२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने शिक्षामन्त्रीको घोषणा

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्ध खोपको व्यवस्था गरिने बताएका छन् । सरकारले विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन प्राथमिकता दिएको उनले बताए। ‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीस‍ंग पनि यस विषयमा छलफल र समन्वय भइरहेको छ,’ उनले भने, ‘सरकारले छिटोभन्दा छिटो बालबालिकालाई पनि खोप लगाउने व्यवस्था गर्छ ।’

सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने शिक्षामन्त्रीको घोषणा

नेपालमा अब आउने खोप विद्यार्थीका लागि उपलब्ध गराउने सरकारको तयारी रहेको उनले जनाए । ‘ढुवानी गरेर ल्याउन केही समय लाग्छ, ल्याएपछि सबै विद्यार्थीले खोप पाउँछन,' उनले भने ।

शिक्षामन्त्री पौडेलले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो प्राथमिकताका कार्यसूचीसमेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको शैक्षिक सेवा प्रवाह सुधार सम्बन्धी ३१ बुंदे प्राथमिकताका कार्यसूचीमा विद्यार्थीलाई खोप व्यवस्था गर्नेदेखि संघीय शिक्षा ऐन जारी गर्नेसम्म उल्लेख छ ।

कार्यसूचीमा कामका समयसीमा भने खुलाइएको छैन । ‘आन्तरिक रुपमा समयसीमा तोकेरै कार्यसूची बनाएका हौं । शिक्षामा आमुल परिवर्तन गर्ने महत्वकांक्षी लक्ष्य लिएका छैनौं, विद्यमान ऐन, नियम, कानुन कार्यान्वयन गर्दै क्रमशः अघि बढ्छौं,’ उनले भने ।

उनले पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उच्चस्तरीय शिक्षा आयोग २०७५ को प्रतिवेदन सार्वजनिक गरिने पनि संकेत गरे । उक्त प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । कार्यसूचीमा आयोगका प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने उल्लेख छ ।

उक्त प्रतिवेदन अध्ययन गरेर सरोकारवालासंगको छलफलपछि सार्वजनिक गरिने मन्त्री पौडेलले जनाए । शिक्षामन्त्री पौडेलका अनुसार सरकारले विद्यालय शिक्षा, उच्चशिक्षा र प्राविधिक शिक्षा सम्बन्धी तीनवटै ऐन जारी गर्नेछ । ऐन जारी गर्न सत्ता गठबन्धन र सरोकारवालाबीच छलफल चलिरहेको उनको भनाइ छ ।

शिक्षा मन्त्रालयले शिक्षण अस्पताल स्थापना, विद्यार्थीले पाउने छात्रवृत्तिको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय पुस्तकालय निर्माण, नर्सिङको भर्ना, पढ्दै कमाउँदै कार्यक्रम कार्यन्वयन र शिक्षक नियुक्तिको खुला विज्ञापनको काम पनि अघि बढाइसकेको उनले जनाए ।

यस्तै निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विषयमा गुनासो आएकाले प्रभावकारी अनुगमन गरिने मन्त्री पौडेलले बताएका थिए । कोभिडका कारण परेको शैक्षिक क्षति न्यूनीकरणका लागि वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको उनले बताए ।

प्रकाशित : मंसिर ७, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?