१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
एमाले महाधिवेशन

एकतिहाइ पदाधिकारीमा महिलाको दाबी

आरक्षणको व्यवस्था नभएकाले पदाधिकारीमा विवेकसम्मत ढंगले महिलालाई निर्वाचित गराउनुपर्ने माग
बबिता शर्मा

काठमाडौँ — दसौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा केन्द्रीय पदाधिकारीका लागि एक दर्जन महिला आंकाक्षी देखिएका छन् । १५ सदस्यीय पदाधिकारीमा विधानले आरक्षणको व्यवस्था नगरेकाले विवेकसम्मत ढंगले महिलालाई निर्वाचित गराउनुपर्ने माग पनि उठिरहेको छ ।

एकतिहाइ पदाधिकारीमा महिलाको दाबी

मंसिर १०–१२ मा हुने महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव चयन गर्नेछ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको चाहना वरिष्ठ उपाध्यक्षमा छ । त्यसमा सम्भव नभए उपाध्यक्षमा नै दोहोरिन उनले चाहेकी छन् । उपाध्यक्षमा गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेललगायतको दाबी छ । देवकोटा अखिल नेपाल महिला संघकी इन्चार्ज र ज्ञवाली पूर्वमन्त्री हुन । पूर्व प्रदेश प्रमुख पौडेल लामो समयदेखि एमालेको केन्द्रमा रहेर राजनीति गर्दै आएकी छन् । नेतृ विन्दा पाण्डे उपमहासचिवमा आकांक्षी देखिएकी छन् । सचिवमा पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, थममाया थापा, सुशीला नेपाल, टुका हमाललगायत आकांक्षी छन् ।

प्रतिनिधिसभाका सांसद रहेकी पाण्डेले नवौं महाधिवेशनमा खुलातर्फका केन्द्रीय सदस्य निर्वाचित हुने एक मात्रै महिला नेता हुन् । नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी अर्याल निर्वाचत लडेर जिल्ला कमिटी अध्यक्ष हुने पहिलो महिला नेता हुन् । केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अर्याल स्याङ्जा जिल्ला कमिटीकी अध्यक्ष थिइन् । अखिलकी पूर्वउपाध्यक्ष तुम्बाहाङ्फे प्रतिनिधिसभाकी पूर्वउपसभामुख र पूर्वमन्त्री हुन् । विद्यार्थी राजनीतिबाट पार्टीमा आएका शाक्य एमालेका केन्द्रीय सदस्य हुन् । थापा पूर्वमन्त्री हुन् । हमाल अनेरास्ववियु चितवनकी पहिलो सचिव हुन् ।

केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराउन सदस्यमा मात्र ‘कोटा’ तोकिएको छ । पदाधिकारीमा आकांक्षी महिला नेताहरूसँग अनेमसंघले बिहीबार छलफल पनि गरेको थियो । ‘कम्तीमा ५ पदाधिकारीमा महिलाले उमेद्वारी दिनुपर्छ भन्नेमा एक मत छ । तर कुन पदमा को जाने भन्ने छलफल हुन बाँकी छ,’ देवकोटाले भनिन् । केन्द्रीय सदस्य अर्याल विधानले पदाधिकारीमा अनिवार्य नगरे पनि नेतृत्वले विवेक पुर्‍याएर महिलालाई ल्याउनुपर्ने बताउँछिन् । ‘महाधिवेशन नेतृत्व स्थापित गर्ने थलो हो । अहिले भइरहेको जिम्मेवारीमा भन्दा थप जिम्मेवारीको आकांक्षा सबैको हुन्छ,’ उनले भनिन्, ‘धेरै कुराको व्यस्थापन गर्नुपर्ने हुन्छ । नेतृत्वले विवेकसम्मत ढंगले समावेशितालाई हेक्का राख्दै प्रतिनिधित्व गराउँछ भन्ने विश्वास छ ।’

एमाले विधानमा निर्वाचित १५ पदाधिकारीलाई समेटेर केन्द्रीय सचिवालय निर्माण गरिने उल्लेख छ । महत्त्वपूर्ण राजनीतिक र संगठनात्मक विषयमा निर्णय लिने शक्तिशाली निकायका रुपमा सचिवालयलाई लिइएको छ । एमालेले यस्तो संगठनात्मक संरचना पहिलो पटक व्यवस्था गर्न लागेको हो । सो संरचनामा महिलाको प्रतिनिधित्व सुनिश्चित नहुँदा पार्टीका महत्त्वपूर्ण निर्णयहरू समावेशीमूलक नहुन सक्ने महिला नेताहरू बताउँछन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिस्पर्धा वा अरू हिसाबले पदाधिकारीमा महिला आउने विश्वास गरिएको बताए । ‘राज्यका सबै संरचनामा महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाउने एमाले नै हो । आफूले पहल गरेको पार्टीको नाताले कार्यान्वयनको दायित्व पनि हाम्रो हो,’ उनले भने । विधानमा व्यवस्था नहुँदा नहुँदै पनि आठौं महाधिवेशनमा १ जना र नवौं महाधिवेशनमा उपाध्क्षमा २ जना महिला निर्वाचित भएको ज्ञवालीले बताए । ‘पदाधिकारीमा रहेर जिम्मेवारी सम्हाल्न सक्ने महिला पर्याप्त हुनुहुन्छ,’ उनले भने, ‘त्यसकारण उपाध्यक्षमा मात्रै होइन अरू पदमा पनि महिलाको सहभागिता हुन्छ भन्ने विश्वास छ ।’ २०७१ मा भएको एमालेको ९ औं महाधिवेशनबाट १४ पदाधिकारीमा विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य उपाध्यक्षमा निर्वाचित भएका थिए । भण्डारी भने राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीबाट अलग्गिइन् ।

एमालेले विधानमा व्यवस्था नगरेकाले र सर्वसम्मत चयनमा प्राथमिकता दिइरहेकाले पदाधिकारीमा महिला आउन शीर्ष नेतृत्वको विवेक र निगाहमा भर पर्नुपर्ने देखिएको छ । ‘विधानले केन्द्रीय कमिटीमा कति महिला आउँछन् भन्ने सुनिश्चित गरेको छ ।

तर, पदाधिकारीमा महिलाका लागि कोटा छुट्टाइएको छैन, यस्तोमा सर्वसम्मत हुने भए नेतृत्वको निगाह र चुनाव हुने भए प्रतिनिधिको विवेकले तय गर्छ,’ पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने । केन्द्रीय सदस्य अर्याल भने पार्टीको निर्वाचन आयोगले महिलाको सुनिश्चितताका लागि

विधि बनाउने विषयमा छलफल गरिरहेको जानकारी दिइन् । ‘हाम्रो कुरा पदाधिकारीमा पनि ३३ प्रतिशत हुनुपर्छ भन्ने छ । पार्टीको निर्वाचन आयोगले विधि बनाउँदै छ । विधि बनाउँदा सम्बोधन गर्ला,’ उनले भनिन् ।

पार्टी अध्यक्ष ओली, दसबुँदे सहमति पक्षधर र पूर्वमाओवादी समूह आआफ्नै टिमभित्रका नेतालाई पदाधिकारी बनाउने कसरतमा छन् । पदाधिकारीसहित केन्द्रीय नेतृत्व सर्वसम्मत बनाउने ओलीको प्रयास जटिल बन्दै गएको छ । सर्वसम्मत नभए चुनावबाट केन्द्रीय नेतृत्व चयन हुनेछ । प्रतिनिधिमा पनि ३३ प्रतिशत महिला सहभागिता गराउने एमालेको नीति छ । एमालेले धेरैजसो ठाँउमा सर्वसम्मत प्रतिनिधि चयन गरेको छ । ‘सर्वसम्मत प्रतिनिधि चयन गर्दा कतिपय ठाउमा महिला प्रतिनिधित्व तलमाथि भएको छ । त्यसकारण ३३ प्रतिशत पुग्न अलि गाह्रो हुन्छ कि जस्तो छ,’ अर्यालले भनिन् ।

पदाधिकारीमा नसमेटिएका महिलालाई स्थायी कमिटीमा राख्ने विकल्प एमालेमा छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउँछ, जहाँ महिलाको सम्मानजनक उपस्थितिको सम्भावना हुन्छ । तर अध्यक्ष ओलीमाथि महिला सहभागितालाई सुनिश्चित गर्ने विषयमा अनुदार रहेको आरोप लाग्दै आएको छ । तत्कालीन नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा १७ प्रतिशत मात्रै महिला थिए ।

केन्द्रीय सदस्य तुम्बाहाङ्फेले नेतृत्वसँग छलफल गरेर केन्द्रीय पदाधिकारीमा उमेद्वारी दिने बताइन् । ‘को कसरी जाने भनेर हामीले छलफल गर्न बाँकी छ । पदाधिकारीमा पनि एकतिहाइ महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भनिन् ।


प्रकाशित : मंसिर ३, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?