२४ घण्टामा २३२ कोरोना संक्रिमत थपिए, ३७० संक्रमणमुक्त, १ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा २३२ कोरोना संक्रिमत थपिए, ३७० संक्रमणमुक्त, १ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रिमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ ।

यस्तै १ हजार २७८ एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ९ हजार १२३ परीक्षणमा २३८ मा कोरोना पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा ३७० जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ८ लाख ३५९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४० हजार १४ जनाले खोप लगाएसँगै नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ७९ लाख ६ हजार ३६९ रहेको छ ।


प्रकाशित : मंसिर ५, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण एसियामा अन्तरदेशीय लगानी न्यून

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली मुलुकबीचमा कमजोर राजनीतिक सम्बन्धको असर यो क्षेत्रको आर्थिक गतिविधिमा देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरुको व्यापार र लगानीको अवस्था निकै कमजोर देखिएको छ । प्रतिबन्धात्मक, विभेदपूर्ण र अपारदर्शी लगानीले यस क्षेत्रको आर्थिक सम्बन्ध सुमधुर हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंक ग्रुपअन्तर्गतको साउथ एसिया डेभलपमेन्ट फोरमले गत बिहीबार सार्वजनिक गरेको ‘रिजनल इन्भेस्टमेन्ट पायोनियर्स इन साउथ एसिया : द पेअफ अफ नोइङ योर नेइबोर’ प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरुमा एकअर्काबीच लगानी सम्बन्ध निकै कमजोर देखाएको हो । लगानी र व्यापारका लागि दक्षिण एसियाली मुलुकहरुबीच विश्वासको वातावरण नरहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यस क्षेत्रका लगानीकर्ताले अर्को देशमा लगानीको वातावरणबारे कति बुझेका छन् भनेर अध्ययनपछि सार्वजनिक गरिएको विश्व बैंकको उक्त प्रतिवेदनले सम्भावनाको एकतिहाई पनि प्रयोग हुन नसकेको उल्लेख गरेको छ । दक्षिण एसियाली मुलुकहरुले छिमेकी देशमा गरेको व्यापार र लगानी विश्वका अरु देशसँगको भन्दा कम रहेको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो एक दशकको अवधिमा दक्षिण एसियालाई द्रुत गतिको आर्थिक वृद्धिदर हासिलमा उदयीमान क्षेत्रका रुपमा हेरिँदै आएको छ । वस्तु र सेवाको प्रयोगमा मध्यम वर्गको माग बढ्दै जाँदा व्यापार बढेको उल्लेख छ । विश्वको कुल गार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान गर्ने दक्षिण एसियाली क्षेत्रले विश्वव्यापी रुपमा हुने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा भने १ दशमलव ५ प्रतिशत मात्रै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रुपमा परिचालन हुने एफडीआईको १९ प्रतिशत हिस्सा मध्यम र निम्न आर्थिक हैसियत भएका मुलुकले पाउँछन् ।

त्यस्तै पूर्वी एसियन मुलुकहरुले यस्तो लगानीको ४६ प्रतिशत बराबर हिस्सा पाउने गरेको प्रतिवेदनमा जनाइएको छ । अन्य विकासशील देशहरुसँगको तुलनामा दक्षिण एसियाली क्षेत्रमा भएको प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा कम हो ।

सन् २०१७ को तथ्याङ्कलाई आधार मानेर गरिएको विश्लेषणअनुसार नेपालबाट सबैभन्दा बढी सिङ्गापुरमा लगानी भएको छ । नेपालले सिङ्गापुरमा ५ करोड ४८ लाख अमेरिकी डलर बराबर लगानी गरेको छ । त्यस्तै नेपालले लगानी गरेका अरु मुलुकहरुमा क्रमश: रसिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, नाइजेरिया, अमेरिका, भारत, मोरिसस लगायत छन् । नेपाल मात्र नभई श्रीलंका, माल्दिभ्स, भारत र बंगलादेशले पनि सिंगापुरमा सबैभन्दा धेरै लगानी गर्छन् । बंगलादेशले अरु देशहरुमा गरेको लगानी हेर्दा नेपाल चौथो नम्बरमा छ ।

सिङ्गापुर, बेलायत र हङकङपछि बंगलादेशले नेपालमा धेरै लगानी गरेको छ । त्यस्तै, भुटानले पनि थाइल्याण्ड, भारत र इटाली पछि नेपालमा धेरै लगानी पठाएको देखिन्छ । अफगानस्तानबाट सबैभन्दा धेरै इटाली र रुसमा लगानी जान्छ । पाकिस्तानले भने संयुक्त अरब इमिरेट्समा सबैभन्दा धेरै लगानी गर्ने गरेको देखिन्छ ।

नेपालले भारतसँग दोहोरो करमुक्ति (डीटीटीए) र अन्तर्राष्ट्रिय लगानी सम्झौता गरेको छ । बंगलादेश, पाकिस्तान र श्रीलंकाले पनि नेपालसँग दोहोरो करमुक्ति सम्झौता गरेका छन् । तर अफगानस्थान, भुटान र माल्दिभ्ससँग नेपालले यस्तो सम्झौता गर्न बाँकी छ ।

सन् २०१८ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरुबाट हुने बाह्य लगानीमा सबैभन्दा धेरै भारतको हिस्सा छ । यस क्षेत्रबाट हुने वैदेशिक लगानीमा भारतले मात्र ९४ प्रतिशत हिस्सा ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यद्यपि, कुल गार्हस्थ उत्पादनको तुलनामा बढी वैदेशिक लगानी गर्ने देशमा भने माल्दिभ्स पहिलो स्थानमा छ । माल्दिभ्सले आफ्नो जीडीपीको ५ प्रतिशत बराबर अरु देशमा लगानी गरेको जनाइएको छ ।

भारत र श्रीलंकामा त्यहाँका सरकारले विदेशमा लगानी गर्न स्वीकृति दिन्छन् भने सार्कका अरु देशहरुमा भने केन्द्रीय बैंकबाट यस्तो स्वीकृति दिइने गरेको छ ।


प्रकाशित : मंसिर ५, २०७८ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×