एमाले कर्णालीका नेताहरूको माग- 'हामीलाई एक पदाधिकारी चाहियो'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले कर्णालीका नेताहरूको माग- 'हामीलाई एक पदाधिकारी चाहियो'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशले एक पदाधिकारीमा दाबी गर्ने यहाँका नेताहरूले बताएका छन् । एमालेभित्र स्थायी कमिटीमासमेत प्रतिनिधित्व नपाएको भन्दै असन्तुष्ट रहेका कर्णाली प्रदेशका प्रतिनिधिहरूले सामूहिक रुपमा कम्तीमा पनि एक पदाधिकारी हुनुपर्ने बताएका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीका सहसंयोजक यामलाल कंडेलले प्रदेशबाट महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरूको चाहना नै कम्तीमा एकजना पदाधिकारी पाउनु पर्नेमा एकमत रहेको बताए ।

'विधान अधिवेशनबाट जुन पदाधिकारीको संख्या निर्धारण गरेका छौं । यो सबै प्रदेशको प्रतिनिधित्व हुन्छ भन्ने आम प्रतिनिधिको मनोविज्ञान हो । नत्र किन विधानमा ७ जना सचिवको व्यवस्था गर्नुपर्थ्यो' कंडेलले भने, 'पहिलो सचिवमा ५ जना प्रस्ताव गरिएकोमा ७ जना स्पष्ट बुझिने गरी किन राखिन्थ्यो होला ?'

अहिले कर्णालीमा रहेका एमाले नेताहरू पदाधिकारीहरूको समकक्षी भएको भन्दै नेता कंडेलले भने, 'हामीले दयाभाउ देखाऊ र पदाधिकारी देऊ भनेको होइन । संलग्नताको हिसाबमा हामी कमजोर छैनौं ।'

चितवनमा शुक्रबारबाट सुरु हुने एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट १ सय ३५ जना प्रतिनिधिको सहभागिता हुन्छ । जुन कुल प्रतिनिधिको करिब ६ प्रतिशत मात्रै हो । एमाले महाधिवेशनमा २३ सय २७ प्रतिनिधिको संलग्नता रहनेछ ।

'प्रदेशिक संरचनामा गएपछि ढिलो वा चाँडो सो क्षेत्रको नेतृत्व विकास गर्ने कुरामा केन्द्रले पनि ध्यान दिनुपर्छ । नत्र त्यसमा पार्टीले नोक्सानी ब्यहोर्नेछ' कंडेलले भनेका छन् ।

सबै जिल्लाका अध्यक्ष तथा केन्द्रीय सदस्यबीच कम्तीमा १ पदाधिकारी पाउनुपर्नेमा एकमत रहेको उनले बताए । साथै महाधिवेशनमा सहभागी सबैको संयुक्त धारणा आउने कंडेलले बताए ।

एमालेको असोजमा भएको विधान महाधिवेशनले केन्द्रमा १५ पदाधिकारीको व्यवस्था गरेको छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव १-१ जना, ४ जना उपाध्यक्ष र ७ जना सचिवको व्यवस्था गरेको छ ।

कर्णाली प्रदेशका नेताहरूले स्थायी कमिटी र पदाधिकारीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गराउने विषयमा शीर्ष नेतृत्वको पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रतिनिधित्व हुन नसकेको कंडेल बताउँछन् । 'देशभरबाट निर्वाचित हुनुपर्ने भएकाले कर्णाली प्रदेशको मात्रै सामर्थ्यले त्यो पुग्दैन । हामी सबै प्रतिनिधिलाई अपिल पनि गर्नेछौं' कंडेलले भने ।

'हामीले पटकपटक यस विषयमा नेतृत्वको भन्यौ उहाँहरु पनि यस विषयमा कन्भिन्स हुनुहुन्छ तर कार्यान्वयन भने कहिले पनि हुन सकेन' कँडेलको गुनासो थियो । नयाँ नेतृत्व छनोटका लागि एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुक्रबारदेखि आइतबारसम्म चितवनमा हुँदैछ ।

प्रकाशित : मंसिर ८, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्

लिङ्देनको उम्मेदवारी घोषणा असफल पार्न कार्य सम्पादन समितिको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनको अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रम प्रभावित पार्न पार्टीले सोही समयमा कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा राप्रपामा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी सुरु भएको हो । तीन दिनअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले समर्थन गरेपछि लिङदेनले बिहीबार ११ बजे काठमाडौंबाट अध्यक्षको उम्मेदवारी घोषणा गर्दैछन् ।

यही बेला पार्टीको केन्द्रीय कार्यालयमा कार्य सम्पादन समितिको बैठक राखेको राप्रपाको एक नेताले बताए । बैठकमा महाधिवेशनमा पेश गरिने विधानको छलफल हुनेछ ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि उपस्थित हुनेछन् । नेता लिङदेनले आगामी महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा जानुपर्ने बताउँदैआएका छन् ।

महाधिवेशनमा नेपालगन्ज उपमहानगरका मेयर राणाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्र लिङ्देन र धवलशमशेर राणाले अभियान तीव्र पारेका छन्। राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङदेनले अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले महामन्त्रीमा उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरिरहेका हुन् ।

प्रकाशित : मंसिर ८, २०७८ २०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×