गृहमन्त्री खाँणले भने- 'मोतीपुरका स्थानीयको माग सम्बोधन गरेरै औद्योगिक क्षेत्र बन्छ'

सन्जु पौडेल

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवाद नागरिकस्तरदेखि समाधान गरेर औद्योगिक क्षेत्र निर्माणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमै रहेको भन्दै उनीहरुका मागलाई सम्बोधन गरेरमात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताएका हुन् । 

गृहमन्त्री खाँणले भने- 'मोतीपुरका स्थानीयको माग सम्बोधन गरेरै औद्योगिक क्षेत्र बन्छ'

बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवअन्तर्गत आइतबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले स्थानीयलाई सम्बोधन गरेर क्षेत्रफल घटाएर भए पनि औद्योगिक क्षेत्र बनाउने जनाए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै उनले भने, 'जनतालाई विस्थापित नगर्ने गरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाइकन औद्योगिक क्षेत्र स्थापनाको व्यवस्था मिलाउनुहोस् ।’

उनले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेकाहरुले नै राजधानी अन्यत्र सारेको टिप्पणी गरे । एमाले नेता विष्णु पौडेलतर्फ लक्षित गर्दै उनले जुनै पनि नेताले बुटवललाई राजधानी बनाउँछु भनेर नै भोट मागेको भन्दै आफूले स्थापना गरे पनि अरुले अन्यत्रै लगेको बताए ।

फरक प्रसंगमा बोल्दै खाँणले भैरहवामा तयारी पूरा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सरकारले प्रयत्न गरिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उडान ईजाजतको लागि प्रस्ताव गरेको र त्यसमा सकारात्मक सन्देश प्राप्त भएको जानकारीसमेत दिए ।

प्रकाशित : मंसिर ५, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?