राप्रपा महाधिवेशन

‘प्यानल’ बनाउँदै लिङ्देन र राणा

एउटै समूह बनाएर राजेन्द्र लिङ्देन अध्यक्ष र धवलशमशेर राणा महामन्त्रीमा उठ्ने तयारी

काठमाडौं, नेपालगन्ज — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन र धवलशमशेर राणाले अभियान तीव्र पारेका छन् । राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले महामन्त्रीमा उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरिरहेका हुन् । एउटै मोर्चाबाट चुनावी अभियानमा लागे पनि उनीहरूले यसबारे खुलाएका छैनन् ।

‘प्यानल’ बनाउँदै लिङ्देन र राणा

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । उनीहरू औपचारिक रूपमा बिहीबार उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार हुन् ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् । नेता लिङ्देनले आगामी महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा जानुपर्ने बताए । ‘आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन राष्ट्रिय प्रजातन्त्र पार्टी सुदृढीकरणको प्रस्थानबिन्दु हो, यसकै लागि हामीले नेतृत्व परिवर्तनको कुरा उठाएका हौं,’ उनले कान्तिपुरसँग भने, ‘अब यो अभियानको नेतृत्व पनि अध्यक्षत्रयले गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ लिङ्देनले ३१ वर्षको कालखण्डमा राप्रपा सबैभन्दा कमजोर अवस्थामा पुगेको तर २०६२/६३ पछि पार्टीले लिएका नीति/विचार र सिद्धान्त लोकप्रिय भएको बताए । ‘यो लोकप्रियतालाई आगामी दिनमा नेतृत्व दिन पनि युवाको हातमा नेतृत्व जान आवश्यक छ,’ उनले भने ।

महाधिवेशनमा महामन्त्रीका दाबेदार नेपालगन्ज उपमहानगरका मेयर राणाले आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे । देशको माटो सुहाउँदो पार्टीका एजेन्डा हुँदाहुँदै पनि पार्टीमा गुट र फुटको विडम्बना झेल्नुपरेकाले नेतृत्व हस्तान्तरण जरुरी रहेको उनले बताए । ‘हाम्रा अग्रज अझै पनि चुनाव लड्छु भन्दै हुनुहुन्छ तर पार्टीमा रूपान्तरण चाहने हो भने उहाँहरूले अभिभावकको भूमिका खेल्न जरुरी छ,’ राणाले भने ।

अध्यक्षका दाबेदार लिङ्देनले पनि पार्टीका अध्यक्षत्रय अभिभावक बनेर नेतृत्व पुस्तान्तरणमा लाग्नुपर्नेमा जोड दिए । ‘हामीले लिएको एजेन्डा जनस्तरबाटै लोकप्रिय बन्दै गएको छ, तर पार्टी किन कमजोर भयो ?,’ उनले भने, ‘अब हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डामा विश्वास गर्ने मानिसलाई गोलबद्ध गर्ने बेला आएको छ । यसका लागि नयाँ नेतृत्व चयन आवश्यक छ । अहिलेसम्म नेतृत्वमा रहनुभएका अग्रजहरूले अभिभावकीय भूमिकामा बसेर कार्यकारी भूमिका दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।’

लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।

पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

दुई वर्षयता राणाले पार्टीमा दास्रो तहका युवाले नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् । त्यसमा अध्यक्षत्रय सहमत देखिएका छैनन् । महामन्त्रीका दाबेदार राणाले सबैको सुझाव र पार्टीको हितको मूल्यांकन गर्दै सांसद लिङ्देनलाई अध्यक्ष बनाउन आफू सहमत भएको बताए । ‘महामन्त्रीमा उम्मेदवारी दिँदै छु,’ उनले भने, ‘अध्यक्षमा राजेन्द्रजी अघि बढ्नुहुन्छ । बरु हार्नै परे पनि तयार छु,’ उनले भने ।

प्रकाशित : मंसिर ८, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?