कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशको विरोधमा उच्च अदालत पुग्यो बार

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ । 

प्रधानन्यायाधीशको विरोधमा उच्च अदालत पुग्यो बार

उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर किन प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको हो भन्ने कुरा स्पष्ट पार्न लागिएको बारका महासचिव लिलामणी पौडेलले बताएका छन् ।

बारले बुधबार दिउँसो १२ बजेदेखि उच्च अदालतहरूमा विरोध प्रदर्शन गरिरहेको छ । त्यसका लागि बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका छन् । ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् । उनीसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि छन् । वीरगन्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बन्जरालगायत पुगेका छन् ।

इलाम उच्च अदालतमा कुमार शर्मा आचार्य र खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्जाली राई र अधिवक्ता मोहन इङ्नाम, हेटौंडा उच्च अदालतमा पूर्वमहासचिव विजय मिश्र र भुवन निरौला, बुलबलमा सविता भण्डारी बराल र बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुर्खेत उच्च अदालतमा उपाध्यक्ष रक्षा बस्याल, दाङ तुलसीपुरमा उपाध्यक्ष ईश्वरी भट्टराई, जुम्लामा मीनबहादुर महत, महेन्द्रगर उच्च अदालतमा उमेश विष्ट र प्रयागदत्त भट्टलाई पठाइएको छ ।

नेपालगन्ज उच्च अदालतमा वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का र रमन श्रेष्ठ, राजविराजमा रामचन्द्रसिंह राजपूत र वरिष्ठ अधिवक्ता एकराज भण्डारी, ओखलढुंगामा गंगासागर खत्री र अञ्जु कायस्थ, बागलुङमा सुरेन्द्र थापामगर पुगेका छन् ।

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतबाट बालुवाटारसम्म 'नागरिक मार्च' गर्ने पनि बारले घोषणा गरेको छ । बिहीबार २ बजेका लागि घोषणा गरिएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?