ओलीले थाले पदाधिकारीसँग छलफल

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटको विषयमा पदाधिकारीहरुसँग अनौपचारिक रुपमा छलफल सुरु गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष दोहोर्‍याउन चाहेका ओलीले १० बुँदे सहमति पक्षमा नेताहरुसँग भेट गर्दै एकल र सामूहिक रुपमा अनौपचारिक छलफल गरेका छन् ।

ओलीले थाले पदाधिकारीसँग छलफल

बिहीबार उनले उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी कमिटीको सदस्य सुरेन्द्र पाण्डेसँग निवास बालकोटमा छलफल गरेका थिए । त्यसअघि ओलीले उपाध्यक्ष भीम रावल, सचिव भीम आचार्य, स्थायी कमिटीका सदस्य रघुजी पन्तसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

महाधिवेशनअघि अध्यक्ष ओलीले आगामी दिनमा कसरी बढ्ने भन्ने विषयमा सबै पदाधिकारी तथा अन्य प्रमुख नेताहरुसँग छलफल गर्ने उनी निकट एक पदाधिकारीले बताए । 'अध्यक्षले महाधिवेशन भन्दा अघि नै सबै पदाधिकारीहरुसँग छलफल गर्ने बताउनुभएको छ । सके सहमति गरेर जाने पक्षमा देखिनु भएको छ’, ओली निकट एक पदाधिकारीले भने ।

तर ओलीले हालसम्म उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलाई भने भेट गरेका छैनन् । 'अध्यक्षसँग अन्तिम छलफल हुन बाँकी रहेकाले कसरी जाने भन्ने विषयमा अहिले नै टिप्पणी गर्न सक्ने अवस्था छैन,’ भेट हुन बाँकी रहेका पदाधिकारीले भने, ’अध्यक्षले सहमति गर्न चाहेको हो भने कस्तो हो त्यस विषयमा स्पष्ट भएपछि मात्रै धारणा राख्ने छौं ।’

बिहीबार सामूहिक भेटमा गएका नेताहरुले अध्यक्ष ओलीलाई सहमतिको वातावरण बनाउनका लागि आग्रह गरेका थिए । उनीहरुले सहमति हुन नसके त्यसले एमालेमा गम्भीर क्षति पुर्‍याउनतर्फ पनि अध्यक्ष ओलीको सचेत गराएका थिए । 'सहमतिको वातावरण बनाउनुस् भनेर भन्यौं,’ भेटमा सहभागी रहेका नेताले भने, 'असन्तुष्टि भयो भने उता माधव नेपालले जाल थापेर बस्नु भएको छ । प्रचण्डजी जाल थापेर बस्नु भएको छ । माओवादीबाट आएका उतै जाने, एमालेमा कतिपय तल्लो कमिटीमा रहेका कार्यकर्ताहरु माधव नेपालतर्फ जाने अवस्था सिर्जना हुनसक्छ ।’

उनीहरुले ओलीलाई आफूलाई मनपरेको व्यक्तिलाई टिपेर नेतृत्वमा ल्याउनुभन्दा मापदण्ड बनाएर अघि बढ्न सुझाव दिएका थिए । 'मापदण्ड बनाएर नेतृत्व चयन नगर्ने हो भने त्यसले एमालेलाई नोक्सान गर्छ । त्यसकारण एउटा मापदण्ड बनाएर जाने हो भने सजिलो हुन्छ । व्यक्ति व्यक्ति टिपेर जान थाल्ने हो भने समस्या उत्पन्न हुन्छ,’ ओलीलाई दिएको सुझाव उद्धृत गर्दै ती एमाले नेताले भने ।

सामूहिक भेटमा सहभागी भएका नेताहरुसँग अध्यक्ष ओलीले सबै पक्षलाई मिलाएर लैजाने पक्षमै आफू रहेको जानकारी गराएका थिए । भेटपछि शाक्य, ज्ञवाली र पाण्डे उत्साहित देखिएका छन् ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने १० औं राष्ट्रिय महाधिवेशनमा एमालेको १५ पदाधिकारीसहित २ सय २५ जना सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।

प्रतिनिधि छनोटमा निकै शक्तिशाली देखिएका ओलीले निर्विरोध रुपमा अध्यक्षमा दोहोरिन चाहन्छन् । माधवकुमार नेपालसहितका नेताहरु विभाजित भएर नयाँ राजनीतिक दल खोलेपछि एमालेभित्र अध्यक्ष ओली झनै शक्तिशाली बनेका छन् । अध्यक्ष ओलीले चाहेको व्यक्तिमात्रै एमालेको १५ सदस्यीय पदाधिकारीमा महाधिवेशन निर्वाचित हुने सक्ने परिस्थिति सिर्जना भएको छ । जस कारण एमालेका नेताहरुले नेतृत्वमा आउने आफ्नो आकांक्षालाई स्पष्ट रुपमा बताउन सकेका छैनन् । एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव एक/एक, उपाध्यक्ष ४ र सचिव ७ गरी १५ पदाधिकारी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनमा निर्वाचित १२ पदाधिकारी एमालेमा रहेका छन् । उनीहरु सबै पदाधिकारीमा दोहोरिन चाहन्छन् ।

रावलको तयारी

ओलीसँग भेट्ने सबै नेताहरुको बुझाइ भने एकै प्रकारको छैन । उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँगको भेट प्रतिस्पर्धा गर्ने विषयमा छलफललाई तीव्रता दिएका छन् । रावलसँग पनि अध्यक्ष ओलीसँग यसै साता बालकोटस्थित निवासमा भेट गरेका थिए । सो भेटमा उपाध्यक्ष रावलले महाधिवशेनमा कसरी जान्छौं, प्रतिनिधिको मनोनयन विषयलाई टुंगो लगाउन र बैठक बोलाउन ओलीसँग जिज्ञासा राखेका थिए ।

नेतृत्वको विषयमा अध्यक्ष ओलीले ठोस जवाफ नआएको उपाध्यक्ष रावलले बताए । 'महाधिवशेनमा कसरी जान्छौं, महाधिवेशन प्रतिनिधिको मनोनयन विषयलाई टुंगो लगाउन र बैठक बोलाउन आग्रह गरेको थियो,’ रावलले भने, ’अध्यक्ष ओलीले ठोस कुरा गर्नु भएन ।’

रावलले भने उम्मेदवारी कसरी दिने भन्ने निर्णय पुग्ने अन्तिम बिन्दुतर्फ गइरहेका छौं अहिले विषयवस्तुले एउटा किनारा लागोस् भनेर कारणले गर्दा नबोलेको हो । एउटा टुंगोमा पुगेपछि केही दिनभित्रै यस विषयलाई लिएर केही जानकारी दिने छु ।’

उपाध्यक्ष रावलले २ साताअघि गृहजिल्ला आछाममा भएको कार्यक्रममा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर त्यसपछि भने यस विषयमा सार्वजनिक रुपमा धारणा राखेका छैनन् ।


प्रकाशित : मंसिर ४, २०७८ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?