१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
कांग्रेस महाधिवेशन

देउवाको आड खोज्दै नवप्रवेशी

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका विजयकुमार गच्छदार अहिले केन्द्रीय उपसभापति छन् । आसन्न महाधिवेशनमा उनी पुनः उपसभापतिका आकांक्षी हुन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछिका सिनियर नेता पनि । कांग्रेसबाटै उनले पटक–पटक आमचुनाव जिते, मन्त्री समेत भए । तैपनि यसपटकको महाधिवेशनमा उनी कांग्रेस नेता कार्यकर्ताका लागि ‘नवप्रवेशी’ हुन् ।  

देउवाको आड खोज्दै नवप्रवेशी

०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेका गच्छदार पार्टी विभाजनका कारण राजनीतिक भूमिका खुम्चिएपछि २०७४ को आमचुनावअघि कांग्रेसमै फर्किए । १० वर्ष पार्टीबाट अलग भएर फर्किएपछि उनका लागि यो पहिलो महाधिवेशन हो । बिगतमा पटक–पटक पार्टीको आन्तरिक निर्वाचन जितेका गच्छदारलाई यसपटक भने सजिलो नभएको नेताहरू बताउँछन् । तर, पार्टीमा आफ्नो वर्चस्व फर्काउन गच्छदार निरन्तर कसरतमा छन् । सत्ता र शक्तिभन्दा बाहिर बस्न नचाहने चतुर राजनीतिक स्वभावका गच्छदार आफू नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा विलय गराएर संसदीय दलको उपनेता समेत भए । वर्तमान केन्द्रीय कार्यसमितिमा पनि उनका ११ केन्द्रीय सदस्य छन् । कांग्रेसमा विलय हुँदा उनले दुई सय महासमिति सदस्य र छ सय महाधिवेशन प्रतिनिधि पाएका थिए । उनले त्यही शक्तिको बलमा आसन्न महाधिवेशनमा आफ्नो स्थान खोजिरहेका छन् ।

गच्छदारलाई सभापति देउवाले आफ्नो टिममा उपसभापतिको उम्मेदवार बनाउने चर्चा कांग्रेसवृत्तमा छ । तर, गच्छदारले भने त्यसबारे मुख खोलेर बोलिसकेका छैनन् । लामो समयपछि पार्टीमा फर्किएकाले यो महाधिवेशनमा उनले सुरक्षित बाटो खोजिरहेको नेताहरू बताउँछन् । ‘उहाँलाई सुरक्षित बाटो चाहिएको छ । त्यसैको खोजी गरिरहेको देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘उहाँलाई अस्तित्वमा रहेका बलिया टिममध्ये एउटाले साथ दिनुपर्छ । बलियो टिमले बलियो साथ दिएमात्रै हो, नभए जित्न कठिन पर्छ । उहाँ जितको सुनिश्चितता खोजिरहनुभएको छ ।’

०७४ मा कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले २० कात्तिक, ०७५ मा राजनीतिक निर्णयका आधारमा उपसभापति मनोनित गरेका थिए । गच्छदारको सिफारिसमा रामजनम चौधरी, मोहम्मद सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, हरिप्रसाद न्यौपाने, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडालाई देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

अहिले केन्द्रीय समितिमा रहेका यी नेता १४ औं महाधिवेशनपछि पनि कुनै न कुनै भूमिका चाहन्छन् । गच्छदारनिकट केन्द्रीय सदस्य योगेन्द्र चौधरी यो महाधिवेशनमा आफूहरूले आफ्नो सुनिश्चितता खोजिरहेको बताउँछन् । ‘विजय दाईले सबैसँग संवाद थाल्नुभएको छ । तर, हामी सबैले आफ्नो सुनिश्चितता खोजिरहेका छौं । नवप्रवेशी भएकाले हामीले आफ्नो सुनिश्चितता खोजेका हौं । के गर्ने भनेर निर्णय नै भइसकेको चाँहि छैन । तर, हामीलाई सभापति शेरबहादुर देउवाले नै सम्बोधन गरेर पार्टीमा प्रवेश गराउनुभएकाले अहिले उहाँसँगै सहकार्य गर्ने कुरा स्वभाविक हो,’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापापुत्र सुनिलबहादुर थापा पनि देउवाकै आडमा स्थान खोजिरहेका छन् । थापालाई देउवा र पौडेलले २८ कात्तिक, ०७७ मा कांग्रेस प्रवेश गराएका थिए । त्यसबेला पार्टीभित्र राजनीतिक सहमतिमा सहमहामन्त्री पाएका थापा अब त्योभन्दा माथिल्लो पदमा जान चाहन्छन्, नभए कम्तिमा सहमहामन्त्री पाउनुपर्ने उनको दाबी छ । उनीसँगै कांग्रेस प्रवेश गरेका केन्द्रीय सदस्यहरू रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगी तथा आमन्त्रित सदस्यहरू दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहले उपयुक्त जिम्मेवारी खोजेका छन् । ‘हामी नवप्रवेशी हौं, त्यसैले अहिलेका लागि हामी संस्थापन पक्षमै छौं । तर, महाधिवेशनमा हाम्रो स्थान के हुने भन्ने कुराले हाम्रो निर्णय हुन्छ,’ थापानिकट एक नेताले भने । ती नेताका अनुसार थापाले देउवासँग आफूहरूको स्थानबारे प्रस्ताव गरिसकेका छन् । ‘हामीले आफ्नो कुरा राखेका छौं । उहाँले १० मंसिरपछि छलफल गरौं भन्नुभएको छ,’ ती नेताले भने, ‘हामी सभापतिमा उहाँलाई जिताउने अभियानमा छौं । उहाँले जिते हाम्रो स्पेस आफैं बन्छ ।’

सभापति देउवानिकट नेता नैनसिंह महरले भने सबैलाई समेटेर टिम बनाउने तयारी रहेको बताए । ‘गच्छदार दाई र सुनिल दाईको मात्रै होइन, अन्य पार्टीबाट आएका सबैजसो साथीहरू संस्थापन पक्षमै एकीकरण भएका हौं, हामी संस्थापनकै भयौं भनेर लाग्नुभएको छ, हामीले पनि यो महाधिवेशनमा कम्तिमा उहाँहरूलाई संरक्षण गरेरै जानुपर्छ भनेका छौं, त्यसैगरी टिम बन्छ,’ उनले भने ।

विधानअनुसार १३ औं महाधिवेशनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय मात्रै हो । तर, अहिले केन्द्रीय कार्यसमिति २२ आमन्त्रितसहित १२५ सदस्यीय छ, अर्थात् देउवाले विधानविपरीत राजनीतिक लाभहानी/भागबण्डाका आधारमा ४० जना नेतालाई मनोनित गरेका छन् ।

गच्छदार र थापासँगबाहेक देउवाले आफ्नो सहजता हेरेर राजपा छाडेर कांग्रेसमा आएका सर्लाहीका जंगीलाल राय र राप्रपा छाडेर आएका डोल्पाका कर्णबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । त्यस्तै, माओवादी छाडेर आएका सर्लाहीका शम्भुलाल श्रेष्ठ, डडेलधुराका जनकलाल कलौनी, समाजबादीबाट आएका कपिलबस्तुका अभिषेखप्रताप शाह, एमालेबाट आएका कैलालीका मोहनसिंह राठोर, नयाँ शक्तिबाट आएका स्याङ्जाका भूमिबहादुर गुरुङ, अखण्ड नेपाल छाडेर आएका कुमार खड्का र अखण्ड नेपाल समानान्तरका दयाराम पाण्डेलाई पनि आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन् ।

अन्य पार्टीबाट प्रवेश गरेका सबैजसो नेताहरू १४ औँ महाधिवेशनपछि आफ्नो राजनीतिक स्पेस खोजिरहेको केन्द्रीय सदस्य प्रदीप पौडेल पनि बताउँछन् । ‘नवप्रवेशीहरूलाई कम्तिमा एउटा महाधिवेशनसम्म त पार्टीले सम्मानजनक ठाउँ दिएर राख्नुपर्ने हो,’ पौडेल भन्छन्, ‘तर हाम्रोमा यस्तो अभ्यास छैन । कोसँग कति भोट छ ? त्यहीअनुसार नेताहरूले स्पेस दिने देखिन्छ । नवप्रवेशीलाई पार्टीमा सम्मानजनक ठाउँ दिनुपर्छ भनेर सोचविचार पुर्‍याएको जस्तो लाग्दैन ।’

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका गच्छदार गत ३० असारमा विषेश अदालतबाट १० लाख धरौटीमा छुटेका थिए । उनले अदालतबाट छुटेपछि आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरीे षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरिएको भन्दै निर्दोष भएको दाबी गरेका थिए ।

प्रकाशित : मंसिर ५, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?