कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'प्रधानमन्त्रीले विदेशी लगानीका टिभी च्यानल कसरी उद्घाटन गर्नुभयो ?'

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाहृय लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

'प्रधानमन्त्रीले विदेशी लगानीका टिभी च्यानल कसरी उद्घाटन गर्नुभयो ?'

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत सोधेका छन् ।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । गत मंसिर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए ।

तर प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको उनको प्रतिक्रिया छ।

‘नेपालले बाहृय लगानीका लागि केही क्षेत्रलाई निषेध गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । खासगरी सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरु विभिन्न क्षेत्र सञ्चार माध्यामहरूमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो । त्यो हामीले बुझेका छैनौं । दोस्रो नेपालमा लगानीका निम्ति निश्चित माध्याम छन् । त्यसका लागि उद्योग विभाग अन्तर्गत वान स्टप सर्भिस छन् । त्यसका निम्ति इन्भेष्टमेन्ट बोर्ड छ । बाहृय लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाहिँ हाम्रा निश्चित नियमहरू छन्,' नेता ज्ञवालीले भने ।

नेपालमा विदेशी लगानी आउनु राम्रो कुरा भए पनि त्यो कानुनसम्मत हुन जरुरी रहेको उनको भनाइ थियो । उनले भनेका छन्, 'नेपालमा विदेशी लगानी आउने कुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।' तर कानुन विपरीत नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले लगानी आउने कुरा निषेध गरिएको नेता ज्ञवालीले बताए ।

प्रकाशित : मंसिर ५, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?