माओवादी नेता टंकमणिको सवारी दुर्घटनामा मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

माओवादी नेता टंकमणिको सवारी दुर्घटनामा मृत्यु

घाइते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए । दाङमा घाइते अपांगको बैठकमा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दुर्घटना भएको थियो ।

माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडेको निधनले पार्टीले एक असल र इमानदार कार्यकर्ता गुमाएको माओवादी नेता विनोद पहाडीले बताए । उनले सामान्य जीवनशैली तर संगठनका लागि जीवन दिने एक अभिभावकीय नेता गुमाउनुपरेकामा चिन्ता व्यक्त गरे । सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्जसमेत थिए ।

५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोकसभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित : मंसिर ८, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?