न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : माधव नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएका छन् । 

जनकपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, “हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएकोे विवाद समाधान गर्नुपर्छ ।”

समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नाकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताए ।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए । उनले भने, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।

प्रकाशित : मंसिर ७, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

झण्डै ७० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमै, कर्णालीमा ०.६ मात्र 

कान्तिपुर संवाददाता

काठमाडौँ — निक्षेप र कर्जा परिचालन मात्रै नभई इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि बाग्मती प्रदेशमै केन्द्रित रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकको संघीय संरचना अनुसार समग्र वित्तीय सेवा विकेन्द्रित हुन नसक्दा इन्टरनेट र मोबाइल बैकिङ सेवा पनि बाग्मती प्रदेशमा केन्द्रित रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।   


राष्ट्र बैंकका अनुसार मुलुकभरको कुल इन्टरनेट बैंकिङ कारोबारमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ६८.६ प्रतिशत छ । जसअनुसार कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ०.६ प्रतिशत छ । यस्तै, प्रदेश १ को हिस्सा ८, प्रदेश २ को ७.६०, गण्डकीको ६.६, लुम्बिनीको ६.९० र सुदूरपश्चिम प्रदेशको १.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

मोबाइल बैंकिङका कुल प्रयोगकर्तामध्ये सबैभन्दा बढी ३९.५ प्रतिशत बाग्मती प्रदेशमै रहेको देखिन्छ । जसअनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम २.९ प्रतिशत मोबाइल बैकिङ प्रयोगकर्ता छन् । यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये प्रदेश १ को हिस्सा १३.७, प्रदेश २ को ९.६, गण्डकीको ११.५, लुम्बिनीको १६.२ र सुदूरपश्चिम प्रदेशको ६.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रति शाखा बैकिङ सेवा लिने सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा १ हजार ८ सय ५१ जना छन् । सबैभन्दा बढी प्रति शाखा बैकिङ सेवा लिने कर्णाली प्रदेशमा ४ हजार ४ सय ५७ जना छन् । प्रदेश २ मा यस्तो संख्या ३ हजार ९ सय ५२ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : मंसिर ७, २०७८ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×