कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चाक्सीबारीमा शशांक–प्रकाशमान समझदारी : ‘अब संयमित भएर अघि बढौँ’ 

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । पार्टीको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी समेत रहेका कोइराला र सिंहबीच केही सातायता एकापसमा घोचपेचको श्रृंखला नै चलेको थियो ।

चाक्सीबारीमा शशांक–प्रकाशमान समझदारी : ‘अब संयमित भएर अघि बढौँ’ 

सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेताहरूप्रति तिखो बोली प्रहार गर्दै सम्पर्कमा समेत थिएनन् । सिंह एक्लै सभापतिको तयारीमा अघि बढेपछि शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सबै जना मिलेर जानुपर्ने अवस्था रहेको भन्दै नेताहरू एकपछि अर्कोले भेटेर सिंहलाई फकाउने प्रयास गरिरहेका छन् । महामन्त्री कोइराला नेता सिंहलाई भेट्न शनिबार दिउँसो उनको निवास ठमेल चाक्सीबारी पुगेका थिए । यसअघि बिहीबार वरिष्ठ नेता पौडेल र शुक्रबार केन्द्रीय सदस्य शेखर कोइरालाले पनि सिंहसँग भेटवार्ता गरेका थिए ।

महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी रहेका सिंह र कोइरालाबीच केही सातायता एकापसलाई चोट पर्ने गरी भनाभन हुँदै आएको थियो । शनिबारको भेटपछि दुवै जनाले संयमित भएर अघि बढ्ने समझदारी गरेका छन् ।

‘महामन्त्रीज्यू आउनुभएको थियो, करिब एक घण्टा बस्नुभयो,’ चाक्सीबारी स्रोतले भन्यो, ‘केही दिनयता भएका भनाभनको विषयमा पनि समीक्षा भयो । ती कुराले दुवैलाई राम्रो नगर्ने र त्यो नियतवश नभएको भन्नेसम्मको समझदारी भयो ।’

भेटमा महामन्त्री कोइरालाले सिंहलाई सामूहिक रुपमा छलफल गरेर महाधिवेशनको तयारीमा अघि बढ्न प्रस्ताव गरेका थिए । ‘एक्ला एक्लै भिडेर केही हुने अवस्था छैन । मिलाएर जानुपर्छ । तपाईं आफूमात्रै अघि बढ्ने कुरा नगर्नुहोला,’ कोइरालाले भनेका थिए ।

उनले आफ्नो टिमका सबै जना बसेर छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘हामी–हामीबीचमै मतभेद भयो भने राम्रो हुँदैन । सबैलाई मिलाएर जानुपर्छ । सबै जना बसेर सल्लाह गरौँ,’ कोइरालाको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

जवाफमा नेता सिंहले आफूले मात्रै सधैँ त्याग गर्नुपर्ने कुरा नगर्न भनेका थिए । ‘मैले छलफल नगरौँ भनेको छैन । छलफल पनि गरौँ । समझदारी र सहमति पनि गरौँ । म त पावर सेयरिङ गर्न पनि तयार छु,’ सिंहले भनेको उदृत गर्दै निकट एक नेताले भने, ‘म सभापतिको उम्मेदवार हो । यसमा म छलफल गर्न तयार छु ।’

भेटमा सिंहले कोइरालालाई कोइराला परिवारबाट एक जनामात्रै उम्मेदवार बन्ने विषयमा भएको सहमति के हो ? भनेर प्रश्न गरेका थिए । कोइरालाले त्यस्तो पत्रकार सम्मेलन नै गर्ने गरेर कुनै सहमति नभएको बताए ।

कोइराला र सिंह कांग्रेसका संस्थापक नेतापुत्र हुन् । सिंह गणेशमानका छोरा हुन् भने कोइराला बीपीका । सिंह नेविसंघको राजनीति गरेर पार्टीको काठमाडौं सभापति हुदै केन्द्रीय राजनीतिमा आएका हुन् । कोइराला चिकित्सक पेशाबाट सिधैं पार्टी राजनीतिमा आएका हुन् ।

आफू पार्टी सभापतिका लागि 'नेचुरल क्याण्डिडेट' भनेर दाबी गर्दै आएका सिंहले कोइरालालाई लक्षित गर्दै ‘मौका पाएर पनि काम गर्न नसक्नेहरूलाई महाधिवेशनबाट फेरि जिम्मेवारी दिन नहुने’ अभिव्यक्ति दिएका थिए । कोइरालाहरूले आफूले जस्तो 'ग्रासरुट'को राजनीति नबुझेको सिंहको टिप्पणी छ ।

उनको भनाइबाट आक्रोशित बनेका महामन्त्री कोइरालाले गत साता सर्लाहीमा भएको कार्यक्रममा ‘प्रकाशमानलाई काठमाडौं बाहिर कसैले नचिन्ने’ अभिव्यक्ति दिएका थिए । कोइराला र सिंहबीच आरोप–प्रत्यारोप हुँदै आएको थियो ।

शनिबारको छलफलपछि उनीहरूले यसरी आरोप-प्रत्यारोपमा उत्रिँदा आफैंलाई क्षति हुने निष्कर्ष निकालेका छन् ।

कांग्रेसमा सभापतिका लागि संस्थापनतर्फ देउवासँग उपसभापति विमलेन्द्र निधि र पूर्वसभापति गोपालमान श्रेष्ठ समेत आकांक्षी छन् । पौडेल समूहमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य सभापतिका मुख्य आकांक्षी छन् ।

संस्थापन पक्षबाट सबैभन्दा बलियो उम्मेदवार देउवा नै भएकाले देउवालाई पराजित गर्ने गरी आफूहरूमध्ये सबैभन्दा बलियो उम्मेदवारलाई टिमबाट सर्वसम्मत सभापतिको उम्मेदवार बनाएर महाधिवेशनमा होमिनुपर्ने पौडेल समूहका नेताहरूको भनाइ छ । त्यसका लागि प्रयत्न पनि नभएको होइन ।

तर अहिलेसम्म त्यस्तो कुनै सहमति जुट्न सकेको छैन । बरु एकले अर्कालाई कमजोर तुल्याउन नेताहरू आरोप प्रत्यारोपको तहमा उत्रिन थालेका छन् । यसअघि १८ भदौको वडा अधिवेशन अगाडि चारै जना आकांक्षीले एउटै मञ्चबाट आफूहरूमध्ये एक जनामात्रै सभापतिको साझा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

त्यसपछि भने आकांक्षी चारै नेताहरू एकै ठाउँमा भेला हुनै कठिन पर्दै आएको छ । वरिष्ठ नेता पौडेलले तीन जना मिलेर आए आफू बाधक नबन्ने बताइसकेका छन् ।

‘सबैको सहमति भयो भने म बाधक बन्दिनँ । नभए म अघिल्लो पटक हारेको घाइते हुँ । म लड्छु । तीन तहको निर्वाचन सकेर पार्टीको नेतृत्व हस्तान्तरण गर्छु,’ उनले समूहको भेलामा भनिसकेका छन् । नेता सिंह र कोइरालाद्धयले पनि आफैँ साझा उम्मेदवार बन्नुपर्ने दाबी गर्दै आएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुँदैछ ।

प्रकाशित : मंसिर ४, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?