदेश २ मा हो । त्यहाँ निधिजीको पक्षमा कति प्रतिनिधि आउँछन्, त्यसपछि प्रस्ट तस्बिर आउँछ ।’महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा युवा चुनिएका छन् । विभिन्न क्षेत्रका व्यवसायीको प्रवेश पनि यसपटक उल्लेख्य भएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघमा हुने भएको छ । नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा स्पिन इभेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता माघ १२ देखि हुनेछ । प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, यूएई, दक्षिण कोरियालगायतका देशको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र पाकिस्तानबाट राष्ट्रिय खेलाडीको सहभागिता रहने जानकारी दिए । पुरुष/महिला सिंगल्स र टिम, भेट्रान पुरुष ४० वर्ष र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ ।

सिंगल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेस्रोलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यसमा मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले ५० प्रतिशत रकम प्रायोजन गरिदिने भएको छ । पत्रकार सम्मेलनमै आयोजक क्लब र सम्झनाबीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । क्लबका अध्यक्ष जोशी र सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । चारदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×