कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रधानमन्त्री देउवाले आपूर्तिमन्त्री नियुक्ती नगरेपछि माधव नेपाल असन्तुष्ट

'खाना पकाउने ग्याासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु भनेको जनतामाथि अत्याचार हो'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त नगरेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले आपूर्तिमन्त्री नियुक्ती नगरेपछि माधव नेपाल असन्तुष्ट

उनले सरकार गम्भीर बन्‍न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘समस्याको कारण पनि खोज्नु पर्‍यो समाधान पनि निकाल्नु पर्‍यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्‍यो । एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैंले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौं, अरु कोही नपाइए हामी छँदै छौं नि मन्त्री दिने भनिरहेका छौं । सुन्दैनन् । यसको पछाडि राजनीतिक कारण होला, जनतालाई पीडामा वेदनामा पुर्‍याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन । बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरु खेज्नु पर्दछ । जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत योजनाको खाँचो छ ।’

अध्यक्ष नेपालले खाना पकाउने ग्याासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए । उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसाबकिताब हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैं जोडिरहनु पर्ने बताए । उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनल, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए । अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?