‘नेपाल–अमेरिका सम्बन्ध सन्तोषजनक’

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच वार्ता
एमसीसी सम्झौता र अमेरिकी सहयोगका विषयमा छलफल
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङको टोलीबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल–अमेरिका सम्बन्ध सन्तोषजनक रहेको उल्लेख गरेका थिए ।

‘नेपाल–अमेरिका सम्बन्ध सन्तोषजनक’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा ढिला भइरहेका बेला नेपाल–अमेरिका सम्बन्धमा यस्तो धारणा आएको हो । सहायक विदेश मन्त्री लु र उपसहायक विदेशमन्त्री किडरलिङ अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवा मुख्य–सचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल र प्रशासनिक सल्लाहकार पूर्वसचिव जनार्दन नेपालसहित उपस्थित थिए ।

झन्डै एक घण्टा लामो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोभिड–१९ महामारीका बेला नेपाललाई भएको सहयोग, कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानबारे छलफल भएको थियो । नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।


प्रधानमन्त्री देउवाले ट्वीट गर्दै अमेरिकी सहायक विदेशमन्त्री लुसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान गरेका छौं ।’

अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्तापछि ट्वीट गर्दै नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु र उपसहायक मन्त्री किडरलिङले नेपालसँगको सहयोग र साझेदारी जारी राख्ने प्रतिबद्धता गरेको जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘वार्तामा उनीहरू (लु र किडरलिङ) ले पारस्परिक हितको क्षेत्र कोभिड–१९, जलवायु परिवर्तन र अन्य क्षेत्रमा नेपालसँगको सहयोग र साझेदारी जारी राख्ने अमेरिकाको प्रतिबद्धता दोहोर्‍याए ।’

प्रधानमन्त्री देउवा र अमेरिकी टोलीबीच एमसीसीको ५ सय मिलियन अमेरिकी डलर अनुदान रहने नेपालको सडक र ऊर्जा पूर्वाधारसम्बन्धी परियोजनाका लागि भएको सम्झौताबारे पनि छलफल भएको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता कार्यान्वयनमा नेपाल सकारात्मक रहेको विश्वास भ्रमण टोलीलाई दिलाएका थिए । ४ वर्ष बित्दा पनि एमसीसी सम्झौता नेपालको

संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन सुरु भएको छैन । पाँचदलीय सत्ता गठबन्धनभित्र नै एमसीसी सम्झौता अनुमोदन गराउने सम्बन्धमा विवाद छ ।

भेटवार्तापछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए । देउवाले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोगप्रति प्रशंसा गरेका थिए ।

सहायक मन्त्री लुले शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँणलगायतसँग सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । विभिन्न दलका शीर्ष नेतासँग पनि सिंहदरबारमै भेटवार्ता गर्ने कार्यक्रम छ । लुले बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणबारे शिक्षण अस्पतालमा अवलोकन गरे ।

प्रकाशित : मंसिर ३, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?