आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप- समाचार - कान्तिपुर समाचार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

रासस

काठमाडौँ — कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन सुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि मंसिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा मंसिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गंगालाल ह्रदय रोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिए । उनका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ । आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पठाइएको उनले बताए ।

फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् ।

सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो ।


प्रकाशित : मंसिर ५, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

पानी छैन, घरघरमा धारा

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६ मधमकाँडाकी ४५ वर्षीया जयकली बुढाथोकीले टाकुरा मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै घरमै पानी आउने आशामा ६ महिनाअघि धारा जडान गरिन् । दसैंअघि नै नगरपालिकाले घरघरमा पानी वितरण गर्ने भनेपछि उनकी छिमेकी लक्ष्मी बुढाथोकीले पनि भदौअघि नै घरछेउमा धारा जडान गरेकी छन् । तर धारामा पानी कहिले आउँछ भन्ने यकिन नहुँदा स्थानीयहरू निराश छन् ।

धारामा पानी नआएपछि उनीहरूलाई एक घण्टा हिँडेर बस्तीभन्दा तलको खोल्सामा धाउनुपर्ने बाध्यता छ । ‘सधैं पानीको पिरलो हुन्छ,’ वुढाथोकीले भनिन्, ‘महिला र बालबालिकाको साँझ–बिहानको काम नै पानी ओसार्ने हुन थालेको छ ।’ शारदा नगरपालिकाले टाकुरा, मधमकाँडालगायत आसपासका स्थानीयलाई पानी उपलब्ध गराउन २०७६ र ०७७ मा गरी झन्डै एक करोड बजेट बिनियोजन गरेर ठेक्कामार्फत लिफ्ट खानेपानी योजनाको काम सम्पन्न गरिसकेको छ । सोही योजनाअन्तर्गत स्थानीयले घरघरमा धारा जडान गरेका हुन् । तर धारा जडान गरेको महिनौंसम्म पनि पानी नआउँदा करिब ३ सय परिवारमा खानेपानी समस्या भएको हो ।

मधमकाँडाकी पवित्रा बुढाथोकीले धारामा पानी नआउँदा ज्यान जोखिममा राखेर खोल्साखोल्सी चाहार्नुपर्ने बाध्यता अझै नटरेको बताइन् । उनले ४० वर्षदेखि नै पानीको अभाव झेल्दै आएको बताइन् । पानी अभावकै कारण तरकारी फलाउन र वस्तुभाउ पाल्नसमेत मुस्किल भएको उनको गुनासो छ ।

गत वर्ष ट्यांकीमा पानी पुगेसँगै पहिलो चरणको काम सकिएको थियो । ‘अझै पानीको दुःख कहिलेसम्म भोग्नुपर्ने हो,’ उनले भनिन्, ‘ट्याकीमा पानी आएपछि योजना उद्घाटन पनि गरिएको थियो, तर हाम्रो खानेपानीको सपना अझै पूरा भएन ।’ नगरपालिकाको झन्डै एक करोड रुपैयाँ बजेटबाट योजना बनाएको इन्जिनियर भरत वुढाथोकीले बताए । ‘अन्य आसपासका बस्तीमा पनि सँगै पानी पठाउने तयारीले समस्या भएको हो,’ उनले भने, ‘अरु गाउँमा पनि धारा निर्माणको काम धमाधम भइरहेको छ, ती गाउँका सबै घरमा धारा बनेपछि टाकुरा र मधमकाँडामा पनि छाडिनेछ ।’

प्रकाशित : मंसिर ५, २०७८ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×