राष्ट्रपति भण्डारी घुमघाममा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरीको मटिहानी पुगेकी छन् । रंगशाला उद्घाटनको मुख्य कार्यक्रममा भाग लिन गएकी उनले त्यहाँका धार्मिक मठ पनि घुम्ने कार्यक्रम छ । केही समययता राष्ट्रपति भण्डारीको सार्वजनिक कार्यक्रम र घुमफिर बाक्लिएको छ । 

राष्ट्रपति भण्डारी घुमघाममा

मंसिर ४ गते राष्ट्रपति भण्डारीले स्वयम्भूमा ज्ञानमाला भजन खलः को भवन उद्घाटन गरिन् । २०७२ सालको महाभूकम्पले क्षति पुगेको उक्त भवनको जिर्णोद्दारपछि राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । भजनका माध्यमद्वारा राणा शासन विरूद्धको क्रान्तिमा लाग्न बौद्ध भिक्षुहरूले त्यसबखत महत्वपूर्ण भूमिका निर्वाह गरका थिए । त्यस्तो ऐतिहासिक महत्व बोकेको भवनको उद्घाटन गर्न राष्ट्रपति जानु भएको उल्लेख गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालले भने, ‘ऐतिहासिक महत्व बोकेका स्थलहरूको भ्रमण गर्नुभएको हो । यो सामान्य कुरा हो, यसमा सक्रियताको कुनै कुरा छैन ।’

अघिल्लो महिनादेखि राष्ट्रपति विद्यादेवी भण्डारी हप्तैपिच्छे देशका विभिन्न धार्मिक पीठ तथा पर्यटकीय क्षेत्रमा पुगेकी छन् । कात्तिक १३ गते राष्ट्रपतिले सेनाको हेलिकोप्टरबाट मुस्ताङको मुक्तिनाथ पुगेर पूजाअर्चना गरेकी थिइन् । नेपालमा करिब २ वर्षदेखि कोरोना भाइरस महामारीका कारण धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवम् तीर्थयात्रा हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा नेपालको पर्यटन तथा तीर्थयात्रा सुरक्षित छ भन्ने सन्देश दिन र प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने उद्देश्यले राष्ट्रपति भण्डारी मुक्तिनाथ पुगेको राष्ट्रपति कार्यालयले जनाएको थियो । मुक्तिनाथबाट फर्केको भोलिपल्ट कात्तिक १४ गते उनी लुम्बिनी पुगिन् । त्यहाँ उनले बज्रयान विहार अवलोकन र लुम्बिनी गुरुयोजनाको जानकारी लिइन् । त्यही दिन उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्तिको उद्घाटन गरिन् । कात्तिक १५ गते उनी मनाङ पुगेकी थिइन् । त्यसदिन उनले मनाङको भ्राताङमा स्याउफार्म अवलोकन गरेकी थिइन् । कात्तिक २४ गते गौरीघाटको छठ पूजामा सरिक भइन् । मंसिर ४ गते उनी स्वयम्भूमा ज्ञानमाला भजन खलः को भवन उद्घाटन गरिन् ।

प्रेस सल्लाहकार ढकालका अनुसार कोभिड–१९ सकिएपछि सामान्य अवस्थातिर जाँदै गरेको अवस्थाबारे सन्देश दिन राष्ट्रपतिका यस्ता भ्रमणहरू हुने गरेका हुन् ।

कात्तिक यता राष्ट्रपति भण्डारी कहाँ–कहाँ पुगिन् ?

कात्तिक १३ : मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना ।

कात्तिक १३:बाग्लुङ ढोरपाटन शिकार आरक्ष अवलोकन

कात्तिक १४: बुद्धजन्मस्थल लुम्बिनीमा बज्रयान विहार अवलोकन, लुम्बिनी गुरूयोजनाबारे जानकारी ।

कात्तिक १५ : मनाङ भ्रमण, स्याउ बगैँचाको अवलोकन

कात्तिक २४ : काठमाडौँस्थित गौरीघटमा छट पूजामा सरिक ।

मंसिर ४ : स्वयम्भूमा ज्ञानमाला भजन खलः को भवन उद्घाटन ।

मंसिर ६: महोत्तरीको मटिहानीमा रंगशाला उद्घाटन ।

प्रकाशित : मंसिर ६, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?